s

खुल्न थाले चिया बगान

संघीय सरकारले लागू गरेको कानुन कार्यान्वयनमा स्थानीय सरकारले सहयोग पुग्ने गरी दबाब सिर्जना नगरेको आरोपल अर्जुन राजवंशी (बिर्तामोड) श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको चेतावनीपछि जिल्लामा ठूला चिया बगानहरू खुल्न थालेका छन् ।

झापाको भद्रपुरस्थित नेपाल चिया बगान उत्पादक संघका अध्यक्ष सुरेश मित्तलको घरमा धर्ना दिन भेला भएका आन्दोलनरत चिया मजदुर ।  श्रम ऐन कार्यान्वयन गर्न नसक्ने भए बगान सञ्चालकलाई लिखित रूपमा पत्र बुझाउन मन्त्री विष्टले निर्देशन दिएपछि केही ठूला चिया बगानमा काम सुचारु भएको छ । नेपाल चिया विकास निगमअन्तर्गत झापामा रहेका टोकला, बर्ने र बाह्रदशी चिया बगान तथा कारखाना आइतबारदेखि सञ्चालनमा आएका छन् । दमकमा रहेको हिमालय महालक्ष्मी टी गार्डेनमा पनि शनिबारदेखि काम सुचारु भएको छ । निगम र हिमालय महालक्ष्मीले श्रम ऐनअनुसार मजदुरलाई दैनिक ज्याला र सेवा सुविधा दिने सहमति गरेका छन् । हिमालय महालक्ष्मी टी गार्डेनले श्रम ऐन र सामाजिक सुरक्षा ऐन पूर्ण रूपमा कार्यान्वयन गर्ने सहमति गरेको छ । आन्दोलनरत नेपाल चिया बगान श्रमिक संघ, अखिल नेपाल चिया मजदुर संघ र नेपाल कृषि तथा चिया बगान श्रमिक संघसँग टी गार्डेनको व्यवस्थापन पक्षले लिखित सहमति गरेको छ ।

सहमतिअनुसार ०७५ साउन १ देखि ऐनमा उल्लेख भएको दैनिक ज्याला ३ सय ८५ दिनुपर्नेमा ९ महिनासम्म २ सय ७८ मात्रै दिँदै आएकामा दैनिक ज्यालामा फरक परेको १ सय ७ रुपैयाँका दरले कामदार तथा कर्मचारीले पाउने सम्पूर्ण बाँकी ज्याला एक वर्षभित्र किस्ता बन्दीमा भुक्तानी गर्ने सहमति भएको छ । निगमले भने ऐनअनुसार ०७५ साउनदेखि नभई काम सुचारु भएको आइतबारदेखि श्रम ऐनअनुसार दैनिक ज्याला र सेवा, सुविधा प्रदान गर्ने जनाएको छ । मजदुर हडतालका कारण निगमले करोडौंको क्षति बेहोर्नुपरेकोले साउनदेखि ऐन कार्यान्वयन गर्न नसक्ने निगमका प्रशासन प्रमुख लोकनाथ दंगालले बताए ।

जिल्लामा अब अनुदान माग गरिरहेका ठूला उद्योगीका बगान मात्र सञ्चालनमा आउन बाँकी छ । ३ हजार हेक्टरमा चिया खेती गर्दै आएका साना किसानका सबै बगानमा काम सुचारु छ । साना किसान सहकारीद्वारा सञ्चालित चारवटै कारखाना पनि सञ्चालनमा छन् । साना किसानले ट्रेड युनियनहरूसँग श्रम ऐनअनुसार ज्याला र सेवा, सुविधा दिने लिखित सहमति गरी बगान र कारखाना सञ्चालन गरिरहेका छन् । जिल्लामा अब सुरेश मित्तल, चण्डी पराजुली, छत्र गिरी, कुमार गिरी, शिव गुप्ता, गोविन्द सरिया, जेपी शर्मा, भक्ति अधिकारी, राजेन्द्रसिंह राजवंशीलगायतका ठूला बगान सञ्चालनमा आउन बाँकी छ ।

स्थानीय सरकारप्रति गुनासो

स्थानीय सरकारले श्रम ऐन कार्यान्वयन गराउन चिया उद्योगीलाई दबाब नदिएको गुनासो मजदुरहरूले गरेका छन् । भोकभोकै ४३ दिनसम्म आन्दोलन गर्दासम्म चासो नदिएको उनीहरूको आरोप छ । 'चुनावमा भोट माग्न आउँदा चिया मजदुरका सबै समस्या समाधान गर्न लागिपर्छौं भनेका थिए । आज हामी ४३ दिनसम्म सडक आन्दोलनमा रहँदासम्म उनीहरूले एक शब्द केही बोलेका छैनन्,' भद्रपुरस्थित बुधकरण टी स्टेटका मजदुर राजकुमार तामाङले भने । उनले ऐन कार्यान्वयनमा उद्योगीमाथि दबाब सिर्जना गर्न स्थानीय सरकारका कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाएको बताए ।

'आन्दोलनकै क्रममा हामीले स्थानीय तहमा धर्ना दिनुका साथै प्रमुखहरूलाई ज्ञापनपत्रसमेत बुझाउँदा पनि उहाँहरूबाट मजदुरका लागि कुनै कदम चालिएन,' तामाङले भने । बिर्तामोडस्थित गोमादेवी टी स्टेटका मजदुर राजकुमार श्रेष्ठले चुनावमा चिया मजदुरकै भोट निणर्ायक भन्दै दिनरात क्वाटर र घरमा धाउने नेताहरू अहिले नदेखिएको गुनासो गरे । 'अहिले हामीलाई समस्या पर्दा उहाँहरूले कुनै सहयोग गर्नु भएको छैन,' उनले भने । ट्रेड युनियन कांग्रेसका जिल्ला सभापति यज्ञप्रताप अधिकारीले संघीय सरकारले लागू गरेको कानुन कार्यान्वयनमा स्थानीय सरकारहरूले सहयोग पुग्ने गरी दबाब सिर्जना गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए । भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले उद्योगीहरूले संघीय सरकारसँगै संवादमा रहेकाले आफूहरूले कुनै कदम नचालेको दाबी गरे ।

श्रम ऐन कार्यान्वयन नगर्ने चिया उद्योगीलाई स्थानीय सरकारले कारबाही गर्ने अधिकारसमेत नरहेकाले चुप बसेको बताए । अर्जुनधारा नगरपालिकाका मेयर हरि रानाले ऐन कार्यान्वयन नगर्ने छुट कसैलाई नभएको बताए । उनले चिया क्षेत्रमा देखिएका समस्या संघीय सरकारबाटै समाधानको उपाय खोज्ने कार्य भइरहेकाले आफूहरू भूमिकाविहीन देखिएको सुनाए । 'मजदुर साथीहरूको कुरा सही छ । हाम्रो भूमिका र जिम्मेवारी के हुने भन्ने नै स्पष्ट छैन । यस्तो अवस्थामा हामी कसरी अगाडि बढ्न सक्छौं ?' मेयर रानाले भने ।

बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले संघीय सरकारले यस विषयमा कुनै निर्देशन दिए तत्काल कदम चाल्ने बताए । 'कानुन मानेर जानुको विकल्प छैन भनेर हामीले उद्योगीहरूलाई भनिरहेका छौं । ठोस निर्णय गरेर अघि बढ्ने अवस्था छैन,' उनले भने । श्रम ऐन ०७४, श्रम नियमावली ०७५ र सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयनको माग गर्दै जिल्लाका चिया मजदुर चैत १७ देखि आन्दोलनमा छन् । उनीहरूले आइतबार नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलको निवास अगाडि धर्ना दिएका छन् ।

Published on: 13 May 2019 | Kantipur

Back to list

;