s

किन घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या?

आर्थिक वर्ष २०७९–८० को तुलनामा २०८०–८१ मा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ।

२०७९–८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएकोमा २०८०–८१ मा सात लाख ४१ हजार ३९७ जनाले श्रम स्वीकृति लिएका छन्।

२०७९–८० को तुलनामा २०८०–८१ मा २९ हजार ९३० अर्थात् ३.८८ प्रतिशतले घटेको हो।

अघिल्लो वर्षको तुलनामा किन घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या?

वैदेशिक रोजगार विभागका निर्देशक गुरूदत्त सुवेदी मलेसियाले आप्रवासी श्रमिक लैजान बन्द गरेका कारण पनि संख्यामा केही कमी आएको बताउँछन्।

आर्थिक वर्ष २०७९–८० मा पनि मलेसिया धेरै श्रमिक मलेसिया गएका थिए। मलेसियाका लागि दुई लाख ५९ हजार ५९४ जनाले श्रम स्वीकृति लिएका थिए। यो कुल संख्याको ३३.६५ प्रतिशत थियो।

तर, यतिबेला मलेसियाले आप्रवासी श्रमिक लिएको छैन। कुल श्रमिकको १५ प्रतिशत मात्रै आप्रवासी श्रमिक राख्ने नीतिका कारण मलेसियाले २०२३ मार्चदेखि नै विदेशी कामदारको भर्नामा रोक लगाएको हो। जसले गर्दा नै श्रम स्वीकृतिमा कमी आएको उनको भनाइ छ।

मलेसियाले अब कहिलेदेखि लैजाने भन्ने निर्णय गरिसकेको छैन।

'अहिले बरू थोरै श्रमिक पठाउने तर सुरक्षित र राम्रो कमाइ हुने मुलुकमा पठाउने भन्ने पनि छ। सीपयुक्त श्रमिक पठाउनेतिर पनि जोड दिन थालिएको छ, जसले गर्दा पनि कमी आएको हुन सक्छ,' निर्देशक सुवेदीले भने।

उनले आन्तरिक श्रम बजारमै पनि रोजगारीका सम्भावना बढ्दै गएका कारण पनि जानेको संख्यामा कमी आएको बताए।

म्यानपावर व्यवसायी ऋषि शर्मा अघिल्ला वर्षहरूमा वैदेशिक रोजगारीमा जाने अनि फर्किहाल्ने र पुनः श्रम स्वीकृति लिने गर्दा वैदेशिक रोजगारीमा जानेको संख्या धैरै जस्तो देखिएको बताउँछन्।

'अहिले पनि त्यस्तो घटेको छैन। प्रविधिको जमाना छ। भिडिओबाट कुरा गर्दा नजिकै भएजस्तो महसुस हुँदा पनि गएर फर्किहाल्ने धेरै छैनन्। जसले गर्दा कमी भएको जस्तो देखिएको हो,' उनले भने।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०७९–८० मा वैदेशिक रोजगारमा जानेको संख्या आर्थिक वर्ष २०६५–६६ यताकै उच्च थियो।

आर्थिक वर्ष २०६५–६६ मा दुई लाख १९ हजार ९६५ जना गएका थिए।

२०६६–६७ मा दुई लाख ९४ हजार ९४ जना, २०६७/६८ मा तीन लाख ५४ हजार ७१६ जना र २०६८–६९ मा तीन लाख ८४ हजार ६६५ जना विदेशिएका थिए।

आर्थिक वर्ष २०६९–७० मा यो संख्या बढेर चार लाख ५० हजार ८८९ पुगेको थियो। २०७०–७१ मा पाँच लाख २७ हजार ८१४ ले श्रम स्वीकृति लिएका थिए।

२०७१–७२ मा भने यो संख्या केही घटेको थियो। उक्त वर्ष चार लाख ९९ हजार १०२ युवा कामको खोजीमा विदेशिए।

त्यसपछि भूकम्पका कारण वैदेशिक रोजगारमा जानेको संख्या घटेको थियो। आर्थिक वर्ष २०७२–७३ मा चार लाख तीन हजार १७४ जना, २०७३–७४ मा तीन लाख ८३ हजार ४९३ र २०७४–७५ तीन लाख ५४ हजार ८२ जना विदेशिएका थिए।

आर्थिक वर्ष २०७५–७६ संख्या अझ घट्न थालेको देखिन्छ। उक्त वर्ष दुई लाख ३६ हजार २०८ जना कामको खोजीमा विदेश पुगेको देखिन्छ।

२०७६–७७ कोभिड महामारीका कारण वैदेशिक रोजगारमा जानेको संख्या अझै धेरै घट्यो। उक्त वर्ष एक लाख ९० हजार ४५३ जना कामको खोजीमा विदेशिए। २०७७–७८ कोभिडको प्रभाव अझ देखियो। उक्त वर्ष ७२ हजार ८१ जना मात्रै गएका थिए।

२०७८–७९ मा कोभिड महामारीको अवस्था केही सामान्य बन्दै गएपछि भने विदेश जानेको संख्या अत्यधिक देखिएको ‍हो। २०७८–७९ मा ६ लाख ३० हजार ९७ युवा कामको खोजीमा विदेशिएका थिए। त्यसयताका वर्षमा ७ लाख नाघ्न थालेको हो।

Published on: 18 July 2024 | Setopati

Link

Back to list

;