s

खुलेनन् इलाम र कन्यामका बगान

विप्लव भट्टराई

४४ दिनदेखि जारी श्रमिक आन्दोलनका कारण बन्द रहेका इलामका दुईवटा चिया बगान अझै खुल्न सकेका छैनन् । मुलुककै पुरानो इलामसहित कन्याम चिया बगान सञ्चालनमा आउन नसकेका हुन् । केही दिनदेखि झापालगायत क्षेत्रका कारखाना सञ्चालनमा आएपछि यहाँ पनि आन्दोलन टुंगिने अपेक्षामा रहेका श्रमिक निरास छन् । व्यवस्थापनले ती बगानमा कम आम्दानी हुने भन्दै सरकारले तोकेको सेवा सुविधा दिन नसक्ने अडान राखेको श्रमिक नेता दीपक तामाङले बताए ।

पूर्वका अन्य चिया बगान र कारखाना क्रमशःसञ्चालनमा आउन थालेका छन् । आन्दोलनका कारण इलाम र कन्यामका तीन सय श्रमिक समस्यामा छन् । कन्याम बगानमा स्थायी र पार्टटाइमरसहित अढाइ सय कार्यरत छन् भने इलाममा ५१ रहेका छन् । चिया टिपेरै घर चलाउने बाध्यता भएका उनीहरू कष्टमा छन् । ‘सबैतिर बगान खुल्न थाले पनि हाम्रो नखुल्दा झन पीडा भएको छ,’ इलाम बगानकी सरस्वती चम्लागाईले भनिन्, ‘अधिकांश श्रमिकलाई दैनिक खर्च धान्न पनि समस्या छ ।’ अधिकांश श्रमिक छिटो समस्या समाधान गरेर बगानमा फर्कन पाइयोस् भन्ने अपेक्षामा छन् ।

सरकारले दिएको सुविधा मात्र माग गरेकाले यसलाई गम्भीर रूपमा लिइनुपर्ने कन्यामका उमेश रेग्मीले बताए । सिजन सुरु हुनासाथ थालिएको मजदुर आन्दोलनका कारण इलामका चिया बगानमा हरियो चियापत्ती हुर्केर काम नलाग्ने अवस्थामा पुगेको छ । गत वर्षको साउनमा सरकारले चिया श्रमिकको न्यूनतम पारिश्रमिक मूल्य ३ सय ८५ रुपैयाँ तोकेको थियो । अहिलेसम्म पनि दैनिक २ सय ६५ रुपैयाँमा काम गरिरहनुपरेको उनीहरूको गुनासो छ । श्रमिकहरूले साउन १ गतेदेखिकै बढेको ज्याला पाउनुपर्ने, दसैं खर्चलगायत अन्य सेवा सुविधा पाउनुपर्ने माग राखेका छन् । यता त्रिवेणी संघाई ग्रुपले भने समाधानको प्रयासमा आफूहरू रहेको जनाएको छ । पहाडी बगानमा आम्दानी कम हुने र सरकारले पनि आफूहरूसँग सल्लाह नगरी सेवा सुविधा बढाएकाले थेग्नै नसक्ने अवस्थामा पुगेको दाबी उक्त कम्पनीको छ । केही दिनभित्र समस्याको समाधान निकाल्न सकिने अध्यक्ष सुवास संघाईको भनाइ छ ।

Published on: 15 May 2019 | Kantipur

Back to list

;