s

कोरिया जान आवेदन गर्ने घटे

कान्तिपुर संवाददाता

निरन्तर रूपमा बढ्दै आएको वैदेशिक रोजगारीका लागि कोरिया जान भाषा परीक्षा आवेदन दिनेको संख्या यसपालि भने करिब १७ प्रतिशतले घटेको छ । सन् २०११ मा भएको भाषा परीक्षामा भाग लिन करिब ५७ हजार ५ सय नेपाली युवाले आवेदन दिएका थिए । यसपालि भने यो संख्या करिब १७ प्रतिशतले घटेर करिब ४७ हजार ९ सयमा झरेको छ । 'परीक्षामा भाग लिन आवेदन दिनेको संख्या करिब १० हजारले घट्यो,' ईपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले भने ।

सन् २००८ मा पहिलो पटक भएको भाषा परीक्षामा भाग लिन करिब ३१ हजार युवाले आवेदन दिएका थिए । सन् २०१० मा यो संख्या ३५ प्रतिशतले बढेर करिब ४२ हजार पुगेको थियो । त्यस्तै सन् २०११ मा भएको तेस्रो भाषा परीक्षा दिनेको संख्या झन्डै ३६ प्रतिशतले बढी करिब ५७ हजार पुगेको थियो । यसपालि भने उक्त संख्या ७० हजारसम्म पुग्ने अनुमान थियो । आवेदकको सुविधाका लागि यसपालि धरानमा समेत एउटा फारम संकलन केन्द्र समेत थपेर ५ वटा पारिएको थियो ।

बाँस्तोलाले कोरियाले महिला कामदारलाई न्यून प्राथमिकता दिएको र 'रोस्टर' मा रहेका -भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने पालो पर्खिरहेका) हरूको संख्या धेरै रहेकाले आवेदकको संख्या नबढेको हुन सक्ने बताए । 'हामीले सूचना निकालेरै कोरियामा महिला कामदारलाई न्यून प्राथमिकता दिइने गरेको र भाषा परीक्षा दिनु भनेको कोरिया जाने सुनिश्चिता नभएको बतायौं,' उनले भने, 'रोस्टरमा रहेकाले पनि कोरिया जान नपाएको भन्दै विरोध गरे । त्यही भएकाले आवेदकको संख्या घटेको हुन सक्छ ।'

सन् २०११ मा भाषा परीक्षा उत्तीर्ण गरेका करिब ५ हजार ३ सय जना कोरिया जाने पालो पर्खेर बसेका छन् । आफ्नो पालो नआएपछि उनीहरूले विरोधका विभिन्न कार्यक्रमसमेत गरेका थिए । ईपीएस उत्तीर्ण गरेर वैदेशिक रोजगारीका लागि कोरिया जाने महिलाको संख्या करिब ५ प्रतिशत मात्र छ । निर्देशक बाँस्तोलाका अनुसार कोरियाली कम्पनीले प्राथमिकता नदिने भएपछि भाषा परीक्षामा सामेल हुन महिला निरुत्साहित भएका हुन सक्छन् ।

सन् २०१३ का लागि कोरियाले ईपीएस प्रणाली लागू गरिएका १५ देशबाट ६२ हजार कामदार भित्र्याउँदै छ । पहिलो चरणमा कोरियाले १७ हजार ६ सय ५० जनाको भाषा परीक्षा लिइसकेको छ । दोस्रो चरणको भाषा परीक्षाका लागि ईपीएस शाखाले भाषा परीक्षामा सबैभन्दा बढी अंक ल्याउने ८ हजार २ सय जनालाई उत्तीर्ण गराउने जनाएको छ ।

Published on: 26 August 2013 | Kantipur

Back to list

;