s

कोरिया जान स्वास्थ्य परीक्षणको भीड

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको आँगनमा शुक्रबार दिउँसो विद्यार्थीको बाक्लो भीड देखिन्थ्यो । भीड थियो यस वर्ष कोरियन भाषा परीक्षा पास भएका विद्यार्थीको । उनीहरू स्वास्थ्य परीक्षणका लागि अस्पताल परिसरमा छरिएर बसेका थिए । वैदेशिक रोजगार विभागअन्तर्गतको ‘ईपीएस’ कोरिया शाखाले उपत्यकाभरिबाट ४ सरकारी अस्पतालमा ती विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने सम्झौता गरेअनुसार शुक्रराज ट्रपिकल अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र नेपाल कोरियामैत्री अस्पतालमा विद्यार्थीको भीड उर्लिएको हो ।
 
यस वर्ष ११ हजार विद्यार्थीले कोरियन भाषा परीक्षा पास गरेका छन् । तोकिएका ४ अस्पतालले ९ दिनभित्र ती सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरिसक्नुपर्ने जिम्मेवारी रहेको शुक्रराजका प्रशासन प्रमुख प्रकाश शर्माले बताए । 
 
अस्पतालले दैनिक चार सय विद्यार्थीको स्वास्थ्य परीक्षण गरिरहेको शर्माले बताए । ‘यो पहिलो चरणको मात्रै स्वास्थ्य परीक्षण हो, यसमा विद्यार्थीको रगत, पिसाब र छातीको एक्सरे गरिन्छ,’ शर्माले भने, ‘कोरियाबाट भिसा खसेपछि उनीहरूले दोस्रो चरणको पनि स्वास्थ्य परीक्षण गराउनुपर्छ, त्यो क्षयरोगको परीक्षण हो ।’ क्षयरोगको परीक्षणका लागि भने सेवाग्राहीले थप एक हजार शुल्क तिर्नुपर्ने हुन्छ ।
 
शुक्रराजले मात्रै ३ हजार १ सय विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने सम्झौता गरेको प्रमुख शर्माले बताए । तीन प्रकारको स्वास्थ्य जाँच सेवा लिएबापत विद्यार्थीले ५ हजार एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । ‘डलरको भाउ घटबढ भएमा शुल्क परिवर्तन हुन्छ,’ शर्माले भने । 
 
बिदेसिने विद्यार्थी तथा कामदारको स्वास्थ्य परीक्षणमा सरकारी अस्पतालसँग सम्झौता हुँदा अस्पताल र विभाग दुवैलाई फाइदा हुने अस्पतालहरूले जनाएका छन् । ‘सरकारी अस्पतालको सेवा सस्तो र गुणस्तरीय मानिन्छ, स्वास्थ्य रिपोर्टमा लापरबाही भएको प्रमाणित भएमा हामीले सेवाग्राहीलाई क्षतिपूर्ती तिर्नुपर्ने नियम छ’, ट्रपिकल अस्पतालमा स्वास्थ्य परीक्षण गर्न बसेकी नर्स लक्ष्मी श्रेष्ठले भनिन् ।
 
Published on: 31 October 2017 | Kantipur

Back to list

;