s

कोरिया जाने श्रमिक छनौटको पूर्ण अधिकार रोजगारदातामा निहित हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव शंसाधन विकास सेवा (एचआरडी) कोरिया, इपिएस शाखा र कोरियाबाट फर्केका कामदारबीच त्रिपक्षीय छलफल गराएको छ।

कोरियाबाट फर्केकाको गुनासोलाई सम्बोधन गर्न श्रममन्त्री डोल प्रसाद अर्यालले त्रिपक्षीय छलफल गराएका हुन्। एक पटक कोरिया पुगेर आएका युवामा इपिएस प्रक्रियामाथि नै शंका भएकोले यस्तो छलफल गराएको उनले बताए।

कोरियाबाट फर्केकाहरूले एचआरडी कोरियाले श्रमिक छनौटमा विभेद गरेको, आफ्नो फाइल रोजगारदाता समक्ष नपुराएको, महिला श्रमिकलाई छनौट नगरेको लगायतका गुनासो गरेका थिए। त्यस्तै, नयाँलाई मात्रै प्राथमिकता दिएको गुनासो गरेका थिए। श्रमिकको गुनासो सिधै सम्बन्धित निकाय समक्ष राख्न छलफल गराइएको श्रम सचिव घनश्याम उपाध्यायले बताए।

गुनासोलाई सम्बोधन गर्दै एचआरडी कोरियाको छनौट विभागका निर्देशक साङहयुन क्वाकले कोरिया जाने श्रमिकको छनौटको पूर्ण अधिकार रोजगारदातामा निहित हुने बताए। ‘हामीले अनलाइनमार्फत पारदर्शी रूपमा परीक्षा लिन्छौँ। उत्तीर्ण भएका श्रमिकलाई रोष्टरमा सूचीकृत गर्छौं। तर, श्रमिकको छनौट रोजगारदाताले नै गर्छ,’ उनले भने। एचआरडी कोरियाले नेपाल कोरियाबिच भएको सम्झौताअनुसार श्रमिक छनौट गरी रोष्टरमामात्रै राख्ने काम गर्छ। तर, श्रमिकको फाइल पठाउने वाश्रमिक छनौट गर्ने प्रक्रियामा भने कुनै पनि निकायको संलग्नता नहुने उनले स्पष्ट पारे।

कोरियाली रोजगारदाताले अनलाइनमार्फत श्रमिकको माग गर्छन्। रोजगारदाता र रोष्टरमा रहेका श्रमिकबिच समन्वय गर्ने काम कोरियास्थित जब सेन्टरले गर्छन्। जब सेन्टर कोरियाको श्रम मन्त्रालय अन्तर्गत छन्। रोजगारदाताले तोकेको मापदण्ड अनुसार जब सेन्टरले श्रमिकको सूची पठाउँछ। जब सेन्टरले पठाएको सूचीको आधारमा रोजगारदाताले श्रमिक छनौट गर्ने, तर, जब सेन्टरले पठाएको सूचीमध्ये कतिश्रमिक छनौटमा पर्छ भन्ने सुनिश्चितता नहुने उनले जानकार गराए। रोजगारदातालाई मन परेमा छनौट गर्न पनि सक्छ नगर्न पनि सक्ने उनले बताए।

नेपाली युवामा श्रमिक छनौट गर्ने प्रक्रियाको विषयमा गलत सूचना फैलिएको प्रतिउनले दुःख व्यक्त गरे। ‘कोरियाका रोजगारदाताले श्रमिक छनौट गर्ने प्रक्रिया र नेपाली रोजगारदाताले श्रमिक छनौट गर्ने प्रक्रिया एउटै हो,’ उनले भने, ‘नेपालमा पनि एक कर्मचारी चाहियो भने दर्जनौँले आवेदन दिन्छन्। तर, रोजगारदाताले आफूले चाहेको एक जनामात्रै छनौट गर्छ। त्यसैगरी कोरियाली रोजगारदाताले पनि रोष्टरमा सूचीकृत हजारौँ संख्याका श्रमिकमध्ये केहीलाई मात्रै छनौट गर्छ। त्यसैले गलत सूचनामा नपर्नु होला।’

कोरिया र नेपालबिच इपिएस मार्फत कोरिया रोजगारीको लागि सन् २००७मा सम्झौता भएको हो। सन् २००८ देखि नेपाली श्रमिक कोरिया रोजगारीमा जान थालेका हुन्। पहिलो चरणमा ५५ जना नेपाली श्रमिक इपिएस मार्फत कोरिया पुगेका थिए। कोरियाले सन् २०२३ सम्ममा कृषि, पशुपालन तथा उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएकोमा अहिले सिप विल्डिगं क्षेत्रमापनि लैजान थालेको छ।

सन् २०२३ मा नेपालबाट करिब १९ हजार ६ सय ८९ नेपाली श्रमिक कोरिया पुगेका थिए। नेपालले सबैभन्दा धेरै श्रमिक पठाउन सफल भएको कोरियाले पुरस्कृत पनि गरेको थियो। त्यस्तै, कोरियाली रोजगारदाताले नेपाली श्रमिकलाई अति नै रुचाउँनुका साथै कोरियामा नेपाली इमान्दार र मिजासिला हुन्छन् भन्ने विश्वास छ। त्यसैले कोरिया र नेपालबिचको सुमुधुर सम्बन्धलाई यथावत् राखी श्रमिक जाने वातावरण बनाउन पनि उनको आग्रह छ।

कोरिया सरकारको इपिएस (रोजगार अनुमति प्रणाली) मार्फत विश्वका विभिन्न १६ वटा मुलुकबाट आप्रवासी श्रमिक कोरिया भित्र्याउँदै आएको छ। आप्रवासी श्रमिक छनौटका लागि कोरियाले एचआरडी कोरियालाई जिम्मेवारी दिएको छ। एचआरडीको मुख्यालय कोरियामा छ भने यसले नेपालमा इपिएस सेन्टर भनेर कार्यालय खोलेको छ।

Published on: 26 April 2024 | Nagarik

Link

Back to list

;