s

कोरिया जान पाउनुपर्ने भन्दै अनशनमा

लामो समय भइसक्दा पनि कोरिया जान नपाएको भन्दै महिलाहरू रिले अनशनमा बसेका छन् । सरकारले कोरिया पठाउन पहल नगरेको आरोप लगाउँदै उनीहरूले सन् २०१० मा रोस्टरमा परेका महिला अनशनमा उत्रिएका हुन् ।

'सन् २०१० मा पास भएका महिला हुँदाहुँदै कोरियाले सन् २०११ मा पास गरेका महिला लगिरहेको छ,' अनशनमा उत्रिएकी तोया गिरीले भनिन्, 'सरकारले हामीलाई पठाउन कुनै पनि पहल गरेन त्यसैले हामी अनशनमा उत्रिएका हौं ।' उनका अनुसार सन् २०१० मा कोरिया जाने रोस्टरको सूचीमा परेका ३ सय ५० महिला अझै जान बाँकी छन् । 'सरकारले कूटनीतिक पहल गर्न नसक्दा हामी रोकिएका हौं,' उनले भनिन्, 'त्यसैले हामी आन्दोलनमा उत्रिएका हौं ।'

इपीएस नेपाल शाखाका ज्ञाननाथ ढकालले रोस्टरमा नाम भए पनि त्यो व्यक्ति कोरिया जान योग्य भएको तर जाने निश्चित नहुने बताए । 'उहाँहरू खासै छलफल नगरी अनशनमा उत्रिनु भएको छ,' उनले भने, 'उहाँहरूको रोस्टरमा रहने अवधि अझै केही महिना बाँकी छ । त्यस अवधिमा उहाँहरू जाने सम्भावना पनि छ ।' यसबारे सोमबार कोरियाको मानव संसाधन कार्यालयसँग छलफल गर्ने उनले बताए । 'अहिले २०१० कालाई मात्र लैजा भन्ने आधार छैन,' उनले भने, 'सोमबार कोरियाली पक्षसँग केही विकल्प भए छलफल गर्छौं ।' जनबरी, फेब्रुअरी र मार्च महिनामा धेरै कामदारको श्रम सम्झौता आउने भएकाले उनीहरूले यस अवधिलाई पनि पर्खनुपर्ने उनको भनाइ थियो ।

Published on: 10 December 2012 | Kantipur

Back to list

;