s

किभ छाड्दै नेपाली पनि

होम कार्की 

काठमाडौँ — रुसले युक्रेनमाथि आक्रमण बढाएपछि गोरखाका सञ्जित भट्ट शुक्रबार बिहान ६ बजे आफू बसिरहेको होस्टल छाडेर बाहिर निस्किए । उनी युक्रेनको राजधानी किभस्थित एक होस्टलमा एक महिनादेखि बस्दै आएका थिए । ‘किभमा बस्नु निकै खतरा भयो,’ उनले भने, ‘हामी पोल्यान्डको लभिभ बोर्डरतिर गइरहेका छौं ।’ 

युक्रेन–रोमानिया बोर्डरको मोल्डोभामा डेलिभरी ब्वाईका रूपमा कार्यरत नेपाली युवा ।

उनीसँगै दाङका अनिल भण्डारी, विक्रम खड्का र कृष चौधरी पनि छन् । ‘बिहानदेखि हामी जंगलको बाटो हुँदै लगातार हिँडिरहेका छौं, बोर्डरमा पुग्न अझै चार–पाँच दिन लाग्छ,’ उनले फोनमा भने, ‘यहाँ कसैले कसैलाई सहयोग गर्दैन । सार्वजनिक बस चलेको छैन । अरूले रोक्दैन । बाटोमा हामी मात्रै छैनौं । भारतीय, पाकिस्तानी र युक्रेनी पनि छन् । हिँड्नुबाहेक हामीसँग विकल्प छैन ।’

कान्तिपुरको सम्पर्कमा आउँदा उनीहरूले १२ घण्टामा ५० किलोमिटर पार गरिसकेका थिए । ‘अब कति हिँड्न सकिन्छ थाहा छैन, अहिलेसम्म पानी मात्रै पिएका छौं, पानी कोठाबाटै बोकेका थियौं, खाने ठाउँ भेटिएको छैन,’ शुक्रबार बेलुका ७ बजे सम्पर्क हुँदा उनले बताए ।

उनले भने, ‘यो जंगलको बाटो क्रस भएपछि बस्ती आउँछ भन्ने सुनेको छु । ठाउँको नाम थाहा छैन । बस्ती भेटियो भने त्यहीं बास बस्ने योजनामा छौं ।’

उनले किभ छाडिसकेकाले जोखिम अलि कम भएको बताए । सवारीसाधन भेट्नेहरू लभिभ बोर्डरमा पुगिसकेको जानकारी पाएको उनले सुनाए । ‘सडकमा हिँड्दा बम खसेको आवाज सुनिन्छ, टाउकोमाथिबाट फाइटर प्लेनहरू उडिरहेका छन्, बमको आवाज कहिले सानो आउँछ, कहिले ठूलो,’ उनले भने, ‘भोकप्यास भनेका छैनौं । जतिसक्दो छिटो बोर्डर पुग्नु छ ।’

रामेछापका ३७ वर्षीय विष्णु पाण्डे, २६ वर्षीय राजेन्द्र विक र दोलखाका ३७ वर्षीय पाछोथे शेर्पा भने किभ सिटीको मेघा पोलिस होस्टलको भुइँतलामा बसिरहेका छन् । उनीहरू गत जनवरी २५ तारिखमा व्यक्तिगत श्रम स्वीकृति लिएर युक्रेन छिरेका थिए । उनीहरू एक महिनादेखि ओभरस्टे हैसियतमा छन् । ‘हाम्रो भिसा छैन, यहाँको अस्थायी आवासीय कार्ड पनि बनेको छैन, अलि दिनअगाडि त हामीलाई प्रहरीले पक्रेर दुई दिन भित्र राखेको थियो,’ पाण्डेले भने, ‘दलालले राहदानी दिएपछि ओभरस्टे भएको दिनको जरिवाना तिरेर घर फर्कन प्रहरीले भनेको थियो । अहिले यस्तो फसाद आइपर्‍यो । पैसा हुने साथीहरू धमाधम किभ छाडिरहेका छन् । हामीसँग पैसा पनि छैन । किभ छोड्न पनि सकिएको छैन ।’

नेपालमा रहेका एजेन्ट काठमाडौंका कुनल शर्मा र झापाका राम राईले उनीहरूलाई पैसा खोजेर पोल्यान्ड छिर्न भनिरहेका छन् । विकले भने, ‘तिमीहरू त्यहाँ नबस भनेर काठमाडौंबाट फोन आइरहेको छ । बजार बन्द छ, बाहिर बम पड्किरहेको छ, कतिबेला के हुने हो सोच्न सकिरहेको छैन ।’

उनीहरूले युक्रेन छिरेदेखि नै काम पाएका छैनन् । ‘हामीलाई पुग्नेबित्तिकै काम पाइन्छ भनेर पठाइएको थियो, अहिलेसम्म काम पाइरहेको छैन । एउटा होस्टलमा एउटा बेडको भाडा ९० डलर तिर्नुपर्छ । खाना आफैं बनाउने गरी बसिरहेका थियौं,’ पाण्डेले भने, ‘अहिले रुस र युक्रेनबीचको द्वन्द्व थपियो । मान्छेहरूको भागाभाग छ । ज्यानको सुरक्षा आफैं गर्नुपर्ने अवस्था छ ।’

उनीहरूले उद्धारका लागि जर्मनीस्थित नेपाली दूतावासमा सम्पर्क गरेका थिए । ‘दूतावासले हामीले सल्लाह–सुझाव मात्रै दिने हो, एनआरएनसँग कुरा राख्छु भनेको छ,’ शेर्पाले भने । दुबई र मलेसियामा काम गरिसकेका दोलखाका शेर्पाले आफूहरूलाई दलालले फसाएको बताए । ‘नेपालमा भनेको कुराबमोजिम एक प्रतिशत पनि भएन, साथमा ल्याएको दुई हजार डलर पनि भारतीय एजेन्ट दीपक पाण्डेले लिएर गयो, दलालले युक्रेन छिरेपछि तिमीहरू युरोप छिरिसक्यौ, अब लाइफ सेटल भइसक्यो भन्यो,’ शेर्पाले भने, ‘अहिले दिन कसरी काट्ने भन्ने डरैडर छ । घरबाट पैसा मगाएर पनि निस्किने अवस्था छैन । कुनै माध्यमबाट पनि पैसा नआउँदो रहेछ । यस्तो हुन्छ भन्ने थाहा थिएन ।’

कम्पनीमा काम गर्नेहरू भने कम्पनी छाडेर हिँडेका छन् । ‘हाम्रो कम्पनीमा ३५ जना नेपाली कामदार थिए, केही साथीले भने आ–आफ्नो समूह बनाएर कम्पनी छाडेर हिँडे, हामी १२ जनामात्रै क्याम्पमा छौं,’ नौ महिनादेखि युक्रेनमा कार्यरत स्याङ्जाका रमेश तिवारीले भने, ‘हामी चिकेन उद्योगमा काम गर्छौं । कम्पनीले सुरक्षाको जिम्मेवारी लिएको छ ।’ 

उनीहरू युक्रेनको राजधानी किभबाट झन्डै तीन घण्टा टाढा कानिभमा काम गरिरहेका छन् । ‘हामी काठमाडौंबाट मुग्लिनजत्तिकै दूरीमा छौं, सहरतिर बस्नेलाई अलि बढी तनाव छ, हामीलाई पनि जतिखेर जे पनि हुन सक्छ, डरत्रासमै छौं,’ उनले भने, ‘कम्पनीले खाने–बस्ने र पानीको प्रबन्ध मिलाइरहेको छ । एकदमै ठूलो हंगामा भयो भने कम्पनीले एकैठाउँमा लगेर राख्ने भनेकाले हामी अलि ढुक्क छौं ।’

Published on: 28 February 2022 | Kantipur

Link

Back to list

;