s

किल्लाबस्तीका विपन्न : स्थानीय तहको सूचीमा छन्, तर राहत पाएनन्

चिरञ्जीवी घिमिरे

 

झापाको कचनकवल– ५ किल्लाबस्तीका विशाल गणेश बनियानीस्थित एक होटेलमा काम गर्थे । लकडाउनपछि उनको काम बन्द भयो । ६ जनाको परिवार पाल्ने जिम्मेवारी विशालमै छ । तर, उनको घरमा यतिवेला चामल छैन । के खाने भन्ने चिन्ताले सताएको छ, उनलाई ।

‘चामल सकिएर बिजोग भएको छ । तीन दिन त पेट बाँधेर बसियो । नानी रुन्थ्यो । उसलाई गाउँमा मागेर खुवाएँ,’ उनी भन्छन्, ‘तीन दिनपछि गाउँमा पैँचो मागेँ । अहिले दिनमा एक छाक त्यही खाँदै छौँ ।’ 

गाउँपालिकाले उनको नाम टिपेर लगेको छ । मेची खोलाबाट विस्थापित उनी कचनकवल गाउँपालिकाको अतिविपन्नको सूचीमा छन् । तर, उनले अहिलेसम्म पहिलो चरणको राहत पनि पाएका छैनन् । ‘अरू ठाउँमा राहत दिइयो । हाम्रोमा चाहिँ किन आएन ?’ उनी भन्छन्, ‘वडाध्यक्षलाई भन्यो आउँछ, तिमीहरूको नाम राखेको छ भन्छन् । कि काम दिनुपर्‍यो कि खाना दिनुपर्‍यो । हाेइन भने बाध्य भएर काम खोज्न जान्छौँ ।’ 

त्यही ठाउँका सुकुम्बासी कारिममुदिन मियाँको घर यही वेला हावाले भत्काइदियो । घरमा खाने कुरा नभएका सुकुम्बासी मियाँलाई घर बनाउने चटारो छ । घरमा आठजनाको परिवार छ । कमाउने उनी एकजना मात्र । दिनदिनै पानी परिरहेको छ । अहिले उनी घर बनाउने कि खानेकुरा खोज्न जाने ? दोधारमा छन् । 

‘म सिटी चलाउँछु । त्यो त ल्यायो, खायो सक्याे मात्र हुन्छ । अहिले घरमा केही छैन । आठजनाको परिवार छ । काम नहुँदा खान धौ–धौ पर्‍यो,’ उनले भने, ‘गाउँपालिकाले हेर्दैन रोगले भन्दा भोकले मार्‍यो ।’ 

भारतीय सीमासँग जोडिएको यो किल्लाबस्तीमा मेचीनदी विस्थापितहरू बसोवास गर्छन् । सीमामै बसोवास गर्ने भएकाले होला, उनीहरू राज्यको नजरबाहिरै छन् । यो बस्तीमा गनगाईं, मुस्लिम, सतार, माझी, राजवंशीलगायत विपन्नको बसोवास छ । उनीहरू भूमिहीन सुकुम्बासी हुन् । उनीहरू दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका छन् । तर, लकडाउनले अहिले उनीहरू कामविहीन भएका छन् । 

गाउँपालिकाको तथ्यांकअनुसार त्यहाँ एक सय ७५ घरधुरी छन् । तीमध्ये एक सय ४१ घरपरिवारलाई साँझ–बिहान के खाने भन्ने चिन्ता रहेको वडा कार्यालयले जनाएको छ । उनीहरूको नाम राहत पाउने लिस्टमा छ । तर, अहिलेसम्म पहिलो चरणको राहत पनि पाएका छैनन् । एक महिना लामो लकडाउन हुँदा के खाने भन्ने चिन्तामा छन् स्थानीय । 

‘एक-दुई दिन घरमा काम नहुँदा त खाना मुस्किल हुने हामीलाई यत्रो दिन काम गर्न नपाउँदा कस्तो भयो होला ?’ कैमुदिन मियाँले भने, ‘घरमा चुलो बल्न छाड्यो । एकपटक वडाका मान्छे नाम टिप्न आए । त्यहाँदेखि छैन । नेता त के छ भनेर हेर्न पनि आएनन् । भोटको वेला पो आउने रहेछन् त !’ 

उक्त ठाउँका विपन्नलाई राहत दिन नसकिएको कचनकवल– ५ का वडाध्यक्ष महेशलाल गणेश स्वीकार गर्छन् । त्यहाँ सबै हुँदा खाने अवस्थामा भए पनि सीमित स्रोतका कारण राहत उपलब्ध गराउन नसकिएको उनले बताए । ‘एक सय ४१ परिवारलाई तत्काल राहत चाहिएको छ । तर, मेरो वडामा जम्मा एक हजार जति राहत दिनुपर्ने छन्,’ उनले भने, ‘गाउँपालिकाले सबै वडामा पाँच सय परिवारलाई मात्र राहत पठायो । पाँच सय परिवारलाई बाँडियो । उनीहरू छुटे । बाँडेका पनि सकियो भन्दै गुनासो गर्छन् । तर, पहिलो चरणमा त पुगेको छैन । दोस्रो चरणमा दिन सक्ने क्षमता छैन ।’ उनले पहिलो चरणमा राहत पाउन छुटेकाका लागि गाउँपालिकाले केही दिनभित्र पुनः राहत बाँड्ने प्रतिबद्धता जनाए ।

Published on: 27 April 2020 | Nayapatrika

Link

Back to list

;