s

खानेपानी आयोजनाका मजदुर अलपत्र

दिल शिरीष

 

बागलुङ : कोरोना भाइरसको संक्रमण फैलिन सक्ने आशंकामा सरकारले देश लक डाउन गरेपछि बागलुङ नगर खानेपानीको लिफ्टिङ आयोजनामा काम गर्ने मजदुर सदरमुकाममा अलपत्र परेका छन् ।

बागलुङ नगरपालिका  ३ कैलाम पोखरी रात्माता लिफ्टिङ खानेपानी आयोजनाको जिम्मेवारी लिएको जय मता कन्काइ जेबी निर्माण कम्पनीका निर्माण व्यवसायी जिल्ला छोडेपछि कामका लागि आएका १४ जना मजदुर अलपत्र परेको मजदुर प्रेमबहादुर शाहीले बताए ।

असोजदेखि काम गराएको अहिलेसम्म १२ लाख रूपैयाँ लिनुपर्ने भएपनि जम्मा दुई लाख ५० हजार मात्रै पाएको शाहीले बताए । 'देश नै पुरै ठप्प छ, अहिले घर जाने अवस्था पनि छैन, 'शाहीले भने, 'अब यहाँ काम ठप्प छ, बिहान बेलुकाको हात मुख कसरी जोर्ने ? साह्रै समस्यमा परेका छौं ।'

 काम गरेको कम्पनीले पैसा नदिँदा खाना खान समेत समस्या भएको मजदुरको गुनासो छ । यहाँ काम गर्ने अधिकांश श्रमिक मजदुर पूर्वतिरका छन् । दैनिक रोजगारी गरेर खाने मजदुरको यतिबेला काम बन्द भएपछि बिहान बेलुकी खान समेत मुस्किल भएको छ । अहिले लिफ्टिङ खानेपानी योजनामा काम गर्ने मजदुर अलपत्र परेको गुनासो आएको हुँदा निर्माण व्यवसायीसँग सम्पर्क गरेर समस्याको समाधान गर्ने पहल भइरहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए ।

कोरोनाको कारण काम गर्ने वातावरण अनिश्चित भएकाले आफूहरु घर फर्किएको निर्माण कम्पनीले बताएको छ । आफ्नो साइडमा काम गर्ने मजदुरलाई तत्काल खानाको समस्या भए व्यवस्थापन गर्ने जयमाता कन्काइ जेबी निर्माण कम्पनीका गौतम भुसालले बताए ।

बागलुङ नगरपालिका भित्र खानेपानी अपुग भएको भन्दै बागलुङको काँठेखोलाको पानी कैलाम पोखरीबाट लिफ्टिङ गरेर बजार र त्यस भन्दा माथिको गाउँमा समेत खानेपानी वितरण गर्ने गरि खानेपानी आयोजना निर्माणाधिन अवस्थामा छ।

Published on: 27 March 2020 | Annapurna Post

Link

Back to list

;