s

किर्ते गरी १० तिब्बतीलाई नागरिकता

अजवी पौड्याल

काठमाडौं : झट्ट हेर्दा कोही क्यान्टिन सञ्चालक छन्। कोही लामो समयदेखि लेखापढी व्यवसायमा त कोही व्यापार व्यवसायमा सक्रिय छन्।

तर, उनीहरूको खास काम भने समस्यामा परेका व्यक्तिको नक्कली कागजात बनाइदिनु, सरकारी छाप नक्कली प्रयोग गर्नु र विदेशी नागरिकको समेत नक्कली बुवाआमा खडा गरी नेपाली नागरिकता बनाइदिनु हो। यसरी नक्कली कागजात र नागरिकता बनाएबापत उनीहरूले ३ देखि ५ लाख लिने गरेका छन्।

तिनै गिरोहको समूह पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई यही चैत ५ गते बबरमहल क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्युल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हीरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामा छन्।

अपराध महाशाखाका प्रवक्ता सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरूको समूहले प्रतिव्यक्ति ३–५ लाख रुपैयाँ लिएर तिब्बती नागरिकको नेपाली नागरिकता बनाउने कार्यमा संलग्न थिए। राठौर भन्छन्, ‘अहिलेसम्म यो टोलीले १० जना तिब्बतीयनको नेपाली नागरिकता बनाइसकेका छन्। उनीहरूले नेपालीलाई १० हजार रुपैयाँ दिएर नक्कली बुवाआमा बन्न प्रलोभन दिएर नागरिकता बनाउने गरेको खुलेको छ।’

पक्राउ परेका कटवाल १० वर्षदेखि नै लेखापढी कानुन व्यवसाय गर्दै आइरहेका व्यक्ति हुन्। उनीसँग लेखापढी व्यवसाय गर्ने लाइसेन्स छैन। उनको कार्यालय दर्ता पनि भएको छैन। उनले विभिन्न व्यक्तिसँगको सहकार्यमा किर्ते कागजात बनाउने गरेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार उनले हीरालाल शिवाकोटीसमेतको सहयोगमा विभिन्न व्यक्तिको नक्कली नागरिकता, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, विवाद दर्ता, सम्बन्धविच्छेद जस्ता सरकारी कागजात नक्कली बनाउँदै आएका थिए।

उनले जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा तिब्बती शरणार्थीको नक्कली बुवाका रूपमा विभिन्न व्यक्ति उभ्याउने गरेका थिए। राठौरका अनुसार कटवालले भक्तपुर ठिमीका ७० वर्षीय न्युल्केश श्रेष्ठलाई मिङछुङ शेर्पा नामक नागरिकता बनाउन सहयोग गरेका थिए।

उनै श्रेष्ठले शेर्पा नामक नागरिकता प्रयोग गरी तिब्बतीयन शरणार्थीको नागरिकता बनाउन सहयोग गर्थे। एउटा नागरिकता बनाउन बुवाको रूपमा प्रशासनमा गएर सनाखत गर्थे।
यसबापत कटवालले उनलाई १० हजार रुपैयाँ दिन्थे। कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीको नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिलाई नक्कली बुवाका रूपमा उपस्थित गराएर सनाखत गराउने गरेको प्रवक्ता राठौरले बताए।

श्रेष्ठले तिब्बती शरणार्थी सोनाम छोडेन, टासी शेर्पा, नाम्से शेर्पालगायतको नागरिकता बनाउन नक्क्ली बाबु बनेर सहयोग गरेको अनुसनधानमा खुलेको छ।

पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बतीयन नागरिक हुन्। उनी तिब्बतीयन शरणार्थी क्याम्पमा बस्दै आएका छन्। उनले गत फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएका थिए। लोब्साङ ठिन्ले गुरुङको नामबाट कामनपा १७ स्थायी ठेगाना राखी ना.प्र.प्र.नं २७—०१ —७९ —१५९०१ नम्वरको नागरिकता लिएका थिए। यस्तै, नागरिकता लिएका अन्य २५—३० जनाको सक्कलै नागरिकता उपर पनि प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।

पक्राउ परेका विजय लामा विगत ९ वर्षदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएका छन्। उनले नै जिल्ला प्रशासनभित्रका सबै काम मिलाउँथे। भित्र मिलाउनुपर्ने भन्दै उनले कृष्णबहादुर कटुवालसँग प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ लिन्थे।

उनले नै कर्मचारीसँग सहजीकरण गर्थे। राठौर भन्छन्, ‘पक्राउ परेका कटवालले ५/६ वर्षको अवधिमा करिब ५ सय बढी यस्ता नागरिकता बनाएको सूचना आएको छ। यसमा संलग्न सबैको खोजी भइरहेको छ। कटवाल यसअघि पनि किर्ते र ठगी मुद्धामा सजाय पाएका व्यक्ति हुन्।’

साथै तिब्बतीयन शरणार्थीलगायत अन्य विदेशीको पनि सक्कलै नागरिकता बनाउन सहयोग गर्ने जिल्ला प्रशासन कार्यालयमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरूउपर नागरिकता ऐन तथा लिखतसम्वन्धी कसूरमा आवश्यक अनुसनधान भइरहेको छ।

Published on: 23 March 2023 | Annapurna Post

Link

Back to list

;