s

खेताला नपाउँदा धान खेतमै

सुनिल ठाकुर 
 
श्रमीयुवा विदेश पलायन भएपछि धान काट्न समस्या भएको छ । धान काटेर दलहन र गहुँ खेतीका लागि खेत तयार गर्नुपर्ने समयमा खेताला अभावमा धान अहिलेसम्म खेतमै छ । यसले अब अर्को बाली कसरी लगाउने भन्ने चिन्तामा किसान छन् ।
 
गाउँमा भएका अधिकांश खेताला विदेश पलायन भए बाँकी पनि धान काट्न भारतको पन्जाबतिर लागेपछि खेतालाको अभाव भएको चक्रघट्टा गाउँपालिकाको औरहीका रामचन्द्र राउतले बताए । उनले भने, ‘गाउँमा रोजगारी अभावमा युवा विदेश पलायन भए । अहिले तिनै युवाको अभावमा खेतमै अन्य गाउँबाट मगाएर धान काट्न लगाएका छु ।'
 
राउतले खेतालाले धान काटेबापत आठ क्विन्टलमा एक क्विन्टल लिने गरेको र धान कुटे बापत थ्रेसर मालिकले पनि २० क्विन्टलको एक क्विन्टल लिने गरेको जानकारी दिए । यतिधेरै ज्याला दिँदा खेतीबाट फाइदा नहुने किसान बताउँछन् । खेताला नभएपछि आफ्नो धान आफै काट्नु परेको मलंगवा १२ गम्हरियाका जगदिश ठाकुरले बताए । ‘बिहान बेलुका परिवारका सदस्यका साथ धान काट्छु', ठाकुरले भने, ‘दिनको समयमा काटेको धान टाउकोमा राखेर घरमा लाने गर्छु । धान काटेर खेत खाली गर्न सकिएन भने अन्य खेती पछाडि पर्छ ।'
 
अन्य बालीको तुलनामा धानखेती अब निकै महँगो भएको मलंगवाका योग नारायण पण्डितको भनाइ छ । खेतीका लागि ट्र्याक्टरले खेत तयार गर्नु, बिउ, रोपाइँ, गोडमेल र मलको हिसाब किताब गर्दा धानखेती किसानका लागि कठिन भएको पण्डितको कथन छ । ‘पहिला जस्तो समयमा पानी पर्दैन, भनेको समयमा सुपथ मूल्य मल पाउँदैन अब खेताला पाउन पनि त्यस्तै समस्या छ', पण्डितले भने, ‘बोरिङको पानी पटाउनु पर्ने र मल लिन भारत जानु पर्ने वाध्यताले धानखेती किसानका लागि झन्झटिलो बनेको छ ।'
 
Published on: 29 November 2017 | Annapurna Post

Back to list

;