s

कोरियाबाट शव ल्याउन सहयोग जुट्दै

विनोद भण्डारी

बैदेशिक रोजगारीका क्रममा तीन साता अघि दक्षिण कोरियामा सडक दुर्घटनामा ज्यान गुमाएका मोरङको अमरदहका सन्तोष बिष्टको शव आर्थिक समस्याका कारण परिवारजनले अहिलेसम्म घर ल्याउन सकेका छैनन् । आर्थिक समस्याले शव ल्याउन नसकेपछि बिष्ट परिवारलाई आर्थिक सहयोग जुट्न सुरु भएको छ ।

सुनवर्षी नगरपालिका–२ का बडा अध्यक्ष प्रताप तामाङले शुक्रबार मृतकका बुवा नरेन्द्रबहादुर बिष्टलाई १ लाख १ हजार ब्यक्तिगत सहयोग गरेका छन् ।
 
१३ लाख ऋण काढेर कोरिया पुगेका २९ वर्षीय सन्तोषको जुलाई १२ मा सडक दुर्घटनामा ज्यान गएको थियो । ऋण पनि तिरिनसक्दै छोराको ज्यान गएपछि २५ दिनसम्म आर्थिक अभावमा शव नेपाल ल्याउन नसकिएको बावु नरेन्द्रले बताए ।
 
दक्षिण कोरियाको सिजिओ सहरमा स्कुटरमा सवार सन्तोषलाई पछाडिबाट गाडीले ठक्कर दिएपछि उपचारका क्रममा मृत्यु भएको आफन्तको भनाई छ । दुर्घटना गराउने गाडीधनी पनि आर्थिक अवस्था कमजोर भएका कारण उनको शव नेपाल ल्याउन समस्या बिष्टको भनाई छ । दुर्घटना गराउने गाडीले तिर्नुपर्ने क्षतिपूर्ति तिर्न नसकेपछि उक्त गाडी धनी र सन्तोषको शव प्रहरीको नियन्त्रणमा रहेको बिष्टका परिवारजनको भनाई छ । उनीहरुका अनुसार शव नेपाल पुर्‍याउन करिब १० लाख खर्च लाग्ने बताइएको छ ।
 
सन्तोष दलालमार्फत डेढ वर्ष अघि दुवईबाट दक्षिण कोरिया पुगेका हुन् । पर्यटन भिषाबाट कोरिया पुगेका कारण उनको शव नेपाल ल्याउन प्राविधिक समस्या भएको स्थानीयवासीको भनाई छ ।
 
Published on: 4 August 2018 | Kantipur

Back to list

;