s

‘खुट्टा होइन, मन धेरै पोलेको छ’

दुर्गालाल केसी, सन्जु पौडेल

दाङ/रूपन्देही — पाँच दिनअघि पोखराबाट पैदल यात्रा सुरु गर्दा खुसीराम चौधरी बाटामा खाना नमिल्ने र दुःख पाइनेमा जानकार थिए । यस्ता समस्या झेल्दै उनी मंगलबार बिहान ४ बजे रूपन्देही आइपुगे । त्यही बेला उनले हजुरबुबा जुगरामको मृत्युको खबर सुने । उनी तत्कालै घर पुग्न चाहन्थे । केही उपाय लागेन ।

‘खुट्टाको दुखाइ कम हुँदै जाला तर अहिले मन धेरै पोलेको छ,’ बुधबार उनले भने, ‘के भन्नु र। केही कुरा छैन।’ मंगलबार घरबाट निरन्तर फोन आयो। जसरी पनि आइपुग्नु मात्रै भनियो। अन्ततः कुराकानी गर्दागर्दै मोबाइलको ब्याट्री सकियो। त्यसपछि के भयो उनलाई थाहा छैन।

कैलालीको टीकापुर नगरपालिका–१, शक्तिनगरको मुक्तकमैया शिविरस्थित घरमा उनकी आमा, श्रीमती, भाइ र एक वर्षका छोरा बस्छन्। बुबाको चार वर्षअघि नै मृत्यु भइसकेको छ। त्यसैले हजुरबुबाको अन्त्येष्टिमा पुग्न दबाब थियो। बुधबार दिउँसोसम्म उनी दाङमै थिए। अझै कति दिनमा घर पुगिने हो, थाहा छैन। मुक्तकमैया परिवार भएकाले पर्याप्त जग्गाजमिन छैन। उनका हजुरबुबा र बुबाले कमैया बसेरै जीवन बिताए। उनले भने मजदुरी रोजे। 

घर निर्माणका काममा मजदुरी गर्न तीन महिनाअघि पोखरा गएका थिए। ‘लकडाउन सकिएपछि जाउँला भन्दाभन्दै धेरै दिन बित्यो,’ उनले भने, ‘भएको खाएर सकियो।’ त्यसपछि १५ जना साथीहरूसँग पैदल यात्रा थाले। संकटका बेला उनी पूर्व–पश्चिम राजमार्गमा भोकभोकै हिँडिरहेका छन्।

टीकापुर–६ नारायणपुरका २९ वर्षीय विजय चौधरी पनि खुसीरामसँगै यात्रामा छन्। काम रोकिएपछि घर फर्किन थालेका हुन्। उनको पनि जग्गा छैन। अधियाँमा खेती लगाउँछन्। खेतीपाती सकेर काम खोज्न जान्छन्। बाली भित्र्याउने बेला घर फर्किन्छन्। गहुँ भित्र्याउने यो बेला घरमा कोही छैन। ‘गहुँ सुकेर बारीमै झर्न थाल्यो रे,’ उनले दुखेसो सुनाए, ‘बुढा बा–आमा कतिबेला पुग्छौ भन्दै रुन्छन्। आफ्नो हालत यस्तो छ।’ 

उनका तीनै भाइ मजदुरी गर्छन्। दुई भाइ काठमाडौंमा थिए। कान्छो भाइ आशाराम १० दिनअघि काठमाडौंबाट हिँडेका हुन्। अहिलेसम्म सम्पर्क भएको छैन। मोबाइल स्विच अफ छ। माइलो भाइ उतै छन्। उनी खर्च नभएर काठमाडौंमा रोकिएका हुन्। ‘कतिबेला घर पुगुँलाजस्तो भएको छ,’ केहीको मौनतापछि उनले भने, ‘मन आत्तिएर नहुने।’ 

कोरोनाभन्दा घरको सुर्ताले ज्यान जाने अवस्था आएको उनले बताए। ‘कोरोनाको के कुरा, हिँडेरै मर्ने अवस्था भइसक्यो,’ उनको आवाजमा आक्रोश मिसिएको स्पष्ट हुन्थ्यो। बाटामा भेटिएका नेताहरूलाई ‘घर जाने व्यवस्था गरिदेऊ’ भन्दा कसैले नसुनेको उनले बताए। 

उनीहरू जस्तै मजदुरी गरेर गुजारा चलाउने धेरै अहिले घर फर्कने क्रममा छन्। लकडाउनका कारण लामो दूरी हिँडेर कटाइरहेका छन्। बाटामा खाने, बस्ने व्यवस्था छैन। भोकभोकै हिँडिरहेका मजदुरका मन दुख्ने भोगाइ छन्। बर्दियाको ठाकुरबाबा–५, बगनाहाका ५० वर्षीय रामप्रसाद थारू पोखराबाट पाँच दिन हिँडेर बुधबार दिउँसो लमहीस्थित अर्जुनखोला आइपुगे। उनका साथमा खानेकुरा केही थिएन। भोकै हिँडिरहेका बेला सानो होटल खुलेको देखे। 

चाउचाउ पकाइदिन अनुरोध गरे। होटल सञ्चालकले प्याज काटेर चाउचाउ पकाउन सुरु गरिन्। त्यही बेला एक पुरुष आएर ‘बटुवालाई खुवाउने होइन, खतरा हुन्छ’ भन्दै पकाउने सामान खोसे। अनि ढोका बन्द गरे। ‘यस्तो भएपछि कसको मन दुख्दैन,’ रामप्रसादले भने, ‘अपमान सहेर हिँडिरहेका छौं।’ रोगले भन्दा भोकले मर्ने दिन आएको बताएपछि उनले थप केही बोल्न चाहेनन्। 

‘चालकको न प्रहरीको, कसैको मन फर्किएन’ 

बर्दियाकै ठाकुरबाबा–६, बकुवाका २९ वर्षीय हरिलाल चौधरी काठमाडौंमा मजदुरी गर्थे। लकडाउनपछि काम बन्द भयो। केही दिन ठेकेदारले खुवाए। त्यसपछि खुवाउन नसक्ने भनेर घर पठाइदिए। उनी नौ दिन हिँडेर बुधबार लमही आइपुगेका हुन्। ‘काम गरेको पैसा पाइएको छैन। अलिकति दिएको बाटो खर्च पनि सकियो,’ उनले भने, ‘अब खानेकुरा केही छैन।’ 

बाटामा केही सहयोगीले चाउचाउ र चिउरा दिए। केही ठाउँमा खाना खुवाउने भेटिए। ‘कसैले खुवाए, खाइयो, नत्र भोकै हिँडियो,’ उनले थपे। बाटामा पसल र घर बन्द छन्। कोही निस्कँदैन। दिउँसो गर्मी बढ्दै छ। हिँड्न समस्या छ। रातिमा चिसो हुने भएकाले धेरै हिँड्ने गरेको उनले सुनाए। 

‘निद्रा थेग्दासम्म हिँड्छौं। धेरै गाह्रो भयो भने सडक किनारमै सुत्छौं,’ निधार खुम्च्याउँदै उनले बह पोखे, ‘फेरि राति १ बजेतिर उठेर हिँड्न थाल्छौं।’ सडकमा ट्रक गुडिरहेको देख्यो भने रोक्छन् कि भन्ने आश लाग्नेगरेको उनले सुनाए। तर, हालसम्म न कुनै चालकको मन फर्किएको छ, न प्रहरीकै। 

कञ्चनपुरको लालझाडी–१ विनबारीका २५ वर्षीय प्रवेश राना काठमाडौंको धोबीघाटस्थित एक कम्पनीमा काम गर्थे। काम बन्द भयो। केही दिन कम्पनीले खाना दियो। लकडाउन लम्बिन थालेपछि समस्या भयो। त्यसपछि गाउँकै साथीसँग पैदल घरतिर हिँडे। 

बाटामा कतै ट्रक चढ्दै, कतै हिँड्दै उनी सात दिनमा दाङको लमही आइपुगेका छन्। ‘कम्पनीले काम गरेको सबै पैसा पनि दिएको छैन। लकडाउन खुलेपछि पठाइदिन्छु भनेको छ,’ उनले भने, ‘केही बाटो खर्च दिएको थियो। त्यसकै भरमा हिँडिरहेका छौं।’ उनको समूहमा पश्चिम नेपालका ५० जना छन्। कोही अघि त कोही पछि हिँडिरहेका छन्। 

हिँड्दाहिँड्दै मरिने चिन्ता 

पिठ्यूँमा बोकेकी तीन वर्षकी सानी छोरीलाई घाम छेक्न छाता ओढाएर बुधबार दिउँसो रूपन्देहीको बुटवलस्थित चौराहाबाट अगाडि बढेका प्रकाश नेपालीको गन्तव्य दाङसम्म हो। उनीसँगै श्रीमती, भाइ र आमाबुबा पनि हिँडिरहेका छन्। काठमाडौंको एक इँटाभट्टामा कार्यरत उनको परिवार लकडाउन खुल्ने आशमा केही दिन अड्कियो। ‘तर, झन् थपियो। घरमा बहिनी एक्लै छोडेर सबै जना कमाउन गएको, केही न केही भयो,’ उनले दुःख पोखे। 

आफू दलित समुदायको भएकाले गाउँमा केही काम नपाइने र खान लाउन समस्या भएपछि काठमाडौं गएको उनको भनाइ छ। घाउ भएका कारण केही महिनाअघि चितवनको भरतपुर पुगेर खुट्टाको शल्यक्रिया गरेका उनलाई हिँड्न समस्या भइरहेको थियो। गाउँमा बारीमा गहुँ पाकेपछि बहिनीले तारन्तार फोन गरिरहेकी छन्। गाडी नपाएपछि हिँडेरै आएको उनले बताए। 

गत चैत २९ देखि काठमाडौंबाट हिँडेका उनीहरू बुधबार दिउँसो बुटवल आइपुगेका छन्। धादिङको गल्छीबाट नारायणगढसम्म ट्रकमा आएपछि केही राहत भएको प्रकाशका बुबा कृष्णबहादुरले बताए। 

‘चितवनबाट हिँडेरै आयौं,’ उनले भने, ‘मंगलबार राति पानीले नराम्ररी चुट्यो।’ ओत लाउन मिल्ने ठाउँ नपाएर कष्ट खेपेको उनले सुनाए। रातारात पश्चिम नवलपरासीको दाउन्नेसम्म आए। त्यहाँ बच्चा बोकेर हिँड्न नसकेको प्रहरीसित दुखेसो गरे। प्रहरीले गाडीमा चढाएर बुटवलसम्म पठायो। 

कृष्ण विगत १५ वर्षदेखि इँटाभट्टामा काम गरिरहेका छन्। उनीहरूसँग अन्य चार जना पनि थिए। यहाँ आएर एउटा प्रतीक्षालय छेउमा बसे। लामो श्वास फेरे। उनीहरूले रोगले भन्दा हिँड्दाहिँड्दै सडकमै मर्ने चिन्ता लागेको दुखेसो पोखे। प्रकाशकी आमा सावित्रा खुट्टा समाएर रोइरहेकी थिइन्। 

‘खुट्टा सुन्नियो,’ आँसु पुछ्दै उनले भनिन्, ‘गरिबीले मर्नु न बाँच्नु बनायो।’ इँटाभट्टा साहुले दाल, चामल दिन्छु, बस भने पनि घरमा एक्ली छोरी र वर्षभरि खाने अन्न थन्क्याउन हिँडेको उनले सुनाइन्। 

पाल्पाको बर्तुङमा घर बनाउने मिस्त्रीको काम गरिरहेका राजु घर्तीले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफू र अन्य आठ जना बर्दिया जानका लागि हिँडेको र बुटवलमा कसैले खाना खुवाउन सहयोग गरेमा आभार हुने स्टाटस राखे। 

उनको स्टाटस पढेर श्री सत्य साई केन्द्र बुटवलले खाना खुवाउने जिम्मा लियो। राजुका साथमा श्रीमती राधी, दुई सन्तान र अन्य पाँच जना छन्। उनीहरू सोही दिन बिहान ५ बजे बर्तुङबाट हिँडेका हुन्। ६ वर्षदेखि राजुका दम्पती घर बनाउने काम गर्छन्। दैनिक एक हजार रूपैयाँ कमाइ हुन्थ्यो। राधीले ६ सय रूपैयाँ छुट्टै कमाउँथिन्। छोराछोरी स्कुल पढ्थे। 

‘काम गरिरहेका थियौं तर सामान पाइन छोडेपछि काम रोकियो,’ उनले भनिन्। कमाएको पैसाजति लकडाउन खुल्ने आशामा सकिएपछि घर हिँड्नुपरेको उनले बताइन्। पाँच वर्षीया छोरीलाई पालैपालो बोकेर ल्याएको उनको भनाइ छ। समूहमा रहेका सबै एकै ठाउँका हुन्। 

उक्त समूहका वृद्ध अल्लु चौधरी लौराका सहारामा हिँडिरहेका थिए। ‘बल्ल बल्ल हिँडेको छु। मेरो हिँडाइले अरूलाई पनि ढिलो बनाएको छ,’ उनले सुनाए। अल्लुलाई उच्च रक्तचापको समस्या छ। उनी अरूजस्तो फटाफट हिँड्न सक्दैनन्। 

सिद्धार्थ राजमार्गको केराबारीसम्म आएपछि एउटा ट्रकले उनीहरूलाई बुटवलसम्म ल्याइदिएको थियो। मध्यान्ह बुटवल आएका उनीहरूलाई गोलपार्कमा सत्य साई केन्द्र बुटवलका सदस्यले खाना खुवाए। खाना खाएपछि उनीहरू हिँडेरै गन्तव्यतर्फ अघि बढे। 

अहिले बुटवलको नेपालगन्ज रोडमा दिनहुँ यस्ता यात्री आएर रोकिने गरेका छन्। त्यहाँबाट प्रहरी, सरकारी निकाय र नगरपालिकाको सहयोगमा साधन पाए घर जाने आशा उनीहरूको हुन्छ तर बुटवलबाट अन्यत्र जानका लागि न त मानिसलाई सहजै साधनको व्यवस्था हुन सकेको छ, न सम्बन्धित निकायले चासो दिएका छन्। कैयौंपटक मजदुर अलपत्र परेको र सहयोगको खाँचो औंल्याउँदासमेत स्थानीय तह मौन रहेको मजदुर सहयोगमा खटिएका एक युवाले सुनाए। 

‘यसरी देशका विभिन्न जिल्लामा काम गर्न गएका बर्दिया, कैलाली, दाङ, रोल्पाका मजदुरलाई सडकमा देख्नासाथ साधनको व्यवस्था गरेर घर पठाउने जिम्मेवारी सरकारले गर्न नसके यी मानिसले भोलिका दिनमा सरकार र राजनीतिक दलबाट गरेको झिनो आशा पनि मेटिने निश्चित छ,’ नाम नबताउने सर्तमा उनले भने। 

घटे सहयोगी 

हिँड्दै आएका मजदुरलाई सडकमा सहयोग गर्ने पनि बिस्तारै घट्दै गएका छन्। सुरुमा केही ठाउँमा निःशुल्क खुवाए। कसैले गाडीको व्यवस्था गरेर पठाए तर अहिले यस्ता सहयोगी घटेका छन्। टाढाबाट आएका व्यक्तिबाट कोरोना संक्रमण सर्ने चिन्ताले सहयोग कम हुँदै गएको उनीहरू बताउँछन्। 

लकडाउनको सुरुमा मजदुरलाई खाने र घरतिर पठाउने व्यवस्था गरे पनि लामो समय यो सम्भव हुन नसकेको दाङको भालुबाङ उद्योग वाणिज्य संघका अध्यक्ष जगत पोखरेलले बताए। बजारमा भीड हुँदा स्थानीयले असुरक्षित ठान्ने गरेको उनले सुनाए। उनका अनुसार बुधबार एकैसाथ ९४ जनाको समूह पश्चिमतर्फ लागेको छ। 

देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले अहिलेसम्म एक हजार ५ सयभन्दा बढीलाई आफ्नै ट्रकमा राखेर घरतर्फ पठाए तर अब सरकारले नै यस्ता काम नगर्न भनेपछि उनी अलमलमा परेका छन्। 

‘सरकारले जो जहाँ छ, त्यहीँ रोक्ने भनेकाले हामीलाई गाडीको व्यवस्था गर्न कठिन भएको छ। मानिसहरू बाटामा अलपत्र पर्ने भए,’ उनले भने, ‘यो त छाडा छोडेजस्तो भयो। कि त रोक्नुपर्‍यो, हिँड्नै दिनुभएन। हिँडिसकेपछि केही व्यवस्था गर्नुपर्‍यो।’ मानिसहरू बाटामा भोकभोकै परेको र दुःख पाएको देख्दा सहयोग गर्न खोजे पनि नसक्ने अवस्था आएको उनले बताए। बुधबार मात्रै लमहीबाट ३२ जनालाई खाद्यान्न बोक्ने ट्रकमा पश्चिमतर्फ पठाएको श्रेष्ठले जानकारी दिए।

Published on: 16 April 2020 | Kantipur

Link

Back to list

;