s

कोइलाबासको कहानी : न अडियो पानी न जवानी

दुर्गालाल केसी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४ वर्षअघि नेपालको संविधानसभालाई सम्बोधन गर्दै पानी र जवानी नेपालको पहाडमा अडिन नसक्ने अभिव्यक्ति दिएपछि त्यसले खुबै चर्चा पायो ।

मोदीको उक्त भाषणबारे कोइलाबासवासीलाई थाहा छैन तर नेपालमा पानी र जवानी नअडिएकोबारे भने उनीहरू भुक्तभोगी छन् । मोदीले भनेझैं कोइलाबास नाकाबाट दिनहुँ मानिस रोजगारको खोजीमा भारत पस्छन् ।
 
मोदीले भनेजस्तै नेपालमा पानी नअडिएको पनि कोइलाबासले प्रत्यक्ष भोगेको छ । यहाँका बासिन्दाले ५० वर्षदेखि ५ किलोमिटर दक्षिण भारतको बालापुर र जरवागाउँ पुगेर खानेपानी जोहो गरिरहेका छन् ।
 
गढवा गाउँपालिका ८, कोइलाबास नेपाल–भारत सीमा क्षेत्रको मुख्य नाका हो । वर्षौंदेखि यहाँबाट भारतमा मजदुरी गर्न जाने/आउनेको लर्को लाग्थ्यो । ०४५ सालअघि नाकामा भीडभाड हुन्थ्यो । धेरै नेपालीको जवानी भारतमै मजदुरी गरेर बित्थ्यो ।
 
कतिपय वर्षभरि मजदुरी गरेर चाडपर्वमा घर फर्कन्थे भने कति त जवानी नै उतै सकेर बुढेसकालमा फर्कन्थे । राप्तीका पहाडी जिल्लाका साथै दाङका विभिन्न गाउँबाट मानिसहरू रोजगारको खोजीमा भारत पस्छन् । जवानी भारतमै खर्चिन नाकामा लर्को लागेको देख्ने कोइलाबासवासी नै हुन् ।
 
०४५ सालपछि भारतले नाका बन्द गरिदिएपछि स्थानीय बजारको रौनक हरायो । सामान निकासी–पैठारीमा कमी आयो तर मजदुरीका लागि भारत जाने/आउने क्रम भने अहिले पनि जारी नै छ । स्थानीय रोजगारका लागि भारत नै धाउँछन् । व्यवसायका सिलसिलामा पनि कोइलाबासका अधिकांश भारत पसेका छन् ।
 
कोइलाबासमा जति प्रयास गर्दा पनि पानी निस्किएन । लाखौं लगानी गर्दा पनि स्थानीयस्तरमा पानीको व्यवस्था हुन सकेन । एउटा पुरानो सार्वजनिक कुवाका भरमा पानीको जोहो भइरहेको थियो । त्यसले पनि सधैं साथ दिन सकेन, गर्मी समय आयो कि सुकिहाल्ने । त्यसपछि कोइलाबासवासीलाई भारत नपुगी पानीको जोहो नहुने भयो ।
 
अहिले सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत वडा कार्यालयमा २६ लाख बजेट आएपछि बोरिङ खनेर पानी निकालिएको छ । पहिलोपटक बोरिङमा पानी आएपछि स्थानीय हर्षित छन् । यसले तत्काल राहत दिएको छ तर पनि सधैं भरपर्दो हुनेमा आशंका छ ।
 
अहिले पानी आए पनि चैत/वैशाखमा के हुने भन्ने चिन्ता छ । नेपालको पानी अड्याउन धेरै प्रयास गर्दा पनि असफल भएको कोइलाबासका खानेपानी प्राविधिक कृष्णप्रसाद घिमिरेले बताए । ‘नेपालभन्दा भारत ओरालोमा पर्छ । सीमा क्षेत्रमा पहाडी भेगजति नेपालमा छ, तराई सुरु भयो कि भारत सुरु हुन्छ,’ उनले भने, ‘यहाँको पानी बगेर उतै जान्छ । यहाँ पानी निकाल्नै गाह्रो भयो । स्रोत नै भेटिएन । अहिले अचम्म लाग्ने गरी पानी आएको छ ।’
 
कोइलाबास आजसम्म पानीका लागि भारतमै निर्भर रहेको वडाध्यक्ष सद्दाम सिद्दिकीले बताए । लामो प्रयासपछि बोरिङको पानी आउँदा सबै अचम्मित परेको उनले बताए । ‘यहाँ पानीको स्रोत भेट्टाउनै समस्या भयो । धेरै लगानी गर्दा पनि पानी आएन,’ उनले भने, ‘मैले थाहा पाएदेखि नै भारतको पानी खाँदै आएका छौं । अहिले पहिलोपटक यहींको पानी भर्न पाइएको छ ।’
 
यसअघि ६/७ ठाउँमा बोरिङ खन्दा पानी निस्किएन । अहिले पहिलोपटक खनिएको बोरिङमै पानी आएकामा खुसी लागेको उनले बताए ।
 
‘प्रयास त पहिले पनि भएकै हो । लगानी पनि धेरै भयो तर पानी आएको थिएन,’ उनले भने, ‘अहिले पानी आएपछि ६ महिनादेखि नेपालकै पानी खान पाइएको छ ।’ स्थानीय एक सयभन्दा बढी परिवारले बोरिङको पानी उपभोग गर्न पाएको सिद्दिकीले सुनाए । रिजर्भ ट्यांकी र पाइपको अभावमा पानी वितरण गर्न भने नसकिएको उनी बताउँछन् ।
 
लामो समयदेखि भारत पुगेर पानी बोक्दै आएका नेपाली अहिले यहीको पानी पिउन पाउँदा दंग भएको स्थानीय गीतादेवी पाण्डेले बताइन् । पानी लिन भारत पुग्दा पैदल डेढ घण्टा लाग्छ । कोही साइकलमा जान्छन् । कोही गाडीमै पानी ओसार्छन् ।
 
पानीका लागि दिनहुँ गाडीभाडा जुटाउनुपर्ने समस्या झेलेको उनले बताइन् । ‘जर्किनमा पानी बोकेर बिहान–बेलुका नेपाल–भारत गर्दैमा ठिक्क हुन्थ्यो । साइकल किन्न नसक्ने र गाडी भाडा जुटाउन नसक्नेलाई पानी खानसमेत मुस्किल थियो,’ उनले भनिन् ।
 
Published on: 3 January 2019 | Kantipur

Back to list

;