s

कोरिया जान ८२ हजारको आवेदनः पहिलो दिनमा ३० हजारले भरे, अन्तिममा १६ सय मात्रै

रविन्द्र घिमिरे

यसवर्ष कोरियन भाषा परीक्षाका लागि ८२ हजार भन्दा बढीले आवेदन दिएका छन् । सन् २०१९का लागि कोरिया जान भाषा परीक्षा दिन ८२ हजार २ सय ६४ जनाको आवेदन परेको छ ।

यो वर्ष गतवर्षभन्दा झण्डै ७ हजार बढी युवाले कोरिया जानका लागि आवेदन भरेका हुन । गतवर्ष ७५ हजार ५ सय ८० युवाले कोरिया जान फारम भरेका थिए । गत चैत ९ गतेदेखि अनलाइनमार्फत आवेदन माग गरिएको थियो ।

यो वर्ष कृषितर्फ ३९ हजार ६ सय ४० जनाले आवेदन दिएको शाखाका प्रवक्ता शोभाकर भण्डारीले अनलाइनखबरलाई जानकारी दिए । ईपीएस कोरिया शाखाकाअनुसार यसवर्ष कृषिमा ३० हजार १७९ पुरुष र ९ हजार ४६१ महिलाले परीक्षाका लागि आवेदन पेर गरेका छन् ।
 
उत्पादनमुलकतर्फ ४२ हजार ६२४ जनाले दरखास्त दिएका छन् । त्यसमध्ये ३९ हजार २०८ जना पुरुष र ३ हजार ४१६ जना महिला छन् ।अब भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । पोखरा केन्द्रबाट १२ हजार जनाले परीक्षा दिन पाउनेछन् । अन्य ७० हजारले काठमाडौंमा परीक्षा दिनुपर्नेछ ।
 
यसपटक कुल ७ हजार एक सय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
 
पहिलो दिन ३० हजार, अन्तिममा १६ सय 
 
प्रवक्ता भण्डारीले आवेदनकर्ताले अनलाइन फारमको मर्मत नबुझ्दा पहिलो दिनमा बैंक काउन्टरहरुमा भीड लागेको बताए । उनकाअनुसार पहिलो दिनमा ३० हजारले आवेदन भरेका थिए भने दोस्रो दिन १६ हजार आवेदन परेको थियो ।
 
तेस्रो दिन ५ हजार, चौंथो दिन ४ हजार, पाँचौं दिन ७ हजार, छैठौं दिन ४ हजार, सातौं, आठौं र नवौं दिन ३/३ हजार र अन्तिम दिन १६ सय युवाको आवेदन परेको थियो ।
 
फर्म भर्न १५० वटा काउन्टरहरुबाट पैसा तिर्ने व्यवस्था मिलाइएको बताउँदै भण्डारीले परीक्षार्थीले पहिलो दिनमै लाइनमा बस्दा पछिल्ला दिनमा थोरै आवेदन परेको बताए ।
 
‘पहिला फारम भर्नेको लेबर कन्ट्रयाक्ट पनि पहिले नै आउने भएकाले युवाहरुले पहिला दिनहरुमै बैंकमा लाइनमा बस्न आए,’ भण्डारी भन्छन्,’अब अर्को वर्षबाट त्यो व्यवस्था हटाउन पहल गर्छौं ।’
 
उनले अबका वर्षहरुमा अन्य बैंकहरुसँग पनि सहकार्य हुन सक्ने बताए ।
 
Published on: 2 April 2018 | Onlinekhabar

Back to list

;