s

कोहलपुरका ५८ युवालाई रोजगार

विश्वराज पछल्डङ्ग्या

कोहलपुर नगरपालिकाले ५८ युवालाई रोजगारी दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पहिलो चरणमा पाँचवटा वडाका ५८ बेरोजगार युवालाई रोजगार दिएको नगरपालिकाका रोजगार अधिकृत भद्र थापाले बताए ।  

पहिलो चरणमा वडा नं. ३, ८, ११, १२ र १३ का युवालाई एक महिनाका लागि रोजगार प्रदान गरिएको बताए । एउटा वडाबाट १५ जनाका दरले जम्मा तीन सय युवालाई यसै आर्थिक वर्षमा रोजगार दिने योजना रहेको उनले बताए । रोजगारका लागि छनोट भएका युवालाई सुरुमा सरसफाइमा र वडा कार्यालयबाट आएका योजना आएपछि सोही आधारमा काममा खटाउने उनले बताए ।  युवाको योग्यता, क्षमता, दक्षता र सीपअनुसार काम दिइने बताउँदै उनले धेरैजसो युवालाई विकास, निर्माणमा खटाउने बताए । ‘पढेलेखेका युवालाई कार्यालयको काममा पनि खटाउने योजना छ,’ थापाले भने ।

पाँच हजार युवा बेरोजगार

कोहलपुर नगरपालिकामा पाँच हजार २५ युवाले रोजगारका लागि निवेदन दिएका थिए । तिनै मध्येबाट विपन्न, अल्पसंख्यक, सिमान्तकृत र पछाडि परेका समुदायका युवालाई छनोट गरी रोजगार दिएको छ । ‘एकैसाथ सबैलाई रोजगारी दिन सक्ने बजेट छैन,’ थापाले भने, ‘आगामी वर्षको बजेटबाट अन्य युवालाई रोजगारी दिइनेछ ।’

नेपालगन्ज उपमहानगरमा पनि तयारी

नेपालगन्ज उपमहानगरपालिकाले पनि युवालाई रोजगारी दिने तयारी गरेको छ । उपमहानगरका रोजगार अधिकृत हरिबोल भट्टराईले वडाबाट योजना माग गरिएको बताए । उनले अबको एक हप्ताभित्र नेपालगन्जमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुने बताए । ‘वडाबाट योजना आउनासाथ कार्यक्रम सुरु हुन्छ,’ उनले भने । नेपालगन्जका चार सय १८ जना युवालाई रोजगार दिने बजेट रहे पनि समय नभएकाले अन्योल रहेको बताए । वडाबाट आएको योजनाका आधारमा रोजगार पाउनेको संख्या घटबढ हुने उनले बताए । वडाको योजनामा रोजगार पाउनेको संख्या निर्भर हुने बताए । ‘आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी छ, सबै पैसा खर्च गर्न सक्ने अवस्था कमजोर बन्दै गएको छ,’ उनले भने । एक महिनासम्म रोजगार दिन सक्ने सम्भावना नरहेको उनको भनाइ छ ।

Published on: 6 June 2019 | Nayapatrika

Back to list

;