s

‘खाडीमा हामीलाई ठीकै छ, सरकारले आफ्नै नागरिकसरह उपचार गरिदिन्छ’

सेतोपाटी संवाददाता

कोरोना भाइरसको संक्रमण अहिलेसम्म १ सय ९२ देशमा फैलिसकेको छ। संसारभर चार लाख २३ हजार मानिसलाई संक्रमण भइसकेको छ भने ज्यान गुमाउनेको संख्या १८ हजार ९ सय हजार नाघेको छ।

कोरोना भाइरस संसारभर फैलिरहदा त्यहाँ रहेका नेपालीको जनजीवनलाई प्रत्यक्ष असर गरेको छ।

कतिपय देशमा नेपालीमा कोरोनाको संक्रमण देखिएको छ। लाखौंको संख्यामा नेपाली कामदार कार्यरत खाडी मुलुकहरू तथा मलेसियामा रहेका नेपालीलाई कोरोनाको संक्रमण नगन्य मात्रामा देखिए पनि उनीहरूको दैनिक कामकाजमा भने ठूलो असर परेको छ।

सेतोपाटीले खाडी मुलुकमा कार्यरत आफ्ना पाठकलाई कोरोनाभाइरसले गरेको असरबारे फेसबुकमा सोमबार प्रतिक्रिया सोधेको थियो।

फेसबुकमा सयभन्दा बढी नेपालीहरूले आफ्नो अनुभव साटेका गरेका छन्। अधिकांशले आफूहरू सुरक्षित रहेको बताएका छन्।

कतिले नेपालमा रहेका सबैलाई सावधानी अपनाउन अनुरोध गरेका छन् भने केहीले सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदा समस्यामा परेको भन्दै गुनासो गरेका छन्।

युएईमा रहेका सुवास शर्माले आफूहरू सुरक्षित रहेको बताउँदै नेपालमा रहेका सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्।

'यहाँ कुनै नेपालीलाई संक्रमण देखिएमा आफ्ना नागरिक सरहसमान उपचार गर्छ। उच्च क्षमताका अस्पताल र डाक्टरहरू भएको देशमा हामीहरू सुरक्षित छौं,' उनले लेखेका छन्,'बरू घरदेशका तपाईंहरू आफ्नो ख्याल गर्नुहोला। यो नगर भन्दा त्यही गर्नुपर्ने बानीब्यहोरा भएका नेपालीहरू सरकारले भनेको कुरा मानेर घरभित्रै बस्नुहोला। आफैं डाक्टर, नर्स बन्न छोडेर अहिलेलाई मात्र इमान्दार नेपाली नागरिक भएर यस महामारी नियन्त्रणमा राज्यलाई सहयोग गर्नुहोला।'

युएईमा अहिलेसम्म २ सय ४८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ।

मलेसियाको राजधानी क्वालम्पुरमा कार्यरत कमल कार्कीले आफू बस्ने कोठा छाडेको बताएका छन्। अहिले काम गर्ने स्थानमा नै बस्ने गरेको उनले प्रतिक्रिया लेखेका छन्। 

मलेसियामा अहिलेसम्म १७ सय ९६ जनामा कोरोनाको संक्रमण भेटिएको छ। जसमध्ये १६ जनाले ज्यान गुमाएका छन्।

'विगत ३ दिनदेखि काम गर्ने ठाँउमा नै राखेको छ। स्क्रिनिङ मेसिन, मास्क, स्यानिटाइर, खानपिनको सबै व्यवस्था छ। बाहिर जान मिल्दैन,' कमलको भनाइ छ,'नेपालमा रहनु हुनेले सावधानी अपनाउनु होला। भीडभाडमा नजानु होला, राम्रोसँग हात धुनुहोला।'

मलेसियाकै जोहर बारुमा रहेका रेशम श्रेष्ठ आफूहरूलाई खानेकुरा किन्नबाहेक अरू कामका लागि बाहिर निस्कन नदिएको बताएका छन्। उनले मास्क अनिवार्य लगाउनु पर्ने नियम भए पनि मास्कको अभाव भएको प्रतिक्रिया दिएका छन्।

कतारको दोहामा रहेका होमनाथ तिवारीले काम नभएकाले कोठामै बस्न परेको बताउँदै लेखेका छन्,'ड्युटी छैन, रूममै बस्नु परेको छ। बाहिर नहिँड्ने अति आवश्यक चिजहरू नजिकैको पसलमा लिने, यसरी नै चलेको छ। यहाँको दैनिकीमा हामी सुरक्षित छौ र नेपालमा पनि सुरक्षा अपनाउन आग्रह गर्छौं। भाइरस भित्रन नदिँदा हामी सुरक्षित हुने छौ।'

कतारमा ५२६जनामा कोरोना संक्रमण भेटिएको छ। अहिलेसम्म कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन।

दुबईको सेक्युरिटी कम्पनीमा कार्यरत प्रभु चौधरीले पनि सुरक्षित रहेको बताउँदै दुबईमा मानिसहरू भेला हुने अधिकांश स्थान बन्द रहेको प्रतिक्रिया दिएका छन्।

कतारमा कार्यरत बसन्त भण्डारीको भने फरक अनुभव छ। उनले एउटै कोठामा १२ जना सुतिरहेको भन्दै दु:खेसो पोखेका छन्। सरकारले अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लगाउँदा आफू समस्यामा परेको उनको भनाइ छ। नेपाल सरकारले चैत ९ गते राति ११ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरेपछि स्वदेश फर्कने नेपालीहरू समस्यमा परेका छन्।

'एउटा रूम मा १२ जना सुतेका छौं, २ वर्षको सम्झौता सकिएको छ।  घर जाने भनेर हिसाब बुझेर मार्च १ बाट बसेको कोरोनाले भन्दा सरकारले तनाव दियो,' उनले लेखेका छन्,'नेपाली जहाजको टिकट १० मार्चको टिकट क्यान्सल भयो। हामी फर्किने नेपालीलाई त नरोक्नु पर्ने! अब कहिले खुलाउला र फर्कन पाइएला भनेर दिन गन्दै बसेको छु,' बसन्तले समस्या लेखेका छन्।

युएईको अबुधावीमा रहेका भीम कार्कीले पनि आफ्नो भिसा सकिएकाले समस्या परेको बताएका छन्।

'मेरो भिसा सकिएको छ। म जस्तै समस्यामा धेरै नेपाली दाजुभाइ दिदिबहिनी हुनुहुन्छ होला। विदेशबाट आफ्नो देशमा आउने नेपालीहरू आउन पाउनुपर्छ। राम्रोसँग चेकजाँचको व्यवस्था मिलाउने सरकारको काम हो,' उनले आफ्नो समस्या लेखेका छन्।

संक्रमणको डरले होम क्वारिन्टिनमा बसेको आफू सुरक्षित रहेको कतारमा रहेका भीमराज भट्टराईको प्रतिक्रिया छ।

साउदीमा रहेका प्रकाश राजवंशी र कतारमा रहेका जनक पराजुलीले पनि आफ्नो कम्पनीले कोरोनाभाइरसको संक्रमण रोक्ने उपाय अपनाएको भन्दै सुरक्षित महशुस गरेको बताएका छन्।

कुवेतमा रहेका अर्जुन दुलालले कोरोना भाइरसका कारण कर्फ्यूको लागेको उल्लेख गरेका छन्। उनले लेखेका छन्,'हामी मार्च १३ बाट होम क्वारेन्टाइनमा बसेका छौ। सारो गार्‍हो केहि पनि छैन। हिजोबाट कर्फ्यू लागेकाले हिँडडुल गर्नचाहिँ गाह्रो छ।'

खाडी मुलुकमध्ये कुवेतले सुरूदेखि नै संक्रमणबाट बच्न कडा रणनीति अपनाइ रहेको छ। अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लगाएको कुवेतले यो अहिले कर्फ्यु लगाएको छ। कुवेतमा अहिलेसम्म कोरोनाबाट १ सय ९१ संक्रमित भएका छन्। जमसमध्ये ३० जना उपचारपछि घर फर्किएका छन्।

सरकारले अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लगाउदा कतिपय नेपालीलाई भिसाको समस्या परेको छ। घर फर्कन ठिक्क परेका नेपालीहरू भिसाको म्याद सकिएकाले अवैधानिक हुने चिन्तामा छन्। यस्तै चिन्तामा दुबईमा कार्यरत सुमन श्रेष्ठले परेका छन् ।

'२ महिनाअघि घर जाने मनसाय बनाएर भिसा क्यान्सिल गरे। त्यसपछि कोरोना पनि आयो। त्यसैले अर्को कम्पनीले भिसा दिन मानेन। ‍मार्च ३० बाट अवैधानिक कुराले चिन्ता छ। मजस्तै धेरै नेपाली यसरी नै जीवन बिताइरहनु भएको छ। जरिवानामा परिन्छ कि भन्ने डर छ,' सुमनले आफ्नो समस्या लेखेका छन्,'धेरै साथीलाई खान बस्नको समस्या छ। नेपाल सरकारले भिसा सकिएर अवैधानिक हुन लागेका नेपालीलाई क्वारेन्टाइनमा बस्ने सर्तसहित स्वदेश फर्काउछ भन्ने आशा छ।'

Published on: 25 March 2020 | Setopati

Link

Back to list

;