s

कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइन

सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए।
 
अचेल कोरियन भाषा परीक्षा कागजमा लिने चलन छ। ‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन। हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौं। त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ,’ भण्डारीले भने। उनले हाल आवेदन प्रक्रियालाई अनलाइन प्रणालीमा परिणत गरिएको छ। अर्को वर्ष सन् २०२० देखि अनलाइनबाटै इपिएस परीक्षा दिने व्यवस्था हुने उनले बताए। नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारी अनुसार २००८ देखि इपिएस प्रणालीमार्फत रोजगारीका लागि नेपाली श्रमिक दक्षिण कोरिया जान थालेका हुन्। उक्त प्रणालीबाट मंसिर मसान्तसम्म ५४ हजार चार सय नेपाली श्रमिक कोरिया गएका छन्। त्यसमा महिलाको संख्या तीन हजार चार सय ६९ छ।  हाल दक्षिण कोरियामा करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ। इपिएसमार्फत कोरिया जानेको संख्या प्रत्येक वर्ष बढिरहेको छ।
 
कोरियामा नेपाली श्रमिकको तलब न्यूनतम मासिक एक लाख ५० हजार रुपैयाँ तोकिएको छ। कतिपयले त मासिक तीन–चार लाख रुपैयाँसमेत कमाउने गरेको बताइन्छ। दक्षिण कोरियाले इपिएस प्रणालीमार्फत नेपालसहित १४ राष्ट्रबाट प्रत्येक वर्ष ५० हजार हाराहारी श्रमिक लैजान्छ।  सन् २०१९ का लागि लिइएको भाषा परीक्षामा सात हजार नौ सय ९६ नेपाली उत्तीर्ण भएका छन्। सो परीक्षामा ८२ हजार दुई सय ६४ जना सहभागी भएका थिए। सन् २००८ यता कोरिया जानका लागि भाषा परीक्षा दिनेको संख्या चार लाख ८३ हजारभन्दा बढी रहेको शाखाले जनाएको छ।
 
महिलाको संख्या बढेन
 
रोजगारीका लागि कोरिया जानेको संख्या निरन्तर बढिरहँदा महिलाको संख्या भने बढ्न सकेको छैन। सन् २०१८ मा तीन सय ८६ महिला कोरिया गएका थिए। अघिल्लो वर्ष सन् १०१७ मा तीन सय ७६ महिलाले रोजगारीका लागि कोरियाको बाटो तताए। सन् २०१६ मा कोरिया जाने महिलाको संख्या पाँच सय ७८ थियो। शाखाका कर्मचारीहरू कोरियाको पहिलो काम नै जटिल हुने र दोस्रो महिलाहरू भाषा परीक्षामै कम उत्तीर्ण हुने गरेको बताउँछन्।
 
पारिश्रमिक र सुरक्षाको दृष्टिकोणले कोरियाको रोजगारी आकर्षक मानिन्छ। त्यति हुँदा पनि कोरियामा आत्महत्या गर्ने क्रम पनि डरलाग्दो तरिकाले बढिरहेको शाखाले जनाएको छ। ‘नेपालमा रहँदासम्म जटिल खाले काम नगर्नेहरू कोरियामा बढी समस्यामा परेको देखिन्छ,’ शाखाका प्रवक्ता भण्डारीले भने, ‘त्यसैले अब कोरिया जानुअघि दिइने अभिमुखीकरणको पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बेला आएको छ।’ इपिएस सुरु भएयता कोरियामा ९४ जनाको मृत्यु भएको छ। जसमा आत्महत्या गर्नेको संख्या २० छ।
 
Published On: 14 January 2019 | Nagarik

Back to list

;