s

ख्यालख्यालमै गुम्यो रोजगारी

करिब अढाई सय वर्षअघि युरोपमा मजदुरले सशक्त क्रान्ति गरी आफ्नो हक अधिकार, आत्मसम्मान र सुरक्षाको ग्यारेन्टी गर्न बाध्य पारेका थिए । 

त्यसयता विश्वका धेरै मुलुकमा (अपवादबाहेक) मजदुरलाई 'दास’ ठान्ने प्रवृत्ति हटिसकेको छ । लगानीकर्ताले सकभर मजदुरलाई 'साथीँ व्यवहार गर्दै सन्तुष्ट बनाएर उत्पादन बढाई नाफा वृद्धि गर्ने परिपाटी बढ्दै गएको छ । तर नेपालजस्तो 'अर्ध कम्युनिस्ट' मुलुकमा जति नै राम्रो गरे पनि उद्योगपतिलाई 'सामन्ती शोषक' का रूपमा हेर्ने प्रवृत्ति घटेको छैन । भोट बैंकको कारोबार गर्ने राजनीतिक दलले मजदुरलाई 'आकाश जमिन' का आशा देखाएर उद्योगपतिसँगको दूरी बढाउने काम गरेका छन् । यसैको चपेटमा पर्योा सूर्य नेपालको गार्मेन्ट । मुलुकमा भएको बहुराष्ट्रिय कम्पनी बाहिरिँदा मजदुरले के पाए ? खोजिनिती गर्दै माधव घिमिरे/लीलावल्लभ घिमिरे -
 
सुनसरी झुम्काका छत्रबहादुर श्रेष्ठ टंकिसनबारी नेरको सूर्य गार्मेन्ट नजिक पुग्दा निकै भावुक हुन्छन् । करिब चार महिनाअघिसम्म सडक छेवैको सूर्य गार्मेन्ट्समा काम गर्ने श्रेष्ठ यतिखेर गार्मेन्ट छेवैको सडकमा गुड्ने गाडीका सहचालक भएका छन् । उनले काम गर्ने सूर्य गार्मेन्ट्सले गत साता सधैंका लागि बन्द गर्ने निर्णय गरेपछि उनको दैनिकी फेरिएको हो । 
 
उनीसँगै काम गर्ने श्रीमती डम्बरकुमारी श्रेष्ठ पनि बेरोजगार भएकी छन् । दसैंको मुखमा एकमुष्ट २९ हजार ८ यस रुपैयाँ पाएर काम छाडेकी डम्बरकुमारीको दैनिकी पनि चुलाचौकीमै सीमित भएको छ । 'एकै ठाउँ दुवैले काम गर्दाको अवस्था बेग्लै थियो,' छत्र भन्छन्, 'दसैंको मुखमा आएर कामबाट बिदा हुनुपरेको छ ।' डम्बरकुमारी र छत्र ८ वर्षदेखि सँगै काम गर्दै आएका थिए । 
 
२०६० सालदेखि गार्मेन्ट उद्योगमा काम गर्न थालेका छत्रबहादुर र डम्बरकुमारीको भेट उद्योगमै भएको थियो । काम गर्दाकै क्रममा मन मिल्यो र एक अर्कालाई जीवनसाथी रोजे । 'काम मात्र होइन,' डम्बरकुमारी भन्छिन्, 'यही उद्योगमा काम गर्दागर्दै घरजम पनि भयो, अहिले आएर छुट्टएिझैं भएको छ ।'
 
एसएललसीसम्म पढेर 'घर चलाउन' जागिरको खोजीमा विराटनगर पसेका छत्रबहादुरले यही उद्योगमा काम गर्दागर्दै घरको ऋण तिरे, आमाको औषधिउपचार गरे अनि आफ्नो बिहे गरे र भाइलाई स्नातकसम्म पढाए । दुवैको मासिक कमाइ १० हजारभन्दा बढी थियो ।
 
ओमप्रकाश ढकाल र रञ्जु ढकालको पनि श्रेष्ठ दम्पतीकै जस्तो अवस्था छ । उद्योग बन्द भएपछि के गर्ने भन्ने अन्योल भएको उनीहरू बताउँछन् । 'के भन्ने खै, काम गरिरहेको उद्योग ख्यालख्यालमै बन्द भयो,' ओमप्रकाश भन्छन्, 'भन्नेबित्तिकै अन्त जागिर पाइने होइन, समस्यामा परियो ।'
 
सूर्य गार्मेन्टमा रहेका ६ सयभन्दा बढी कामदारमध्ये झन्डै २५ दम्पतीले सँगै काम गर्दै आएका थिए । यी दम्पती जीविका अरूको भन्दा थप कष्टकर हुने देखिएको छ । मोरङ-सुनसरी औद्योगिक क्षेत्रका अन्य उद्योगको तुलनामा रोजगारीका लागि निकै आकर्षक मानिएको उद्योग यसरी बन्द होला भन्ने नसोचेको उनीहरू बताउँछन् । टे्रड युनियनहरूले 'जायज कुरामा मात्र आन्दोलन गर्नुपर्ने' उनीहरूको सुझाव छ ।
 
तर लामो समयको विवादपछि मजदुरहरूलाई एकमुष्ट २९ हजार ८ सय रुपैयाँ भुक्तानी गरेर व्यवस्थापन पक्षले औपचारिक रूपमा उद्योग बन्द गरेको छ । उद्योग स्थापना भएपछि आसपास क्षेत्रका झन्डै ५ सय महिलाले रोजगारी पाएका थिए । महिलाका लागि सजिलो काम भएकाले यो आकर्षक उद्योग थियो । 
 
मजदुरको सहमतिपछि उद्योग औपचारिक रूपमा बन्द भएको हो । सहमतिअनुसार करिब ४ सय ५० मजदुरले एकमुष्ट २९ हजार ८ सय रुपैयाँका दरले बुझेका छन् । उद्योग सधैंका लागि बन्द गर्ने सहमतिपछि सबै मजदुरलाई तीन महिनाको बढेको तलब ४ हजार ८ सय र एकमुष्ट थप २५ हजार रुपैयाँ वितरण गरिएको हो ।
 
उद्योगका व्यवस्थापक अवधेशकुमार झाका अनुसार दुई पक्षबीच गार्मेन्ट उद्योग भएको स्थानमा त्यस्तै अर्को स्थापना गरिए हालका मजदुरलाई प्राथमिकतामा रोजगारी दिने सहमति भएको छ । 'कुनै पनि हालतमा उद्योग पुनः सञ्चालन गर्न सक्ने अवस्था भएन,' सूर्य नेपालका उपाध्यक्ष रवि केसी भन्छन्, 'त्यसैले बन्द गर्ने निर्णय भएको हो, बरु त्यही ठाउँमा अर्को उद्योग खोल्न सकिन्छ ।' 
 
यसबीचमा उद्योग खुलाउने माग गर्दै केही टे्रड युनियनको अगुवाइमा आन्दोलन समेत भएको थियो । तर आन्दोलन 'व्यवस्थित हुन नसकेको' समझदारीपूर्ण छलफल नभएकोजस्ता टिप्पणी यसबीच भए । टे्रड युनियन कांग्रेस मोरङका अध्यक्ष गोपाल शर्मा केही टे्रड युनियनको हठ र असमझदारीले उद्योग बन्द भएको बताउँछन् । 'उद्योग बन्द भयो, धेरै कामदार बेरोजगार भए, यो राम्रो होइन,' उनी भन्छन्, 'केही टे्रड युनियनको जबर्जस्तीले बन्द भएको हो, यसबाट सबैले पाठ सिक्नुपर्छ ।'
 
गत चैत महिनामा विभिन्न दलसम्बद्ध संगठनहरूले गरेको हडतालका बेलाको पारिश्रमिक पाउनुपर्ने माग गर्दै मजदुरहरूले धर्ना दिँदै आएका थिए । माग सुनुवाइ नभएको भन्दै उनीहरूले जेठको अन्तिम दिन कारखानामै उद्योगका ४० भन्दा बढी कर्मचारीलाई थुनेका थिए । भोलिपल्ट प्रहरीले बल प्रयोग गरी उनीहरूलाई मुक्त गराएको थियो । उद्योग कार्यालयमा तोडफोड समेत भएको थियो ।
 
यो घटनापछि असुरक्षा भएको र सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै व्यवस्थापन आफैंले ताला लगाएर उद्योग असार सुरुदेखि बन्दै गर्दै आएको थियो । यसबीच पटकपटक टे्रड युनियन, मजदुर प्रतिनिधि र उद्योग व्यवस्थापनबीच वार्ता भए पनि सहमति जुट्न सकेन । अन्ततः मजदुरले पाउनुपर्ने रकम दिएर व्यवस्थापनले सदाका लागि उद्योग बन्द गर्यो।  
 
उद्योगले पूर्ण क्षमतामा चल्दा करिब ४ हजार सर्ट उत्पादन गर्दै आएको थियो । बन्द हुनुअघि  दैनिक करिब १८ सय वटा सर्ट उत्पादन गर्दै आएको थियो । करिब ६० करोड लागतमा सात वर्षअघि सुरु भएको उद्योगको उत्पादन अमेरिका, भारत, इटाली, फ्रान्स लगायत मुलुक निकासी हुन्थ्यो ।
 
सात वर्षयता सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा श्रमिकलगायत समस्याले दुई दर्जनभन्दा बढी उद्योग बन्द भएका छन् । तिनमा काम गर्ने करिब २० हजार मजदुरले रोजगारी गुमाएका छन् । औद्योगिक क्षेत्रका गार्मेन्ट, घिउ, जुट, कर्कटपातालगायत उद्याोग बन्द भएका हुन् । जेडी एपरल्स गार्मेन्ट बन्द हुँदा करिब १५ सयले रोजगारी गुमाए । इजी वायर उद्योगका ७ सय महिलाको रोजगारी गुम्यो ।
यस्तै युलाइक गार्मेन्ट, युनिक, सांगि्रला एपरल्स, केटिएम क्वालिटीलगायत उद्योग बन्द भएका छन् । रोजगारी गुमाउनेमा अधिकांश महिला छन् । उद्योग बन्द भएपछि धेरैजसो पुरुष रोजगारीका लागि विदेश पलायन भएका छन् भने अधिकांश महिला घरकै काममा सीमित भएका छन् ।
 
अधिकांश उद्योग मजदुर समस्याका कारण बन्द भएको उद्योगीको दाबी छ । मजदुर संगठनका नेताचाहिँ उद्योगीले आफूखुसी बन्द गरेको आरोप लगाउँछन् । 'उद्योग बन्द हुनुमा मजदुर मात्र दोषी होइनन्,' माओवादीनिकट टे्रड युनियनका नेता तेजलाल कर्ण भन्छन्, 'उद्योगी पनि जिम्मेवार छ ।'
 
Published on: 24 September 2011 | Kantipur

Back to list

;