s

खुला सीमाबाट नेपाल छिर्दै रोहिंग्या मुस्लिम

शम्भु कट्टेल 
 
म्यान्मारको उत्तरी राखिन क्षेत्रबाट विस्थापित रोहिंग्या मुस्लिम शरणार्थी नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेको पाइएको छ । म्यान्मार सरकारले रोहिंग्या विद्रोही तह लगाउन भन्दै सैन्य कारबाही तीव्र पारेपछि उत्तरी राखिनका मुस्लिम त्यहाँबाट छिमेकी मुलुकमा शरण खोज्दै छिरेका हुन् ।
 
रोहिंग्याहरू अध्यागमन नाकामा पक्राउ पर्ने डरले खुला सीमा हुँदै नेपाल छिरेको र त्यसमा पहिल्यै नेपाल छिरेका रोहिंग्याको सहयोग रहेको पाइएको छ । सीमाबाट काठमाडैां आउँदासम्म राजमार्गमा प्रभावकारी सुरक्षा जाँच नहुँदा उनीहरू राजधानीको कपनस्थित शिविरसम्म निर्वाध पुग्ने गरेका छन् । नयाँ आगन्तुकलाई नेपाल-भारत ओहोरदोहोर गरिरहने रोहिंग्याहरूले सघाउने गरेका छन् ।
 
कतिपय रोहिंग्या मुस्लिम राम्रोसँग नेपाली बोल्न सक्ने भएकाले पनि सीमाका सुरक्षाकर्मी झुक्किने गर्छन् । भारतमा हजारौं तथा बंगलादेशमा लाखौंको संख्यामा रोहिंग्या मुस्लिम छन् ।
 
कपन बालुवाखानीमा शिविर बनाएका रोहिंग्याहरूले नेपाललाई ‘सेफ जोन’ का रूपमा लिनु र सरकारले उनीहरूको आवागमनलाई गम्भीर रूपमा नलिनुले समस्या जटिल बन्दै गएको सुरक्षा अधिकारी बताउँछन् ।
 
सुरुदेखि यहाँ बस्दै आएका रोहिंग्या अनुकूलतामा भारत आवतजावत गरिरहेको पाइन्छ ।मुलुकको सीमा सुरक्षाको जिम्मा, सीमाबाट हुने अवैध गतिविधि र आवागमन सशस्त्र प्रहरीले हेर्दै आएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी बाबुराम पाण्डेले रोहिंग्या मुस्मिलहरूको अवैध प्रवेशलाई रोक्न सबै बीओपी (बोर्डर आउट पोस्ट)हरूलाई निर्देशन दिइसकिएको र बोर्डरमा पेट्रोलिङसमेत बढाइएको बताए ।
 
‘चाडबाड मनाउन घर फर्कने नेपालीको हुलमा रोहिंग्याहरूसमेत प्रवेश गर्न सक्ने भएकाले हामीले उच्च सतर्कता अपनाएका छौं’, पाण्डेले अन्नपूर्णसँग भने, ‘भारतीय फोर्स एसएसबीका कमान्डेन्टहरूसँग समेत रोहिंग्याको अवैध नेपाल प्रवेशमा रोक लगाउने विषयमा कुरा गरेका छौँ । राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले स्थानीय प्रशासनसँग पनि उत्तिकै समन्वयमा छौं ।’
 
गृह मन्त्रालयले रोहिंग्या मुस्लिमहरूको नेपाल प्रवेशलाई कडाइ गर्ने भने पनि दर्जनभन्दा बढी रोहिंग्या अवैध बाटो हुँदै नेपाल प्रवेश गरिसकेका छन् । थपिएकाहरू कपनको बालुवाखानीस्थित शिविरमा बस्दै आएका छन् ।गृहले रोहिंग्यालाई उतै फर्काउने नीति अख्तियार गरे पनि भारतसँगको खुला सीमा र सीमा क्षेत्रको सुरक्षा प्रभावकारी नहुँदा समस्या भएको छ ।
 
‘हामीले पनि रोहिंग्याहरू नेपाल आएका छन् भन्ने सुनेका छौं । तर, उनीहरू अध्यागमन नाकाबाट आएका छैनन्’, गृह मन्त्रालयका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘पक्राउ परिने डरले अवैध बाटो रोजेका होलान् । खुला सीमाका कारण रोहिंग्यालाई पूर्णरूपमा रोक्न निकै कठिन छ ।’
 
गृह मन्त्रालय र नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) बालुवाखानी शिविरमा थपिएका रोहिंग्याबारे बेखबर भएको बताउँछन् ।
 
वीरगन्जस्थित अध्यागमन कार्यालयले भदौ अन्तिम साता नेपाल छिर्न खोज्ने सात रोहिंग्या मुस्लिमलाई इन्ट्री रिफ्युज गरेको थियो । अध्यागमन नाकामा पक्राउ पर्ने डरले रोहिंग्याहरू खुला सीमा हुँदै नेपाल छिर्ने गरेका छन् ।
 
Published on: 22 September 2017 | Annapurna Post

Back to list

;