s

कोरिया भाषा परीक्षाका लागि पहिलो दिनमै ५५ हजारको आवेदन

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् । ईपीएसले जेठ २५ र २६ गते हुने भाषा परीक्षाका लागि शुक्रबारदेखि चैत १७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
 
ईपीएस शाखाका प्रमुख कृष्ण खनालले अनलाइनबाटै फाराम र शुल्क बुझाउने व्यवस्था गरेकाले विगतमा जस्तो बैंकमा भीड नलागेको बताए। ग्लोबल बैंकको शाखासहित आईएमई पे र ई-सेवामार्फत शुल्क बुझाउने व्यवस्था गरिएको उनले बताए। परीक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ।
 
उम्मेदवारले आफूलाई पायक पर्ने परीक्षा केन्द्र रोज्नुपर्नेछ। पोखरा केन्द्रमा १२ हजार जनाले मात्रै आवेदन दिन पाउने व्यवस्था गरेको छ। पोखरामा 'फस्ट कम फस्ट सर्भिस' को व्यवस्था गरिएको हो। सन् २०१९ का लागि १० हजार ५० जनाको कोटा छुट्याइएको छ। उत्पादनतर्फ ७ हजार ५० र कृषि क्षेत्रतर्फ ३ हजार जनाको कोटा तोकिएको हो। यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो। परीक्षामा सहभागी हुनेले एउटा क्षेत्र रोज्नुपर्नेछ। यो परीक्षामा २०३६ चैत १० देखि २०५७ चैत ९ गतेभित्र जन्मिएका नेपालीले दरखास्त दिन पाउनेछन्। भाषा र सीप परीक्षामा उत्तीर्ण भएकाले मात्रै रोजगारका लागि आवेदन दिन पाउने छन्। भाषा परीक्षा उत्तीर्ण भएकाले सीप परीक्षणमा सहभागी हुन पाउनेछन्। कोरिया जाने युवाले ४ वर्ष १० महिना काम गर्न पाउनेछन्।
 
आकर्षक गन्तव्यका रूपमा स्थापित कोरियामा हालसम्म ५९ हजार ६ सय ९८ जना गइसकेका छन्। भाषा परीक्षामा उत्तीर्णमध्ये ९ हजार ४ सय नेपाली कोरिया जान पाएका छैनन्। कोरियाले सन् २००८ देखि नेपाली कामदारलाई कृषि र उत्पादन क्षेत्रमा लैजान थालेको हो।
 
ईपीएस शाखाका सूचना अधिकारी शोभाकार भण्डारीले रोजगारदाताले छनोट नगरेका व्यक्तिलाई पठाउन नसकिएको बताए। 'रोजगारदाताले आफूलाई चाहिने कामदारको संख्या कोरियाको मानव संसाधन विभागमा पठाउँछ, विभागले सबै देशका नागरिकको संख्या राखेर रोजगारदातालाई चाहिनेभन्दा तीन गुणा बढी सूची उपलब्ध गराइनेछ,' उनले भने, 'जसलाई रोजगारदाताले छनोट गर्छ, त्यही व्यक्ति जान पाउने हो।'
 
Published on: 22 March 2019 । Kantipur

Back to list

;