s

खान नपाएको भन्दै नेपाल फकाईदिन श्रमिकको आग्रह

मुना कुँवर

 

आठ घन्टा ड्युटी, नि:शुल्क खान र बस्न सुविधा, सातामा एक दिन छुट्टी, अतिरिक्त ड्युटीबापत रकम भुक्तानीलगायतका सुविधा हुने लोभमा कपिलवस्तुका दीपक खराल र रामु खराल साउदी जान तयार भए । काठमाडौंस्थित चाँदनी म्यानेजमेन्ट सर्भिसले साउदीको भारतीय रेस्टुरेन्टमा पाइने सुविधाको जानकारी दिएपछि खराल दाजुभाइ खुसी हँुदै १ मंसिरमा साउदी उडे । तर, साउदीमा म्यानपवार कम्पनीले प्रतिबद्धता गरेको कुनै सुविधा नपाएपछि अहिले खराल दाजुभाइ नेपाल फर्कन विभिन्न निकाय धाइरहेका छन् । 

नेपालबाट म्यानपावर कम्पनीले भारतीय रेस्टुरेन्ट भने पनि काम टर्किस रेस्टुरेन्टमा गर्नुपरेको पीडित दीपक खरालले बताए । साउदीबाट टेलिफोनमार्फत पीडित खरालले म्यानपावरले ठगी गरेको नयाँ पत्रिकासँग गुनासो गरे । ‘दिनमा १७ देखि १८ घन्टा काम गर्नुपर्छ, एक छाक मात्रै खान पाइन्छ । उभिएर धेरै काम गर्नुपरेकाले खुट्टा सुन्निएका छन्,’ उनले भने । एक छाक खाएर बाँच्न गाह्रो भएको भन्दै उद्धार गरिदिन उनले आग्रह गरे । 

उद्धारका लागि म्यानपावर पन्छियो

सम्झौताबमोजिमको सेवा–सुविधा नपाएपछि खराल दाजुभाइले म्यानपावर कम्पनीलाई सम्पर्क गरे । तर, कम्पनीले कुनै पनि प्रतिक्रिया नदिएको उनीहरूको गुनासो छ । ‘हामीले म्यानपावर कम्पनीलाई धेरैपटक सम्पर्क गर्‍यौँ । तर, कम्पनी सम्पर्कमा नै आउन चाहेन,’ उनले भने, ‘यस्तो समस्या हुने भए हामी आउने नै थिएनौँ ।’

म्यानपावर कम्पनीका अध्यक्ष श्यामकमल गुरुङले भने खराल दाजुभाइको उद्धार प्रक्रिया अगाडि बढाएको बताए । ‘मैले कम्पनीमा पनि कुरा गरिसकेको छु । उनीहरूलाई फर्काउन रोजगारदाताले पाँच लाख माग गरेको छ,’ उनले भने । कम्पनीका अध्यक्ष गुरुङले खराल दाजुभाइको भिसा आफूले ननिकालेको जिकिर गरेका छन् । ‘खराल दाजुभाइले नै भिसा निकालेका हुन् । उनीहरूले मेरो म्यानपावरको नाममा भिसा ल्याएका हुन् । त्यसैले कम्पनी के–कस्तो थियो भन्ने उनीहरूलाई नै बढी थाहा छ,’ उनले भने । तर, पीडित दाजुभाइले भने म्यानपावर आफू उम्किन यस्तो आरोप लगाएको बताउँछन् । उनले भने, ‘हामीलाई भिसा कसरी आउँछ भन्ने पनि थाहा छैन । साथी आशुतोषले नै म्यानपावरसम्म पु¥याएको हो ।’

नेपालमै ठगिए खराल दाजुभाइ

३० वर्षीय दीपक खराल यसअघि साउदी अरबमा नै रोजगारी गरेर करिब ६ वर्षअघि नेपाल फर्किएका हुन् । तर, नेपालमा रोजगारीको सम्भावना नदेखेपछि खरालले आफ्ना भाइलाई समेत साउदी लैजाने निर्णय गरे । दीपकले दुवै दाजुभाइको भिसाका लागि म्यानपावर कम्पनीलाई दुई लाख ५० हजार बुझाएको बताए । सरकारले निःशुल्क भिसा र टिकट भने पनि खराल दाजुभाइले म्यानपावर कम्पनीलाई चर्को शुल्क भुक्तानी गरेका थिए । ‘करिब सवा तीन लाखजति खर्च भयो,’ खरालले गुनासो गरे । 

खराल दाजुभाइलाई आफ्नै साथीले म्यानपावरसम्म पु¥याएका थिए । दीपकका साथी आशुतोष भुसालले उनीहरूका लागि भिसा मिलाएका थिए । दीपक र भुसालले यसअघि साउदीमा ६ वर्ष सँगै काम गरेका थिए । तर, भुसालले भने अहिले म्यानपावर कम्पनीका लागि एजेन्टको काम गर्दै आएका छन् । सरकारले वैदेशिक रोजगारीमा एजेन्ट प्रणालीको अन्त्य गरे पनि खराल दाजुभाइ एजेन्टकै भरमा फसे ।

Published on: 20 December 2021 | Nayapatrika

Link

Back to list

;