s

खोलामै बग्यो मजदुरले महिनौं चालेको बालुवा

शिवप्रसाद ढुंगाना

ओखलढुंगा : लकडाउनले निर्माणका काम रोकिएपछि मजदुरले चालेको बालुवा खोलामै बगेको छ । काम रोकिएपछि खोलामा थालेर थुपारेको बालुवा ठेकेदारले लिएका थिएनन् । दैनिक बालुवा चालेर ट्रयाक्टरका हिसाबले बालुवा बेच्ने दुई दर्जन मजदुरको महिनौंको श्रम खोलामै बगेपछि चिन्तित छन् ।

सिद्धिचरण नगरपालिका ७ स्थित पोक्तिङ खोला र वडा नं. ११ को लिपेखोलामा चालेर राखिएको बालुवा खोलाले बगाएको हो । खोलामा आएको बाढीले बगाएपछि दैनिक बालुवा चालेर निर्वाह गर्दै आएका मजदुर समस्यामा परेका हुन् । लकडाउन अघि नै खोला किनारमा मजदुरले बालुवा चालेर थुपारेका थिए ।

सिद्धिचरण नगरपालिका वडा नं ७ धनेपुका १२ जना मजदूरले चालेको १६ ट्याक्टर बालुवा पोक्तिङ खोलाले बगाएको स्थानीय पेम जाङबु शेर्पाले गुनासो गरे । बालुवा चालेर जीविका निर्वाह गर्दै आएका उनीहरु बालुवा बगाएपछि चिन्तामा छन् । 

यस्तै लिपखोलामा पनि चालेर राखिएको १० जना मजदुरको बालुवा खहरेले बगाएको छ । लकडाउनका कारण निर्माणका काम रोकिएपछि उनीहरुले बालुवा बेच्न पाएका थिएनन् । खोलामा चालेको बालुवा एक ट्रयाक्टर बालुवाको ३ देखि ४ हजारसम्म पर्छ । महिनाभरि चालेर राखेको बालुवा एक हप्ता यता परेको पानीले खहरेमा बाढी आउँदा बगाएको हो । 

चालेको बालुवा खहरेले बालुवा बगाएको र अहिले लक डाउनले कुनै काम नहुँदा पपरवार पाल्न समस्या भएको स्थनीय जाङ्मु शेर्पाले बताइन् । श्रम गरेर खानेहरुका लागि बन्दाबन्दीले समस्या पारेको उनको भनाइ छ । ‘धेरैले बालुवा चालेका थिए, सबैको बगाएको छ’ उनले भनिन् । मजदूरहरुले प्रति ट्याक्टर ३ हजार रुपैयाँमा बालुवा बेच्दै आएका थिए । उनीजस्ता २ दर्जन मजदुर अहिले समस्यामा छन् र बालुवा चालेर परिवार धान्दै आएका उनीहरुले न त अरु काम पाएका छन्, नत बालुवा नै विक्रि हुने अवस्था छ । चालेर राखेको बालुवा पनि बगेपछि परिवार पाल्न कठिन भएको अर्का स्थानीय लमी शेर्पाले गुनासो गरिन् ।

ठेकेदारलाई बेचेर उनीहरुले परिवार पाल्दै आएका थिए । ‘काम सबै रोकिएपछि मजदुरको बालुवा लिने कुरा भएन, खोलो बगाएपछि गुनासो गर्दै आएका छन्’, निर्माण व्यवसायी सोचन शाक्यले भने । उनले त्यसरी खोलामा दुःख गर्ने मजदुरको बालुवा आफूहरुले निर्माणका काम हुँदा किनिदिने गरे पनि काम रोकिएपछि उनीहरुले खोलैमा छाडेकाले बगाएको बताए ।

 लिपे खोलामा बालुवा चाल्दै एक महिला मजदुर । खहरेको बालुवा पानीले बगाएर चाल्ने गरिन्छ ।

Published on: 5 May 2020 | Annapurna Post

Link

Back to list

;