s

किन हुन्छ भिजिट भिसाको गलत प्रयोग ?

भूपराज बस्याल

 

सीधै कामदार भिसामा पठाउँदा फ्री भिसा फ्री टिकटअन्तर्गत कारबाहीमा परिने डरले मेनपावर व्यवसायीले नै भिजिट भिसामा नागरिक पठाउने गरेकाले पनि यस्तो भिसाको दुरुपयोग बढेको हो 

भिजिट भिसामा गएका नेपाली विदेशमा अलपत्र परेको भन्दै सरकारले यस्तो भिसामा अन्य देश जान रोक लगाएको छ । नयाँ मापदण्ड बनाएर खुला गर्ने भनिए पनि महिनौँसम्म नयाँ मापदण्ड बन्न नसक्दा देशका नागरिकले सास्ती व्यहोर्नुपरिरहेको छ । देखिएका समस्या समाधान गर्नु राज्यको दायित्व हो, त्यसबाट पछि हट्न मिल्दैन, तर समस्या समाधान गर्ने नाउँमा अन्य नागरिकको अधिकार हनन नहुने गरी राज्यले काम गर्नुपर्छ । भिजिट भिसामा देखिएको समस्या समाधान गर्न सरकारले १२ माघमा एउटा समिति बनाएर १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । तोकिएको समयसीमा हेर्दा समितिले २७ माघभित्रै प्रतिवेदन बुझाइसक्नुपर्ने हो, तर यो आलेख तयार हुँदासम्म प्रतिवेदन बुझाइएको छैन । प्रतिवेदनको पर्खाइमा बसेका आमनागरिक निराश छन् । तोकिएको समयसीमाभित्र प्रतिवेदनसम्म तयार पार्न नसक्ने समितिले कस्तो प्रतिवेदन बुझाउला, आमजनचसोको विषय बनेको छ । समितिले तयार पार्दै गरेको प्रतिवेदनमा कस्ता सुझाव आउलान् र भिजिट भिसासम्बन्धी कस्तो नीति बन्ला प्रतीक्षाको विषय बनेको छ । खासगरी भिजिट भिसाको दुरुपयोग बढ्नुमा निम्न सात कारण जिम्मेवार देखिन्छन् : 

१. फ्री भिसा फ्री टिकट कार्यान्वयन हुन नसक्नु : फ्री भिसा फ्री टिकटको व्यवस्था कार्यान्वयन हुन नसक्दा भिजिट भिसाको गलत प्रयोग भएको देखिन्छ । फ्री भिसा फ्री टिकटमा विदेश पठाउन नसकिने तर्क मेनपावर व्यवसायीले गरिरहेका वेला सरकारले जबर्जस्ती कार्यान्वयन गर्न खोज्नुले पनि भिजिट भिसाको दुरुपयोग बढ्दै गएको देखिन्छ । सीधै कामदार भिसामा पठाउँदा फ्री भिसा फ्री टिकटअन्तर्गत कारबाहीमा परिने डरले मेनपावर व्यवसायीले नै भिजिट भिसामा नागरिक पठाउने गरेको पाइन्छ । भिजिट भिसामा मनलाग्दी पैसा असुल्न पाइने भएका कारण यसको प्रयोग बढेको हो । 

२. मानव तस्करलाई कारबाही नहुनु : बेरोजगार नागरिकलाई विभिन्न प्रलोभन देखाएर विदेश लगेर अलपत्र पार्ने गरेका घटना नौलो होइन । तर, यस्ता घटनामा संलग्न मानव तस्करलाई कारबाही हुन नसक्दा भिजिट भिसामा हुने मानव तस्करी बढेको हो । भिजिट भिसामा विदेश लगेर नागरिकलाई अलपत्र पार्ने मानव तस्करहरू राजनीतिक दलसँग आबद्ध भएका हुँदा उनीहरू कारबाहीबाट सजिलै उम्किने गरेका छन् । मानव तस्करीमाथि राजनीतिक संरक्षण रहेसम्म भिजिट भिसाको समस्या समाधान हुने देखिँदैन ।

३. सरकारको सक्रियतामा कमी : भिजिट भिसामा मात्रै नभएर समग्र वैदेशिक रोजगारीप्रति नै सरकार गम्भीर देखिँदैन । अहिलेसम्म वैदेशिक रोजगारका क्षेत्रमा केही काम भएको देखिए पनि कामदारका हितमा काम भएको देखिँदैन । समस्यालाई सम्बोधन गर्न प्रतिवेदन तयार पारिए पनि कार्यान्वयनमै कठिनाइ देखिएका छन् । कार्यान्वयन भए पनि कामदारको हितमा काम भएको देखिँदैन । यसतर्फ सरकार गम्भीर हुनु जरुरी छ ।

४. घरेलु कामदारमा रोकिएको श्रम : भिजिट भिसाको गलत प्रयोग बढ्नुको अर्को महŒवपूर्ण कारण हो घरेलु कामदारका लागि रोकिएको श्रम । सरकारले वैदेशिक रोजगारीका क्रममा घरेलु कामदारमा जाने नेपाली नागरिक असुरक्षित भएको भन्दै खाडीमा घरेलु कामदारमा जान रोक लगाएपछि भिजिट भिसाको प्रयोग गरेर घरेलु कामदारका लागि जानेको संख्या बढेको देखिन्छ । समस्या मात्रै देख्ने सरकारले घरेलुु कामकै कारण नेपाली नागरिकको आर्थिक स्थितिमा भएको परिवर्तन देखेन । घरेलु कामदारमा समस्या आएपछि समाधानको बाटोतिर लाग्नुको सट्टा सरकारले रोजगारीको अवसर नै बन्द गरिदिएपछि भिजिट भिसाको गलत प्रयोग बढेको हो ।

५. जनचेतनाको अभाव : भिजिट भिसा र कामदार भिसामा जाँदाको अन्तरबारे नागरिकले प्रस्ट जानकारी पाउन नसक्दा पनि भिजिट भिसाको दुरुपयोग बढेको हो । यसबारे व्यापक जनचेतना फैलाउन सके भिजिट भिसामा हाल देखिएको समस्या समाधान हुन सक्छ ।

६. बाध्यकारी सेटिङ : अध्यागमनमा भएको स्वेविवेकीय अधिकारको गलत प्रयोगका कारण भिजिट भिसामा मात्रै नभए समग्र वैदेशिक रोजगारीका क्षेत्र समस्यामा परेको देखिन्छ । अध्यागमन विभागले माग गरेको पूरै कागजपत्र लिएर गएको नागरिक कर्मचारीको ‘स्वविवेक’का कारण फिर्ता हुनुपरेपछि बाध्य भएर दलालको सम्पर्कमा पुग्छ । विनासेटिङ विदेश जान नपाएको नागरिकले ‘सेटिङ’पछि त्यही डकुमेन्टबाट विदेश जाने अनुमति पाउँछ । अध्यागमन विभागमा देखिएको यो स्वविवेकको गलत प्रयोग अन्त्य नहुँदासम्म नेपाली नागरिकले सहजै हाम्रो अध्यागमन पार गर्न सक्दैन र दलालको सम्पर्कबाट सेटिङबाट विदेश जान बाध्य हुन्छ । भिजिट भिसामा देखिएको समस्या समाधान गर्न यो ‘स्वविवेक’को अधिकार हट्नुपर्छ ।

७. झन्झटिलो श्रम स्वीकृति : सम्बन्धित देशका रोजगारदाताले नेपाली नागरिकलाई सीधै भिसा उपलब्ध गराएको खण्डमा उसले सीधै श्रम स्वीकृति लिन सक्दैन । रोजगारदाताले चाहँदाचाहँदै पनि नेपालबाट श्रम स्वीकृति लिएर जान सक्ने अवस्था छैन । त्यसैले यो झन्झटिलो श्रम स्वीकृति प्रक्रियाले पनि भिजिट भिसाको गलत प्रयोग भएको देखिन्छ ।

Published on: 16 February 2022 | Nayapatrika

Link

Back to list

;