s

कोरिया जाने कामदारको हवाईभाडा १३ हजार घट्यो

वार्षिक करिब साढे १० करोड रुपैयाँ जोगिने
 
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जाने नेपाली कामदारका लागि हवाईभाडा निक्कै घटेको छ । वैदेशिक रोजगार विभागले कोरिया जाने कामदारको हवाईभाडामा बोलकबोल गर्दा प्रतिव्यक्ति १ सय १८ दशमलव ७५ डलर अर्थात् १३ हजार ७२ रुपैयाँ कम भएको हो ।
 
सन् २००८ देखि इपिएस प्रणाली लागू भएपछि नेपाली कामदारले हवाईभाडाबापत ५ सय ४१ डलर अर्थात् (करिब ६० हजार रुपैयाँ) ट्राभल्स एजेन्सीलाई बुझाउने गरेका थिए । अब २० साउनदेखि भने सिलिङ ट्राभल प्रालिमार्फत हवाईभाडाबापत ४११ डलर अर्थात् करिब ४५ हजार २ सय रुपैयाँ मात्र बुझाउनुपर्छ ।
 
हाल वार्षिक करिब ८ हजार नेपाली कामदार इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने गरेका छन् । यसरी कोरिया जाने कामदारको वार्षिक १० करोड ४५ लाख रुपैयाँभन्दा बढी बचत हुने देखिन्छ ।
 
यसरी घट्यो हवाईभाडा
 
रोजगार अनुमति प्रणाली लागू भएपछि पहिलोपटक कोरिया जाने कामदारले तिर्ने रकम विद्युतीय बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराइएको थियो । कामदारको हित हुने कार्यक्रम ल्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिअनुसार लागत कम गराउन सफल भएको इपिएस शाखाका प्रमुख कृष्ण खनालले जनाए । ‘यसबाट कोरिया जाने कामदारलाई प्रत्यक्ष रूपमा लाभ पुग्नेछ,’ उनले भने ।
 
कामदारले कोरियामै  आफन्तसँग भेटघाट गर्न पाउने
 
वैदेशिक रोजगारीमा कोरिया गएका नेपाली कामदारले कोरियामै आफ्ना आफन्तसँग भेटघाट गर्न पाउने भएका छन् । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँगको भेटघाटमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पोर्क योङसिकले कामदारका आफन्तलाई कोरियामै भेटघाट गर्न जाने अवसर मिलाइसकिएको जनाएका हुन् । केही कामदारका आफन्त भेटघाटसमेत गरेर आइसकेको उनको भनाइ छ ।
 
साथै राजदूत योङसिकले नेपाली कामदार इमानदार र मिहिनेती भएकोले संख्या थप गर्ने र सेवा क्षेत्रमा समेत कामदार लैजाने बताए । उनले नेपालमा प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरूको पूर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको भेटघाटका क्रममा सहभागी मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए ।
 
भेटका अवसरमा दुई देशबीचको सौहार्द सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो । त्यस क्रममा मन्त्री विष्टले नेपाली युवाका लागि दक्षिण कोरिया आकर्षक रोजगार गन्तव्यका रूपमा रहेको भन्दै कामदारको संख्या थप गर्न राजदूतमार्फत कोरिया सरकारलाई आग्रह गरे ।
 
Published on: 7 August 2018 | Naya Patrika

Back to list

;