s

कोरिया जान ९२ हजारभन्दा बढीको आवेदन

१० हजारले पाउँदै छन् कोरिया जाने अवसर, नौ गुणाभन्दा बढीले आवेदन दिएका छन्

गोपाल साउद

इपिएस प्रणालीमार्फत वैदेशिक रोजगारीमा दक्षिण कोरिया जान ९२ हजारभन्दा बढीको आवेदन परेको छ । ७ चैत राति १२ बजेदेखि खुला गरिएको इपिएस भाषा परीक्षाको फाराम भर्नेको संख्या आइतबार साँझ ८ बजेसम्म ९२ हजार २ सय ४ पुगेको हो । आवेदन भर्नेमध्ये ६३ हजार ३ सय ७० जनाले उत्पादनमूलक क्षेत्रमा र २८ हजार ८ सय ३४ जनाले कृषि तथा पशुपालन क्षेत्रमा जान चाहेका छन् । आइतबार राति १२ बजेसम्म फाराम भर्ने अन्तिम समय भएकाले यस वर्ष इपिएस भाषा परीक्षाका लागि ९४ हजारसम्म आवेदन पर्न सक्ने अनुमान गरिएको छ । भाषा परीक्षामा सहभागी हुनेहरूमध्येबाट उत्पादनमूलक क्षेत्रतर्फ ७ हजार ५० र कृषि तथा पशुपालनतर्फ ३ हजार गरी अनुमानित १० हजार ५० जना छनोटमा पर्नेछन् । यद्यपि, कामदारको मागअनुसार उत्तीर्ण हुनेको संख्या घटबढ हुन सक्ने इपिएस शाखाका निर्देशक कृष्ण खनालले जनाए ।

कति नेपाली कामदार छन् कोरियामा ?

कोरियाले इपिएस प्रणालीमार्फत नेपालसहित १६ देशबाट विदेशी कामदार लैजाँदै आएको छ ।  हालसम्म इपिएस प्रणालीमार्फत नेपालबाट करिब ६० हजार नेपाली कामदार वैदेशिक रोजगारीका लागि कोरिया गएका छन् ।

४ वर्ष १० महिनाका लागि कोरियामा काम गर्ने अनुमति दिइने भए पनि फर्किएकाहरूको तथ्यांक व्यवस्थित नहुँदा हाल त्यहाँ कार्यरत नेपालीको संख्या भने यकिन गर्न सकिने अवस्था छैन । द्विपक्षीय सम्झौताका आधारमा सरकारले नै नेपाली कामदार कोरिया पठाउँदै आएको छ ।

अनलाइन भुक्तानी सुविधा भए पनि रातभर बैंकमा लाइन

यस वर्षदेखि इसेवा, आइएमई पे र ग्लोबल आइएमई बैंकको अनलाइन बैंकिङबाट परीक्षा शुल्क र फाराम भर्न सकिने व्यवस्था गरिएको भए पनि युवाहरू पहिलो दिन रातभर ग्लोबल आइएमई बैंकका शाखा कार्यालयमा लाइन बसेका थिए । तर, त्यसपछिका दिनमा भने बैंकका शाखाहरूमा इपिएस भाषा परीक्षाको शुल्क बुझाउनेको लाइन देखिएन । भाषा परीक्षाको फाराम भर्ने अन्तिम समय आइतबार राति १२ बजेसम्मका लागि तोकिएको थियो । देशभित्र आकर्षक रोजगारी नहुँदा वार्षिक ६ लाखसम्मको संख्यामा युवाहरू रोजगारीका लागि विभिन्न देशमा जाने गरेका छन् ।

२५ र २६ जेठमा परीक्षा, १३ असारमा नतिजा

काठमाडौं र पोखरा केन्द्रबाट सञ्चालन हुने इपिएस भाषा परीक्षा आगामी जेठ २५ र २६ गते हुनेछ । पोखराबाट २० हजारले मात्रै भाषा परीक्षा दिन पाउनेछन् भने बाँकीले राजधानीबाट परीक्षामा सहभागी हुनुपर्नेछ । परीक्षाको नतिजा इपिएस कोरियाको अनलाइनमा १३ असारमा प्रकाशित हुनेछ । भाषा परीक्षाको नजितापछि सीप परीक्षण हुनेछ । चैतभित्रै परीक्षाकेन्द्रको टुंगो लाग्ने इपिएस शाखाले जनाएको छ ।

यस वर्षदेखि सीप परीक्षणलाई अनिवार्य गरिएको छ । भाषा परीक्षामा पास भएकाहरूले लगत्तै सीप परीक्षणमा सहभागस् हुनुपर्ने इपिएए शाखाले जनाएको छ ।

कस्तो हुनेछ भाषा परीक्षा ?

भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रको पूर्णांक १ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ ९० अंकको हुनेछ । जसमा सुनाइ र पढाइमा २०–२० गरी कुल ४० प्रश्न समावेश हुनेछन् । उत्पादनमूलक क्षेत्रतर्फ ४७ दशमलव ५ र कृषि तथा पशुपालनतर्फ ३६ अंक ल्याउनेहरूमध्ये उच्च अंक प्राप्त गर्नेहरूबाट उत्तीर्णको छनोट हुनेछ । भाषा परीक्षामा पास हुँदैमा कोरिया जान पाउने ग्यारेन्टी नहुने इपिएस शाखाले स्पष्ट पारेको छ । त्यसका लागि सीप परीक्षा अनिवार्य रूपमा पास हुनुका साथै रोजगारदाताको छनोटमा समेत पर्नुपर्ने हुन्छ । यद्यपि, भाषा परीक्षा पास गरेको दुई वर्षसम्म जाने सम्भावना भने रहन्छ । भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सीप परीक्षण र कम्पिटेन्सी टेस्टमा समेत उत्तीर्ण भएपछि मात्र रोजगार आवेदन फाराम भर्न सक्नेछन् । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका परीक्षार्थीले इपिएस भाषा परीक्षामा सहभागिता जनाउन सक्ने व्यवस्था छ ।

Published on: 1 April 2019 | Nayapatrika

Back to list

;