s

कोलकातामा सानो नेपाल

कोलकातामा नेपालीका नाममा खुलेका सानाठूला गरी ५२ वटा राजनीतिक/गैरराजनीतिक संगठन छन्। तीमध्ये २६ वटाको चहलपहल बढी छ। त्यहीबीचमा ५३ औं संस्था खुलेको छ, जसका सदस्य कुनै पनि दलका भ्रातृ संस्थासँग आबद्ध छैनन्। 

'भोलिका लागि आजका हातहरू' त्यस संस्थाको नाम हो, जसका सदस्यले फेसबुकको माध्यमबाट एकअर्कालाई भेटे। अब्राहम लिंकनको लोकतन्त्रसम्बन्धी परिभाषाको नक्कल गर्दै उनीहरूले नारा सिर्जेका छन्, 'नेपालीले, नेपालीको, नेपालीलाई।' 

'हाम्रो संगठनमा कोही पनि पदाधिकारी छैन, सबै प्रमुख, सबै सदस्य,' एसेम्ब्ली अफ गड चर्चमा कक्षा १२ पढ्दै गरेका काभ्रे बनेपाका १९ वर्षे सुशील ढकाल भन्छन्, 'औपचारिक संगठन नबनाई पनि नेपालीहरूका लागि काम गर्न सकिन्छ भन्ने लागेर त्यसो गरेका हौं।' 

दुई वर्षअघि संस्था बनाएका १५ देखि ३० वर्षबीचका उनीहरू अहिले २५ जना भइसकेका छन्। विश्वविद्यालय र कलेज पढ्दै गरेका युवा र किशोरहरूले संस्था हाँकेका छन्। हरेक आइतबार अर्थात बिदाको दिन एकआपसमा भेट्छन्। पार्क, खुला चौर, कोठा, कलेजका क्यान्टिन उनीहरूका मिटिङ स्पट हुन्। 

अर्घाखाँची गोखुंगा–६ बाट सिए पढ्न आएका ओम शर्मा खनाल यो संस्थाका सूत्रधार हुन्। साउथ सिटी कलेजमा आइपिसिसी पढ्दै गर्दा केही नेपाली युवासँग सम्पर्क भएपछि कोलकाता आउनेहरूले पाएका दुःखबारे उनलाई जानकारी भयो। केही कार्यक्रम र बैठकपछि उनले संस्था बनाउने तत्परता देखाए। अरु युवाले हात दिए।

'नेपालबाट आएकाहरूलाई सम्पर्क दिने, मर्का परेकालाई सक्दो सघाउने गर्छौं,' २२ वर्षे ओम भन्छन्, 'अरु संस्था राजनीतिक आकांक्षाका लागि खोलिएका छन्, हामीलाई पनि आबद्ध गर्न कोसिस गरे, सकेनन्।' 

कोलकातामा नेपालीले सितिमिति डेरा पाउँदैनन्। अपार्टमेन्टको मूल्यले आकाश छोएको छ। सस्तैमा पाए पनि विद्यार्थीको औकात पुग्ने कुरो आएन। 'भोलिका लागि आजका हातहरू' फेसबुक पेजमार्फत उनीहरूले डेरा समस्या समाधानका लागि चारैतिर सम्पर्क सञ्जाल बनाएका छन्। …उनीहरूले डेरा नभेटुन्जेल अति सस्तो मूल्यमा पेइङ गेस्टका रूपमा राख्ने गरेका छौं,' ओमले भने।

कोलकाताको शैक्षिक माहोलमा भिज्न नसकेका विद्यार्थीलाई यो संस्थाका सदस्य आफैं सहयोग गर्न पुग्छन्। 'पढाइमा कमजोर विद्यार्थीका लागि निःशुल्क ट्युसन पढाइदिन्छौं, पढाइदिनका लागि विषयगत शिक्षकलाई अनुरोध गर्छौं,' साउथ सिटी कलेजमा बिकम दोस्रो वर्ष पढ्दै गरेका आदित्य परियार भन्छन्, 'आफूसँग भएका किताब दिन्छौं, फेसबुकबाटै किताब हुनेसँग माग्छौं।' उनीहरुले यसका लागि 'बुक फन्ड' निर्माण गरेका छन्। सोसल साइटको सूचनाका आधारमा किताब सँगाल्छन्।

'भोलिका लागि आजका हातहरू' ले आफ्नो गतिविधिका माध्यमबाट स्थापित गरिसकेको देखेर एमाओवादी, एमाले, कांग्रेस र जनमोर्चालगायत दलका भ्रातृ संस्था नेताले आफ्नो संगठनसँग जोडिए सहजै सुविधा उपलब्ध गराउने आश्वासन उनीहरूलाई दिएछन्। उनीहरू भने कसैसँग नजोडिई काम गर्ने जिकिर गर्छन्। दलीय आबद्धता नभएकै कारण कोलकातास्थित नेपाली महावाणिज्य दूतावास लगायत नेपालीका लागि काम गर्न खुलेका अन्य संस्थाका पदाधिकारीसँग सिधा पहुँच निर्माण गर्न सफल नभएको ओमले दुखेसो गरे। 

पुस्तान्तरको असर कोलकातावासी नेपालीमा पनि छ। 'हाम्रो उमेर वा अनुभव कम भएको देखेर उहाँहरूले नपत्याउनुभएको होला,' ओम भन्छन्, 'हामी आफैं पनि विभिन्न रोजगारदाता र ब्रोकरसँग मिलेर रिक्त पदहरूमा नेपालीहरूलाई रोजगारी दिलाउन लागिपरेका छौं।' आफूहरूको प्रयासबाट नेपालबाट गएका विद्यार्थी र श्रमिकले काम पाएको सुशीलले दाबी गरे।

महावाणिज्यदूत चन्द्रकुमार घिमिरेले उनीहरुलाई सक्दो सघाउने वचन दिएका छन्। 'अग्रजहरुलाई कतिपय अवस्थामा मान दिनुपर्छ, उनीहरुको सल्लाह लिनुपर्छ,' घिमिरे भन्छन्, 'पढ्न आएका भाइबहिनीले गरेको राम्रो कामलाई सबैले सघाउनुपर्छ।' 

संस्थामा महिला सदस्य भने नगन्य छन्। नेपालबाट कोलकाता पढ्न जाने नेपाली छात्रा नै कम भएकाले यस्तो भएको साउथ सिटीमै बिकम पहिलो वर्ष पढ्दै गरेका चितवन शिवनगर–२ बाट १८ वर्षे पंकज तामाङ बताउँछन्। एउटै छातामुनि बसेपछि सधैं मन मिल्छ नै भन्ने छैन। यी सदस्यहरूबीच पनि छलफल र कामबारे मनमुटाव भइरहन्छ। कहिलेकाहीँ त अलि बढी ठाकठुक पनि पर्छ। तैपनि केले उनीहरूलाई अहिलेसम्म बाँधिराखेको छ?

'यहाँ बिचल्लीमा परेका साथीहरूलाई सहयोग गर्ने मिसन,' इन्दिरा गान्धी मेमोरियल हाइस्कुलमा कक्षा १० पढ्दै गरेका पाल्पा तानसेनका १७ वर्षे रजत खनाल जोड्छन्, 'यही मिसनले हामीबीचका डिफरेन्सेस मेटाउँछ।'

घरखर्च, कलेजको छात्रवृत्तिले पढिरहेका विद्यार्थीसँग आफ्नो आर्थिक स्रोत हुने कुरै भएन। पकेट मनीले संस्था धानिरहेको उनीहरू बताउँछन्। कहिलेकाहीँ फेसबुकमार्फत सम्पर्कमा आउने अग्रजबाट सहयोगको हात पाएको ओम जानकारी दिन्छन्।

'यो मन त मेरो नेपाली हो' लेखिएको टिसर्ट र नेपाली टोपी लगाएर आपसमा भेट्ने उनीहरूभित्र गाउने, बजाउने, लेख्ने प्रतिभा पनि छन्। अघिल्लो साता कोलकातामा आयोजित 'नेपाली साहित्य सम्मेलन' को दोस्रो दिन उनीहरूले नेपाली लोक, रक र आधुनिक गीत गाए। नेपाली गीतहरूमा कम्मर मर्काए। स्वदेशदेखि टाढा काम गर्न गएका सयौं नेपालीलाई सेन्ट जेभियर एकेडेमीको अडिटोरियममा राष्ट्रभावनाका गीतहरू सुनाएर भावुक बनाए। बिहारबाट पढ्न गएका सुमित ठाकुरसमेत उनीहरूकै कारण नेपाली गीतहरूमा लहसिएका छन्। 

पढ्न भनेर गएका यी विद्यार्थी यतिका काम गर्ने समय कसरी निकाल्छन् त! 'अभिभावकले यस्ता काममा अहिले नै लाग्ने बेला भएको छैन भनेर कहिलेकाहीँ हकार्नुुहुन्छ,' ओम भन्छन्, 'तर हाम्रो काम देखेपछि भने अहिले स्याबासी दिन थाल्नुभएको छ।'
दिन–परदिन सदस्य थपिँदैछन्। पछिल्ला सदस्य हुन्, चन्द्रनिगाहपुर रौतहटका विष्णु घिमिरे। फेसबुककै माध्यमबाट आफू पनि जोडिएको उनी बताउँछन्। 

Published on: 2 March 2013 | Nagarik

Back to list

;