s

खरको छानामा रेमिट्यान्स

‘मैले मजदुरी गरेर परिवार पालें, छोराले कमाएर परिवारै बदलिदियो’

वीरेन्द्र केसी

खरले छाएको होचो घर । खाना पकाउँदा आगो उछिट्टिएर १० वर्षमा चार पटक जल्यो । प्रत्येक दुई वर्ष अन्तरालमा छानो छाउनुपर्ने हैरानी । जस्तापाताले छाएर चिटिक्क पार्ने धोको थियो तर पैसा थिएन । आगो लाग्ने त्रास, पानी चुहिने हैरानीबाट परिवार दुई वर्षदेखि मुक्त छ ।

सदरमुकाम सन्धिखर्कमा एउटा घडेरी किनेका छन् । बिहे गरेर कतार गएको वर्षदिन पुग्न लाग्यो । दुई बहिनी स्कुल पढ्छन् । छोराले भित्र्याएको रेमिट्यान्सले भीमको घर, परिवार बदलियो । सहरमा घर बनाउने पैसा जुटाउन छोरा पुन: कतार गएको उनले सुनाए । ‘मैले मजदुरी गरेर परिवार पालें,’ उनले भने, ‘छोराले कमाएर परिवारै बदलियो ।’ मजदुरी छाडेर उनी तरकारी खेती गर्न थालेका छन् । घरखर्च त्यसैले चल्छ । कतारबाट आएको पैसाले छानो फेरिएको र घडेरी जोडेको उनले बताए ।
 
तथ्यांकमा जिल्ला
 
प्रत्येक महिना सरदर ५ सय राहदानी
 
रोजगारीकै लागि विदेश जानेको संख्या अत्यधिक
 
मलेसिया, कतार, दुवई, साउदी, कोरिया, भारत मुख्य गन्तव्य
 
२/३ महिना अन्तरमा परिवारलाई बैंक वा आईएमईबाट पैसा
 
जिल्लामै १२ वित्तीय संस्था र आधा दर्जन मनिट्रान्स्फर
 
४६,८३५ घरपरिवारमध्ये ९० प्रतिशतबाट वैदेशिक रोजगारमा
 
प्रतिव्यक्ति महिनामा सरदर २० हजार रुपैयाँ रेमिट्यान्स
 
जिल्लाका घरैपिच्छे वैदेशिक रोजगारीमा छन् । कोहीका घरबाट दुई/तीन जनासम्म विदेशिएका छन् । उनीहरूको उत्पादनमूलक क्षेत्र र उद्योगधन्धामा लगानी छैन । विदेशको आम्दानी गाउँ र सरहमा घडेरी किन्न खर्च भइरहेको छ । पहिले खर्च अभावमा परिवार पाल्न धौ भएकाको जीवन अहिले फेरिएको छ । मालारानी ८ का वसन्त बस्नेतलाई एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न अभिभावकले खर्च गर्न सकेनन् । पढ्ने इच्छा थियो तर पैसा नभएपछि मलेसिया हान्निए । १० वर्षको कमाइले कपिलवस्तुमा घर बनाइसके । फर्निचर पसल पनि खोलेका छन् । ६ जना सिकर्मी/डकर्मीलाई रोजगारी दिएको उनी सुनाउँछन् ।
 
यसै वर्षबाट उच्च शिक्षा अध्ययन गर्ने सोच बनाएको सुनाए । ‘दु:ख गरेर पैसा कमाएँ,’ उनले भने, ‘घर, घडेरी जोडेर व्यवसाय पनि सुरु गरें । अब पढ्ने रहर पूरा गर्छु ।’ पहिले चामल किन्न, कपडा र किताब किन्न ऋण खोज्नु पथ्र्यो । बाबुआमाले साहूकोमा धाएको सम्झना ताजै छ । मुटु रोगी बाबुले केही गर्न सकेनन् । ‘अहिले उपचार खर्च पनि पुगेको छ, बाबुआमा पनि खुसी हुनुहुन्छ, उनले भने ।’ गाउँको घर बिक्री भएको छैन । जेठा र कान्छा बाले गाउँको सम्पत्ति स्याहारिरहेको उनले बताए ।
 
छिमेकी रामबहादुर दर्जीले झुपडी भत्काएर गाउँमा पक्की घर बनाएका छन् । पैसा कमाए पनि विदेशमा धेरै दु:ख छ । सात वर्ष दुबई बसेर फर्किए । ६ महिनादेखि रामबहादुर घरमै छन् । कुखुरा फार्म राम्रै भएको छ । कुखुराबाट सोचेजस्तो आम्दानी भए यहीं बसेर व्यवसाय गर्ने योजना उनले सुनाए । सबैका घर, गोठ, शौचालय जस्तापाताले छोपिएको उनले बताए । ‘पैसा भएपछि कोही घर–घडेरी जोडेर सहर बसाइँ सरे, कोही गाउँमै राम्रोसँग बसेका छन्, उनले भने ।
 
घरमा रेमिट्यान्स भित्रिन थालेपछि सामान्य परिवारको दैनिकी फेरिएको छ । ‘रेमिट्यान्स भित्रिएर परिवर्तन भए पनि यो दीर्घकालीन हुँदैन,’ पूर्वजनप्रतिनिधि पीताम्बर भुसालले भने, ‘युवाशक्ति विदेश गएपछि गाउँमा उत्पादन घट्यो । परनिर्भरता अझै बढ्यो । अब राज्यले युवालाई यहीं स्वरोजगार बनाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’ रेमिट्यान्स भित्रिएपछि धेरै काम गर्न अल्छी भए । घरका युवा विदेशमा गएपछि श्रीमती, दिदीबहिनीका लागि उच्च शिक्षा अध्ययनमा लगानी गरेका छन् ।
 
जति विदेशबाट पैसा भित्रिएको छ । त्यसअनुसार उत्पादन क्षेत्रमा लगानी छैन । खानपिन, रहनसहन र अनुत्पादन क्षेत्र घर घडेरीमा बढी लगानी भएको उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । विदेशी पैसाले गरिबी घटाएको छ । सामान्य परिवारमा वैदेशिक रोजगारमा कोही छ भने राम्रै तरिकाले जीवन चलाएको छ । नेपालमा भित्रिएको रेमिट्यान्सलाई अब सरकारले नीति बनाएर उत्पादन र औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्छ, उनले भने । रेमिट्यान्स पछिल्लो समय गाउँमा बिजुली, खानेपानी, सञ्चार, मोटरबाटो, शिक्षा, स्वास्थ्यलगायतमा लगानी पनि भएको उनले बताए । पैसा विलासिताका वस्तुमा धेरै खर्च भएको उनको दाबी छ ।
 
Published on: 30 July 2018 | Kantipur

Back to list

;