s

कोही खुसी साट्दै, कोही रुने मात्रै

सुरेन्द्र काफ्ले  खगेन्द्र भण्डारी

बाँकेकी निरु खड्कालाई के थाहा, २० वर्षकै उमेरमा पति वियोग होला भन्ने। १५ वर्षको उमेरमा परिवारको असहमतिबीच प्रेमविवाह गरेकी उनको गुजारा जेनतेन चल्दै थियो। छोरा जन्मिएपछि आर्थिक भार बढ्यो। अनि पति तिलबहादुर रोजगारीका लागि मलेसिया उडे परिवारको सुखद भविष्यको सपना बोकेर। हुने हार दैव नटार। यस्तै भयो बाँकेको खजुरा गाउँपालिका–३ बिगाउँकी निरुको जीवनमा। एक महिनाअघि उनका पतिको काम गर्ने क्रममा मृत्यु भयो।उनै निरु सोमबार दिउँसो डेढ वर्षीय छोराका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिइन्। उनी पतिको शव बुझेको पत्रको नक्कल लिन विमानस्थलभित्र रहेको भन्सार कार्यालयमा आएकी रहिछिन्। ‘शव त वैशाख ३ गते नै आइसकेको हो। क्षतिपूर्तिका लागि वैदेशिक रोजगार विभागमा जाँदा शव बुझेको पत्र चाहिन्छ। त्यो हरायो’, उनले समस्या सुनाइन्, ‘त्यही हराएको पत्र यहाँ पाइन्छ भनेर आएको, कार्यालय नै भेट्टाउन सकिनँ।’ उनी कहिले नेपाल वायुसेना निगमको कार्यालय पुग्थिन् त कहिले प्रहरीसँग सोधिरहेकी थिइन्। सही जानकारी कसैले दिएन। ‘यता गयो, उता जा भन्छन्, उता गयो फेरि त्यहीं जा भन्छन्’, उनले भनिन्, ‘यताउता गर्दागर्दै दिन बित्लाजस्तै भयो।’

अन्नपूर्णको टोलीले निरुलाई पास मिलाइदिएर भन्सार कार्यालयमा पुर्‍याइदियो। ‘उति बेला छोरी बिहे नगर भनेर धेरै सम्झाएँ, मानिन’, सँगै रहेकी आमाले भनिन्, ‘अहिले छोरीको जिन्दगीमा यस्तो भयो, यही क्षतिपूर्ति पाए राहत हुन्थ्यो कि ? ’ उनीहरू तीन दिनदेखि काठमाडौंमा छन्। वैदेशिक रोजगारीमा जाने नेपाली युवाले भोग्नुपरेको एउटा दर्दनाक कथाको प्रतिनिधि घटना हो यो। सोमबार अन्नपूर्ण टोली विमानस्थलमा पुग्दा बिहानैदेखि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको लामो लाइन लागिसकेको थियो। अचेल राति १० बजेदेखि भोलिपल्ट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुन्छ। सोही कारण दिउँसो यात्रुको चाप हुन्छ। वैदेशिक रोजगारीमा जानेमा अधिकांश युवक थिए। पतिलाई बिदाइ गर्न सन्तानसहित पुगेका महिला हुन् वा आफन्तका साथ पुगेकाहरू। विमानस्थलमा छुट्टिनुपर्दाको दृश्य निकै पीडादायी देखिन्थ्यो। सर्लाहीबाट आएका ६० वर्षीय एक वृद्धले रुँदै छोरालाई साउदी बिदाइ गरे। ‘यही एउटा छोरा हो, विदेश जाँदैछ, के कस्तो हुने हो ? ’ उनले आँसु पुछ्दै भने, ‘छोरालाई दुःख नहोस्। यहाँ बसेर केही काम पनि छैन। के गर्ने हजुर ? विदेश जानु बाध्यता भयो।’ बिहान ८ बजेतिर वैदेशिक रोजगार कक्षको अगाडि एक जोडी रुँदै थियो। अंकमाल गरिरहेको त्यो जोडी हेर्न भीड लाग्यो। युवकले पत्नीलाई सम्झाइरहेका थिए। पति उडेपछि युवती रुँदै फर्किन्। विमानस्थलमा एकातिर वैदेशिक रोजगारीमा जाने युवाको लाइन थियो। अर्काेतर्फ अध्ययनका लागि विदेश जाने युवाको लाइन पनि कम थिएन। अध्ययन गर्न जानेको अनुहारमा खुसी टल्किएको देखिन्थ्यो भने रोजगारीमा जाने युवाको अनुहारमा पीडा।

सहायता कक्ष बन्द

वैदेशिक सहायता कक्ष बिहान ७ बजेदेखि साढे ४ सम्म बन्द थियो। नजिकै रहेको प्रहरी सहायता कक्षका प्रहरीले आवश्यक जानकारी दिइरहेका थिए।

फितलो सुरक्षा व्यवस्था

विमानस्थलको सुरक्षा व्यवस्था फितलो थियो। बिहानै ७ः३० बजे मूलगेटबाट सुरक्षा जाँच बिना नै मानिसहरू विमानस्थल छिरेका थिए। भीआईपी कक्षमा सीमित व्यक्तिमात्र प्रवेश गर्न पाउने व्यवस्था छ। तर नेता, उनका आसेपासे र व्यापारीहरू सहज रूपमा भीआईपी कक्षमा प्रवेश गरिरहेका थिए। ‘नेपालमा त जो पनि भीआइपी’, एक यात्रुले व्यंग्य गरे, ‘अलिअलि चिनजान भयो कि भीआईपी। यहाँ सामान्य नागरिकभन्दा भीआईपी बढी होलान्।’

सफा शौचालय फोहोर पानी

आन्तरिक र अन्तर्राष्ट्रिय दुवै टर्मिनलमा पानी फोहोर रहेको यात्रुको गुनासो छ। विमानस्थलमा भेटिएकी पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले पानी फोहोर रहेको बताइन्। ‘यहाँको पानी साह्रै फोहर छ। डोमेस्टिकतिरको मात्र होइन, इन्टरनेसनलको त्यस्तै छ,’ आन्तरिकतर्फ भेटिएकी उनले भनिन्।

कालापानी र लिपुलेक नभएको नक्सा

विमानस्थलको अन्तर्राष्ट्रिय विभागको ‘वेटिङ रुम’ मा टाँगिएको ठूलो नक्सा गलत छ। सरकारले आधिकारिक नक्सा सार्वजनिक गरेर सबै सरकारी कार्यालय र सार्वजनिक महत्वका स्थानमा राख्ने भने पनि विमानस्थल पुग्दा त्यस्तो देखिएन। विमानस्थलजस्तो संवेदनशील ठाउँमा गलत नक्सा राखेर नागरिक उड्ययन प्राधिकरणले गलत कार्य गरेको छ। कालापानी र लिपुलेक नभएको नक्साको सम्बन्धमा व्यापक चर्चा हुँदा पनि नागरिक उड्ययन प्राधिकरण गैरजिम्मेवार भएको देखिन्छ। विमानस्थलमा गलत नक्सा राख्दा राष्ट्रियतामाथि नै प्रश्नचिह्न लाग्ने एक यात्रुले बताए। ‘यहाँ त विदेशी आउँछन्, उनीहरूले त नेपाल यही रहेछ भनेर बुझ्छन्,’ ती यात्रुले भने, ‘यसले देशको सिमाना मात्र होइन, राष्ट्रियतामै खेलवाड भएको देखाउँछ।’

सीमित पास

अन्तर्राष्ट्रिय टर्मिनलतर्फ पासको व्यापक दुरुपयोग भएको छ। पास जसले पायो त्यसले प्रयोग गरिरहेको पाइएको छ। पास कसलाई दिन कसलाई नदिने भन्ने मापदण्ड छैन। १० वटा पास मात्र रहेको कर्मचारीले बताए। तर पहुँचका आधारमा वितरण गर्दा सबैले सहज रुपमा पाउने अवस्था छैन।

क्यान्टिनमा मनपरी

विमानस्थलको क्यान्टिनमा मनपरी छ। विमानस्थल परिसरमा दुईवटा क्यान्टिन सञ्चालनमा छन्। एउटा कान्तिपुर क्याफे अर्काे कालिका। कान्तिपुर क्याफे निकै महँगो छ। कालिकामा सस्तो खानेकुरा पाइन्छ तर खानेकुरा गुणस्तरहीन। एउटै क्यान्टिनमा विमानस्थलका कर्मचारी र अन्य सेवाग्राहीलाई छुट्टै खानेकुराको व्यवस्था छ।

Published on: 7 May 2019 | Annapurna Post

Back to list

;