s

कोरिया जानेलाई ५ वर्षे बिमा

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने कामदारले अब ५ वर्षे वैदेशिक रोजगार बिमा गर्नुपर्ने भएको छ । ईपीएसअनुसार कोरियामा ४ वर्ष १० महिना काम गर्न पाउने भएकाले वैदेशिक रोजगार विभागले ५ वर्षे बिमा नियम बनाएको हो । २००८ देखि ईपीएसअनुसार कोरिया जाने कामदारले हालसम्म ३ वर्षे बिमा गर्दै आएका थिए । विभागका अनुसार नेपाल- कोरियाको श्रम सम्झौताअनुसार सुरुमा ३ वर्षको करार सम्झौता हुने र थप १ वर्ष १० महिना काम गर्न पाउने भएकाले ५ वर्षे बिमा लागू गरेको हो ।

नेपालस्थित ईपीएस कोरिया शाखाले नयाँ बिमा योजना मंगलबारबाट लागू भइसकेको जनाउँदै  यी कामदारको पहिलो लट कात्तिक २७ गते कोरिया जाने बताएको छ । 'हामीले बिमा कम्पनीहरूलाई कोरिया जाने कामदारको बिमा ५ वर्ष गरिदिन पत्रसमेत पठाइसकेको छौं,' कोरिया शाखाका अधिकृत ज्ञाननाथ ढकालले कान्तिपुरलाई भने, 'कामदारको करार अवधि ४ वर्ष १० महिना हुने भएकाले ५ वर्षे बिमा गरी एकै पटक ५ वर्षेकै श्रम स्टिकर लगाइदिन्छौं ।'

ईपीएस कोरियाको बिमाका लागि विभागले जीवन बिमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्सुरेन्स कम्पनी र प्राइम लाइफ इन्सुरेन्स कम्पनीलाई सूचीकृत गरेको छ । कोरिया जाने कामदारले यी २ मध्ये कुनै १ बाट बिमा गर्नुपर्ने छ भने अन्य देशमा जाने कामदारले वैदेशिक रोजगार बिमा गर्ने जुनसुकै कम्पनीबाट गर्न सक्छन् ।

वैदेशिक रोजगार ऐनले अनिवार्य गरेको ५ लाख रुपैयाँको जीवन बिमाले कामदारको दुर्घटना, अंगभंग, मृत्युलाई समेटेको छ । अन्य देशमा जाने कामदारले सामान्यतः २ वर्षको बिमा गर्दै करार अवधि सकिएपछि करार थप गर्न बिमा पनि नवीकरण गर्छन् । बिमाको अवधि २ वर्ष थप गर्नुपर्ने बाहेक अन्य प्रक्रिया यथावत् रहेको कोरिया शाखाले जनाएको छ । अन्य प्रक्रियामा कल्याणकारी कोषका लागि १ हजार रुपैयाँ, ईपीएस सञ्चालन कोषमा ४६.२० डलर, व्यावसायिक सीप विकास केन्द्र भैंसेपाटीले दिने पूर्व प्रस्थान अभिमुखीकरण तालिमका लागि ६३ डलर र टिकट किन्नुपर्ने हुन्छ । ईपीएस टपिक परीक्षा उत्तीर्ण भएपछि रोस्टर बन्नुअघि स्वास्थ्य परीक्षण अनिवार्य छ । सबै प्रक्रियाका लागि कोरिया जाने कामदारको ६५ हजार देखि ७० हजार रुपैयाँ खर्च हुने गरेको छ । ईपीएस सुरु भएको ४ वर्षको अवधिमा कोरियामा १५ हजारभन्दा बढी कामदार गइसकेका छन् । अब कोरिया जाने कामदारको रोस्टरमा करिब १० हजार कामदार छन् । यिनीहरूको प्रवेश समयअवधि २०१३ को डिसेम्बरसम्म छ ।

Published on: 1 November 2012 | Kantipur

Back to list

;