s

कोरिया जान सीप परीक्षा उत्तीर्ण अनिवार्य

दक्षिण कोरियाले सन् २०२० देखि भाषा परीक्षाका साथै सीप परीक्षामा पनि उत्तीर्ण हुनेलाई मात्र लैजाने भएको छ ।  वैदेशिक रोजगार विभागअन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका अनुसार सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १० हजार ५० नेपाली युवालाई रोजगारका लागि लैजाने भएको छ । औद्योगिक तथा उत्पादनतर्फ सात हजार ५० र कृषितर्फ तीन हजार युवालाई रोजगार दिने भएको हो । तर, तिनको अनिवार्य सीप परीक्षण हुने भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले २०२० मा भाषा परीक्षा उत्तीर्ण गरेकाको अनिवार्य रूपमा ‘स्किल टेस्ट’ लिने भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अघिल्ला दुई वर्ष यस्तो खालको व्यवस्था थिएन, त्यसअघिका वर्षमा गर्ने गरिन्थ्यो तर अनिवार्य थिएन, अब त स्किल टेस्टमा फेल हुनेहरू कोरिया जान पाउँदैनन् । ’ ईपीएस शाखाका अनुसार चैत ८ देखि १७ गतेभित्र भाषा परीक्षामा सहभागी हुनेले अनलाइन आवेदन दिइसक्ने गरी आवेदन खुलाइने जानकारी गराउनुभयो । उहाँका अनुसार अनलाइन आवेदन दिनेले २०७५ जेठको २५ र २६ गते कोरियाली भाषाको परीक्षा सञ्चालन गरिनेछ ।

सन् २०१९ मा अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका सात हजार नेपाली रोजगारका लागि कोरिया जाने क्रममा रहेको सो शाखाले जनाएको छ । उहाँले गत वर्षभन्दा यस वर्षका लागि तीन हजार ५० जना बढी नेपाली युवाको माग आउनुलाई शाखाले एकदमै सकारात्मक रूपमा लिएको बताउनुभयो । सन् २०१९ का लागि सात हजार नेपाली श्रमिकको सिलिङ दिएको कोरियाको एचआरडीले सात हजार ९९६ जना परीक्षार्थीलाई भाषा परीक्षामा पास गराएको थियो । यो वर्ष पनि कोटाभन्दा बढी परीक्षा पास हुनेमा सरकार आशावादी छ । २०१९ को भाषा परीक्षाको फारम चैत ८ गतेदेखि १७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यसको विस्तृत तालिम शाखाले मङ्गलबार सार्वजनिक गर्दैछ ।

Published on: 12 March 2019 । Gorkhapatra

Back to list

;