s

किन काम पाउँदैनन् नेपाली विद्यार्थीले अस्ट्रेलियामा?

हेमन्त काफ्ले

जनसंख्याको बढ्दो चापसँगै अस्ट्रेलियामा काम र दाममा प्रतिस्पर्धा छ। पाँच वर्ष अगाडिसम्म भनेजस्तो नभए पनि संख्यात्मक रुपमा काम प्रशस्तै पाइन्थ्यो। अचेल टेलिफोनमा दिनहुँ काम खोजिदिन आग्रह गर्नेहरु भेटिन्छन्।

डिपेन्डेन्डमा आएकी बुटवलकी सुनिता प्रधान सिड्नीमा चार महिना बसेर काम नपाएपछि घर फर्किने निर्णयमा पुगेकी छिन्। ‘ल्याएको पैसा सकियो, घरमा माग्दा लाज भइसक्यो, काम पाइएको छैन अनि के गर्ने?’ उनले भनिन्।

हेटौडाका समज्ञ न्यौपानेलाई रुनु न हास्नु बनायो, अस्ट्रेलियाको कामले। शैक्षिक परामर्श केन्द्रले जानेवित्तिकै काम पाइन्छ चिन्ता लिनु पर्दैन भनेर सल्लाह दियो।

‘यहाँ पढ्ने त छँदैछ, तर हात मुख जोर्ने समस्याले पिरल्यो, केही साथीहरुसँगको भनसुनले चार महिनापछि मात्रै काम पाइयो’ न्यौपानेले भने।

यी त प्रतिनिधी पात्रहरु मात्र हुन्। दिनहुँ काम खोजिदिन आग्रह गर्नेहरुको भीडभाड नै हुन्छ सामाजिक सञ्जालमा पनि। यहीँ मौकामा कतिपयले ‘अस्ट्रेलियामा काम’ भन्ने फेसबुक पेज चलाएर व्यापार समेत गरेको पाइन्छ।

हुन पनि नयाँ वर्ष २०२० सँगै अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनमा आउने नेपाली विद्यार्थीको संख्या ६० हजार पुगिसकेको छ। ६ लाख बढी विदेशी विद्यार्थीहरु अस्ट्रेलियामा अध्ययनरत छन्।

विद्यार्थीको पछिल्लो तथ्यांक बाहिर आउँदै गर्दा अस्ट्रेलियामा कामको अभावभन्दा पनि प्रतिस्पर्धा बढेको कतिपयको धारणा छ।

अस्ट्रेलिया पुग्नेवित्तिकै घन्टे डलर कमाइने सपना बुनेर आएका कयौं विद्यार्थी तीन/चार महिनासम्म पनि काम नपाएर भौतारिँदै हिँडेका दृष्य अहिले सामान्य बनिसकेका छन्। अस्ट्रेलियामा पनि चिनजान र आफ्ना मान्छे हुनेहरुका लागि केही सहज बन्न सक्छ, काम र मामको जोहो।


एकातिर महँगो शैक्षिक शुल्क र कोठा भाडा। अर्कोतर्फ महिनौंसम्म काम नपाउँदा तनाव बढ्नु स्वभाविक पनि हो।

नेपाली रुपैयाँलाई अस्ट्रेलियन डलरमा कन्भर्ट गर्दै क्याल्कुलेटरमा थिचेर छोराछोरीलाई पढ्न पठाउने हैसियत भएका औंलामा गन्न सकिने मात्र होलान्। बाँकी सबै कमाउँदै, पढ्दै अनि भ्याए नेपाल पनि पठाउने सोंचमा यता छिरेको पाइन्छ।

अस्ट्रेलियाका अध्ययन शहरहरुमा मुख्यतः सिड्नी, मेलवर्न, ब्रिसबेन, एडिलेड र पर्थ छन्। विश्वविद्यालय, उच्च शिक्षा केन्द्र र भेट कलेजहरु नै नेपालीहरुको अध्ययन केन्द्र हुन्।

पढाई, भोगाई र अनुभवका आधारमा नेपाली विद्यार्थीलाई अन्यको तुलनामा अस्ट्रेलियामा राम्रै मान्ने गरिन्छ। तर पढार्इका आधारमा व्यवासायिक काममा भने नेपालीको पहुँच नगन्य देखिन्छ। इन्जिनियर, एकाउटेन्ट, आइटी जस्ता पेशामा अझै नयाँभन्दा पुरानै पुस्ताको बाहुल्यता रहेको पाइन्छ। यसले हाम्रो कमी कमजोरी पढाई भन्दा गराईमा रहेको स्पष्ट झल्किन्छ।

नेपाली विद्यार्थीको सवालमा सबैभन्दा महत्वपूर्ण विषय भनेको आत्मविश्वासको कमी हो। काम नपाउनुको एउटा महत्वपुर्ण कारण नै यही हो। सिड्नीमा कानूनी पेशा संहालिरहेका वकिल खिलेन्द्रराज तिम्सिना भन्छन्, ‘पहिलो कुरा नेपाली विद्यार्थीहरु काम खोज्न लाज मान्छन्, काम खोज्न गए पनि गेटकै काउन्टरमा सोध्छन्, जहाँ कामको बारेमा थाहै हुन्न।’

जुन स्टोर वा कम्पनीमा जाने हो त्यहाँको व्यवस्थापकसँग सिधै आफ्ना कुरा खुलस्त राख्ने सन्दर्भमा नेपाली विद्यार्थी चुक्ने गरेको उनी बताउँछन्।

‘एउटा अस्ट्रेलियन युवा काम माग्न आयो भने, सिधै स्टोर म्यानेजर भेटेर ढुक्कले आफूले गर्न सक्ने कामको बारेमा कुरा राख्छ, विश्वास जित्छ’ उनले भने ‘नेपाली विद्यार्थी काउन्टरमा सोधेर फर्किन्छन्।’ यसमै नेपाली विद्यार्थीमा आत्मविश्वासको कमी प्रष्टिने उनी बताउँछन्।

पेशाले इन्जिनियर समेत रहेका एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मी अस्ट्रेलियाको श्रम बजारका लागि आवश्यक केही ज्ञान र तौरतरिकाको अभावमा नेपालीहरुले पढेअनुरुप जागिर नपाएको बताउँछन्। पहिलो कुरा यहाँको भाषा र शैलीसँग मिल्नेगरी प्रस्तुत हुने तौरतरिका र आवेदन दिँदा आवश्यक डकुमेन्ट महत्वपुर्ण रहेको महासचिव रेग्मीले सुनाए।

‘रोजगारदाताले स्पष्ट बुझ्ने शैलीमा बोल्ने, आवरण र डकुमेन्टेसनको सवालमा हामी धेरै काँचो छौँ, यसमा सुधार गर्ने हो भने नेपालीहरुले पनि व्यवसायिक पेशामा सहजै काम पाउन सक्छन्’ रेग्मीले भने।

विद्यार्थी जीवनबाट व्यवसायिक एकाउन्टेन्टको प्रतिस्पर्धामा खरो उत्रिएका डिला खरेल नेपाली विद्यार्थीमा ‘स्मार्टनेश’को कमी रहेको बताउँछन्।

‘पढाई र लेखाईभन्दा अनुभव र काम बिक्ने अस्ट्रेलियामा फूर्तिलो हुनु जरुरी छ’ उनले भने ‘लवाई, खुवाई, बोलिचाली र भाषा सुधार्नुपर्ने कुरामा पहिलो प्राथमिकताभित्र पर्दछन्।’

आफूले देखाएको हाउभाउ र प्रस्तुतीले रोजगारदातालाई आकर्षित गर्न सकिने खरेल बताउँछन्। ‘आत्मविश्वास भएका र फूर्तिला केटाहरुले यहाँ दिन दोब्बर र रात चौबर प्रगति पनि गरेका छन्’ उनले भने ‘नेपाली भाइबहिनीहरु यी कुरामा पछाडि हुँदा प्रतिस्पर्धी हुन सकेनन्।’

नेपाली विद्यार्थी शैक्षिक सवालमा उत्कृष्ट देखिए पनि आत्मविश्वास, स्मार्टनेशका सवालमा कमजोर रहेको तथ्य स्वीकार्छन् शैक्षिक परामर्श केन्द्रहरुको छाता संगठन एकाका अध्यक्ष तथा राइट एन्ड एसोसिएट्सका निर्देशक पर्शुराम अधिकारी।

बदलिँदो परिस्थितिसँगै प्रतिस्पर्धा बढ्दै गएकाले नेपाली विद्यार्थीलाई काम पाउन कठिन देखिएको उनी बताउँछन्। ‘हरेक कुरा गर्दै, सिक्दै जाने हुनाले सुरुआतमा केही अप्ठ्यारा देखिए पनि सुधार गरेपछि राम्रो परिणाम आउने गरेको हामीले पाएका छौँ’ अधिकारीले भने।

Published on: 6 January 2020 | Setopati

Link

Back to list

;