s

कोरिया जान ३ हजार २ सयको श्रम सम्झौता

Yogesh Khatiwada

सन् २०११ मा रोजगारीका लागि कोरिया जान पर्खाइमा रहेका ३ हजार २ सयको श्रम सम्झौता भएको छ । तीमध्ये २ हजार जना गइसकेका छन् । प्रतीक्षा सूचीमा रहेका ४ हजार ४ सय जनामध्ये १ हजार २ सयको मात्र श्रम सम्झौता आउन बाँकी छ । कोरियामा बढेको नेपाली कामदारको मागका कारण चार महिनाको अवधिमा कोरिया जानेको संख्यामा वृद्धि भएको हो ।

सन् २०१० मा परीक्षा पास भई कोरिया जाने प्रतीक्षा सूची -रोस्टर) मा रहेका ४ हजार ९६ र सन् २००८ को रोस्टरमा रहेका ३ सयमध्ये २ हजारभन्दा बढी कोरिया गएका छन् । ३ हजार २ सयको कामका लागि कोरियाली रोजगारदाता कम्पनीसँग सम्झौता भइसकेको छ ।

'३ हजार २ सय २० जनाको कोरियाको रोजगारदाता कम्पनीसँग श्रम सम्झौता भइसकेको छ,' रोजगार अनुमति प्रणाली -इपिएस) नेपाल शाखा प्रमुख महेश आचार्यले भने, 'सूचीका मध्ये १ हजार २ सयको मात्र सम्झौतापत्र आउन बाँकी छ ।' श्रम सम्झौता भएकाहरू तीन महिनाभित्र जाने गर्छन् ।  जनवरीदेखि दोस्रोपटक तयार सूचीबाट कामदार लैजान सुरु भएपछि २ हजार नेपाली काम गर्न कोरिया गइसकेका छन् । सन् २००८ मा तयार गरेको रोस्टरका व्यक्तिहरूको तुलनामा अहिले जानेको संख्या उच्च हो । आचार्यका अनुसार पहिलो सूची -सन् २००८) का कामदारलाई २०६५ भदौदेखि लैजान सुरु गरिएको थियो । सूचीमा रहेका ६ हजार ५ सय ८६ कामदारमध्ये ६ हजार कामदार अढाई वर्ष लगाएर कोरिया गएका थिए । 'दोस्रो सूचीबाट कामदार पठाउन सुरु भएपछि भने छोटो समयमा धेरै कामदार गएका छन्,' उनले भने । यही दरमा आगामी महिनामा पनि कामदार कोरिया गए दोस्रो सूचीका सबै सन् २०११ भित्रै कोरिया पुगिसक्ने छन् ।

पहिलो सूचीका कामदार पठाउँदा विश्वव्यापी आर्थिक मन्दीबाट कोरियाली अर्थतन्त्रसमेत प्रभावित भएको थियो । जसले नेपालीको मागमा समेत गिरावट आएको थियो । 'अहिले कोरियाको अर्थतन्त्रमा सुधार भएको छ,' उनले भने, 'यसले माग बढाएको हो ।' रोजगारदाता कम्पनीले नेपाली कामदारलाई मनपराउनु र नेपालबाट कामदार लैजान विशेष कूटनीतिक पहल हुनुजस्ता कारणले पनि माग बढेको उनले बताए । 

कोरियाले तेस्रो चरणमा कामदार लैजान छनोट प्रक्रिया हालै सुरु गरेको छ । उसले ७ हजार १ सय कामदार लैजाने गरी वैशाखमा भाषा परीक्षाको आवेदन खुला गरेको थियो । ५७ हजार ६ सय ५१ जनाले भाषा परीक्षाको आवेदन दिएका थिए । आवेदन दिएकाको परीक्षा लिएर उसले सन् २०११ अन्ततिर कोरिया जान सक्ने कामदारको नयाँ सूची प्रकाशित गर्नेछ ।

सरकारी कोटाअन्तर्गत कम खर्च गरेर आकर्षक कमाइका लागि जान सकिने भएकाले धेरै नेपालीका लागि कोरिया आकर्षक गन्तव्य बनेको छ । रोस्टरमा परेपछि झन्डै १ लाख रुपैयाँ मात्र खर्च गरेर मासिक ७० हजार रुपैयाँको हाराहारीमा आम्दानी गर्ने गरी कोरिया जान सकिन्छ।

Published on: 18 May 2011 | Kantipur

Back to list

;