s

कोरिया जाने कामदारलाई १५०० डलर सटही सुविधा

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण कोरिया जाने नेपाली कामदारले १ हजार ५ सय अमेरिकी डलरसम्म सटही सुविधा पाउने भएका छन् । कोभिडका कारण क्वारेन्टिनमा बस्नुपर्ने अवस्थामा कोरिया जाने कामदारलाई विद्युतीय कार्डका माध्यमबाट १ हजार ५ सयसम्म सटही सुविधा दिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

हाल रोजगारीमा जाने कामदारका लागि प्रतिव्यक्ति २ सय अमेरिकी डलरसम्म सटही सुविधा दिने व्यवस्था छ । तर, वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारका लागि कोभिड १९ का कारण क्वारेन्टिन खर्चबापत उक्त सुविधा उपलब्ध गराउन राष्ट्र बैंकले भनेको हो । यसका लागि कामदारले क्वारेन्टिन खर्चबापतको व्यहोरा खुल्ने वैदेशिक रोजगार विभागको सिफारिसपत्र पेस गर्नुपर्नेछ । 

भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत प्रतिपटक अमेरिकी डलर १ हजार ५ सय वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिने प्रावधान छ । अलग्गै राहदानी नलिई अभिभावकको साथमा जाने केटाकेटीलाई अधिकतम अमेरिकी डलर ५ सयसम्म सटही पाउन सकिन्छ ।

नेपाल सरकारले जारी गरेको यात्रा अनुमतिपत्रका आधारमा विदेश भ्रमणमा जान राहदानी सुविधा माग भई आए त्यस्ता व्यक्तिलाई अमेरिकी डलर १ हजारसम्मको सटही सुविधा प्रदान गर्नुपर्ने व्यवस्था छ ।

Published on: 10 December 2021 | Kantipur

Link

Back to list

;