s

खुल्यो ताक्लाकोट

चिनियाँ युवतीको हत्या भएपछि केही दिनयता बन्द रहेको तिब्बतको ताक्लाकोट शुक्रबारदेखि खुलेको छ । हत्यामा नेपाली युवा संलग्न रहेको भन्दै चीनले त्यहाँ रहेका नेपालीलाई फिर्ता पठाउनुका साथै आउजाउमा रोक लगाएको थियो ।

गत साता मात्रै करिब ४ सय नेपाली फिर्ता भएका थिए । हत्या आरोपमा चिनियाँ प्रहरीले ताक्लाकोटको पुराङबाट जेठ पहिलो साता हुम्लाको सर्केगाड गाउँपालिका–२, उनापानीका तेजबहादुर फडेरासहित चार जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई देन्छु प्रान्तस्थित कारागारमा राखिएको छ । परराष्ट्र मन्त्रालयले समस्या समाधान भइसकेको जानकारी दिएको छ । ‘आपसी संवाद र वार्ताको माध्यमबाट शुक्रबारबाटै स्थिति सहजीकरण भएको छ,’ परराष्ट्र सचिव शंकरदास वैरागीले काठमाडौंमा कान्तिपुरसँग भने । हुम्लावासीले चीन पस्न जिल्ला प्रशासन कार्यालयबाट सीमा पास लिनुपर्छ । त्यही पास लिएर उनीहरू कामका लागि ताक्लाकोट पुग्छन् । यस वर्ष जिल्ला प्रशासनबाट नयाँ र पुरानो नवीकरण गरी करिब ३ हजार ५ सयले पास लिएका छन् ।

Published on: 9 June 2019 | Kantipur

Back to list

;