s

कोरिया भाषा परीक्षाका आवेदक घटे

काठमाडौँ, चैत २२ गते । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कोरिया भाषा परीक्षाका लागि ४२ हजार ८११ जनाको आवेदन परेको छ । आवेदन दिनेमध्ये उत्पादनतर्फ ३२ हजार ५२० रहेको छ भने कृषितर्फ १० हजार २९१ रहेको छ ।यो सङ्ख्या सोमबार साँझ ५ बजेसम्मको हो । आवेदन राति १२ बजेसम्म दिन पाइने भएकाले आवेदकको सङ्ख्या केही बढ्न सक्ने ईपीएस शाखाले जनाएको छ । ईपीएसमार्फत दक्षिण कोरिया जानका लागि भाषा परीक्षाका लागि आवेदन दिने आवेदक सन् २०२० को तुलनामा सन् २०२२ मा आधाले घटेको छ । 

ईपीएस शाखाका अनुसार सन् २०२० मा नौ हजार १३४ जनाका लागि भाषा परीक्षामा ९२ हजार बढीको आवेदन परेको थियो । सन् २०२२ मा नौ हजार ६५४ का लागि करिब ४३ हजारको मात्रै आवेदन परेको हो ।दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको छ । कोरोनाका कारण बीचबीचमा कोरिया जाने क्रम रोकिएकाले कोरियाको रोजगारीप्रति युवाको आकर्षण घटेको हुन सक्ने ईपीएस शाखाको अनुमान छ । 

शाखाका निर्देशक पुष्पराज कटुवालले साढे नौ हजारका लागि करिब ४३ हजार आवेदन पर्नुु सानो सङ्ख्या नभए पनि विगतका वर्षको तुलनामा भने कम भएको बताउनुभयो । निर्देशक कटुवालले भन्नुुभयो, “तीन कारणले आवेदक घटेको हुनसक्छ । पहिलो कोरोना महामारीका कारण लामो समयदेखि कोरिया जान रोकिएकाले आकर्षण कम भएको हुनसक्छ । दोस्रो यस पटक छोटो समय भएकाले कतिपयले राहदानी बनाउन नभ्याएका हु सक्छन् । तेस्रो पहिलेभन्दा परीक्षा प्रणाली जटिल भएकाले तयारी नपुगेकाले आवेदकको सङ्ख्या घटेको हुनसक्छ । ” 

सन् २०२२ का लागि कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार ७४१ र उत्पादनमूलक क्षेत्रमा छ हजार ९१३ नेपाली लैजाने गरी नौ हजार ६५४ जनाका लागि आवेदन माग गरेको थियो ।कोरियाका रोजगारदाताले नेपाली श्रमिक रुचाएपछि नेपालबाट ठूलो सङ्ख्यामा युवा लैजाने गरी भाषा परीक्षाको तयारी गरिएको हो । शाखाले कोरिया र नेपाल सरकारबीच भएको श्रम समझदारी पत्र (एमओयू)अनुसार कोरियामा नेपाली युवालाई श्रमिकका रूपमा पठाउन पहिलो चरणको छनोटका लागि भाषा परीक्षा गर्न लागिएको जनाइएको छ । हाल कोरिया जाने योग्यसूची (रोस्टर)मा धेरै नेपाली नभएका कारण भाषा परीक्षा गर्न लागिएको हो । 

वैशाखमा परीक्षा

यही चैत १४ देखि २१ गतेसम्म ईपीएसमार्फत कोरिया जानका लागि आवेदन दिएकाहरूले पहिलो र दोस्रो चरणका भाषा र सीप परीक्षा वैशाख २६ गतेदेखि असोज २१ गतेसम्म सञ्चालन गरिने सो शाखाले जनाएको छ ।आवेदन दिएकामध्ये कृषि तथा पशुपालनतर्फको पहिलो चरणको भाषा परीक्षा आउँदो वैशाख २६ देखि जेठ १३ गतेसम्म सञ्चालन गरिनेछ भने दोस्रो चरणको सीप परीक्षा आउँदो जेठ २४ देखि असार १६ गतेसम्म सञ्चालन गरिनेछ । यस्तै उत्पादनमूलक क्षेत्रतर्फको पहिलो चरणको भाषा परीक्षा असार २० देखि भदौ १० सम्म सञ्चालन गरिनेछ भने दोस्रो चरणको सीप परीक्षा आउँदो भदौ १६ देखि असोज २१ सम्म सञ्चालन हुने जनाइएको छ । 

कृषि तथा पशुपालनतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणमा भएको परीक्षाको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ । यस्तै उत्पादनमूलकतर्फ पहिलो र दोस्रो चरणमा सम्पन्न भाषा परीक्षाको नतिजा क्रमशः आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुनेछ । 

ट्याब्लेटबाट परीक्षा

कोरियन भाषा परीक्षामा विगतमा नयाँका लागि पीबीटी (पेपरबेस्ड टेस्ट) र कोरिया गएर फर्केकाका लागि सीबीटी (कम्प्युटरबेस्ड टेस्ट) गरिँदै आएकामा यो परीक्षा यूबीटी (युविक्युट्सबेस्ड टेस्ट) प्रणालीबाट लिइनेछ । यो प्रणालीमा प्रत्येक परीक्षार्थीलाई कम्प्युटरको सट्टा ट्याब्लेटबाट परीक्षा लिइनेछ । भाषा परीक्षाका लागि परेको आवेदनका आधारमा एक सिफ्टमा २०० जनाका दरले दिनमा चार सिफ्ट परीक्षा सञ्चालन गरेर दिनमा अधिकतम ८०० जनाले परीक्षा दिने व्यवस्था मिलाइएको छ । 

शाखाले भैँसेपाटीमा रहेको दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी)को कोरिया भाषा केन्द्रलाई तयारी अवस्थामा राखेको छ । सन् २००८ देखि बर्सेनि सञ्चालन हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा पछिल्लो दुई वर्ष कोरोना सङ्क्रमणका कारण स्थगन गरिएको थियो । 

शाखाका अनुसार भाषा परीक्षालाई मर्यादित बनाउन परीक्षार्थीको बायोमेट्रिक गरिनेछ । अन्य व्यक्तिको नाममा अनधिकृत व्यक्तिले परीक्षा दिएमा चार वर्षसम्म भाषा परीक्षामा सामेल हुन नदिइने शाखाले जनाएको छ । ईपीएसअन्तर्गत हालसम्म ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् । त्यसमध्ये हाल ३५ हजार नेपाली कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत छन् ।कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गदै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ ।

Published on: 5 April 2022 | Gorkhapatra

Link

Back to list

;