s

खाडीमा हजारौं नेपालीको रोजगारी गुम्दै

होम कार्की 

काठमाडौँ — कोभिड–१९ का कारण खाडी क्षेत्रमा ५० हजार श्रमिकले रोजगारी गुमाउने अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएको छ । यसको असर त्यहाँ काम गर्ने हजारौं नेपालीलाई पर्ने देखिएको छ । भाइरसका कारण त्यहाँका कम्पनीले नेपाली कामदारलाई बेतलबी बिदा दिन थालेका छन् । 

संयुक्त अरब इमिरेट्स (यूएई) मा मुख्य कार्यालय रहेको क्रेभिया रेस्टुरेन्टले मार्च २७ मा आफ्ना कामदारका लागि सूचना गर्‍यो। क्रेभियाले कोरोना भाइरसको संक्रमण रोक्न चालिएको कदमबाट आफ्नो कम्पनीको आर्थिक अवस्थामा ठूलो असर परेको भन्दै अप्रिल १ देखि जुलाई ३१ सम्मका लागि कामदारलाई बेतलबीमा बिदामा राख्ने नीति लिएको जनायो। यो कम्पनीमा झन्डै २ सय ५० जना नेपाली काम गर्छन्। 

कम्पनीको यूएई, साउदी अरब, कुवेत र बहराइनमा ब्रान्च रेस्टुरेन्टहरू छन्। यसका सबै रेस्टुरेन्टहरू अहिले बन्द रहेका ठुल्ठूला मलभित्र छन्। क्रेभियाले कामदारको रोजगारीको सुरक्षाका लागि भन्दै अल्पकालीन नीति लिइएकाले यसलाई पालना गर्न कामदारलाई निर्देशन दिएको थियो।

यो कम्पनीमा ८० हजार देखि २ लाख रुपैयाँ तलब पाउने नेपाली छन्। ‘कम्पनीले हजारदेखि ७ हजार ५ सय दिराम तलब खाने र ५ हजार दिराममुनि तलब खानेका लागि फरक–फरक नीति लिएको छ। ५ हजार दिराममाथि तलब खाने ५० प्रतिशत र ५ हजार दिरामभन्दा कम तलब खाने २५ प्रतिशतलाई बेतलबी बिदामा राख्ने नीति लिएको छ,’ एक नेपाली कामदारले कान्तिपुरसँग भने, ‘अब सबैले काम निरन्तर पाउने अवस्था छैन। अब आलोपालोअनुसार काममा जाने र बेतलबी बिदामा बस्ने अवस्था आएको छ।’

कम्पनीले स्वैच्छिक रूपमा बस्नका लागि अपिल गरिसकेको छ। यूएईमा लत्ताकपडा बेच्ने रिटेल स्टोर, होटल र रेस्टुरेन्ट, सेक्युरिटी कम्पनीहरूले कामदारलाई बेतलबी बिदामा राख्न थालिसकेका छन्। कोरोना भाइरस संक्रमण देखिन थालेपछि कम्पनीले कामदार कटौती गर्न थालिसकेका छन्। कम्पनीले कामदार कटौती गरे पनि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा आफ्नै खर्चमा क्याम्प वा कोठामा बसिराख्न बाध्य भएका छन्।

सुरक्षा सेवा प्रदायक कम्पनी कोस्टगार्डले झन्डै ४ सय ५० जनालाई बेतलबी बिदामा राखिसकेको छ। ‘बेतलबी बिदामा राख्ने भएपछि मैले ५८ दिनको बिदा स्वीकृत गराएँ। दुबई विमानस्थलबाटै फर्कनुपर्‍यो। मेरो बिदा दुबईमै बसेर खेर गइरहेको छ। फेरि ड्युटीमा आबद्ध हुन पाइएन,’ उमेश पाण्डेले भने, ‘धेरै ठाउँबाट कम्पनीको ठेक्का रद्द भइरहेको छ।’ 

साउदी, कुवेत, बहराइन, ओमन र कतारमा रहेको बहुराष्ट्रिय कम्पनीको मुख्य कार्यालय यूएईमा छ। यूएई सरकारले निजी क्षेत्रलाई बचाउनका लागि कामदार कटौतीदेखि बेतलबी बिदामा राख्न पाइने अस्थायी नीति ल्याएपछि कम्पनीहरूले कार्यान्वयन गर्न थालेका छन्। ‘अहिले सामान्य अवस्थामा जसरी श्रमिकका अधिकार रक्षा हुने अवस्था भएन,’ पाँचतारे होटलमा कार्यरत संखुवासभाका रतन शेर्पाले भने, ‘पहिला यही क्षेत्रमा कहिले समस्या भोग्नुपरेको थिएन। कोरोना भाइरसका कारण होटल बन्द हुने अवस्था आएपछि हामी चुप लागेर बस्नुको उपाय छैन।’

यूएई मानव संसाधन मन्त्रालयले निजी क्षेत्रका कम्पनी र कामदारका लागि नयाँ मागदर्शन जारी गरेको छ। ३० प्रतिशतभन्दा बढीलाई कार्यालयमा काम लगाउन पाइने छैन। कामदारलाई तलबमा राख्न वा बेतलबी बिदामा राख्न पाइनेछ। आर्थिक अवस्था हेरी स्थायी रूपमा लागू हुने गरी तलब कटौती गर्न पाइनेछ। पछिल्लो तीन वर्ष ९ लाख ७३ हजार जना वैदेशिक रोजगारीमा गएका छन्। गत आर्थिक वर्ष खाडी तथा मलेसियाबाट ८.७९ अर्ब अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्रिएको थियो। करिब ८८ प्रतिशत कामदार खाडीमा कार्यरत छन्। 

खाडीका सबै देशले निजी क्षेत्रलाई धराशायी हुनबाट जोगाउन बृहत् कोष स्थापना गरेका छन्। त्यो कोषले आप्रवासी कामदारको तलब व्यहोर्ने कि नव्यहोर्ने प्रस्ट बताएको छैन। साउदी अरबले भने आफ्ना नागरिकका लागि ६० प्रतिशत तलब सरकारी कोषबाट वितरण गर्ने घोषणा गरेको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले मंगलबार सार्वजनिक प्रतिवेदनअनुसार खाडीमा मात्रै ५० लाख कामदारको पूर्ण रोजगारी गुम्न सक्नेछ। जसमा बढीजसो मध्यम आम्दानी गर्ने खालका कामदार पर्नेछन्। सन् २००८/९ मा देखिएको विश्वव्यापी आर्थिक मन्दीभन्दा बढी असर कोरोनो भाइरसबाट पर्ने आईएलओको भनाइ छ। ‘कोरोना भाइरस नियन्त्रण गर्न चालिएको कदमबाट सबैभन्दा बढी खाना सेवा गर्ने रेस्टुरेन्ट, होटल, उत्पादन, रिटेलसँग सम्बन्धित व्यापार र प्रशासनिक गतिविधि उच्च जोखिममा परेका छन्,’ आईएलओका महानिर्देशक गे राइडरले विज्ञप्ति जारी गर्दै भनेका छन्। 

खाडीमा रहेका नेपाली राजदूतहरूले कति नेपालीले रोजगार गुमाउनेछन् भन्ने अहिले अनुमान लगाउन हतार हुने बताएका छन्। ‘निजी क्षेत्र धराशायी हुने वातावरण देखिएको छ। यहाँको आर्थिक अवस्था बलियो छ। यहाँको सरकारले कस्तो रणनीति अपनाउँछ भन्ने हिसाबले पनि रोजगारीमा असर गर्छ,’ एक राजदूतले भने, ‘सेवा क्षेत्रमा त पक्कै असर पुग्नेछ।’ 

कुवेतमा थप एक नेपालीमा संक्रमण 

कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदारमा कोरोना भाइरस संक्रमण भएको जनाएको छ। कुवेतमा संक्रमित नेपालीको संख्या तीन पुगेको छ। स्वास्थ्य मन्त्रालयले बुधबार एक नेपालीसहित १ सय १२ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ। कुवेतमा संक्रमितको संख्या ८ सय ५५ पुगेको छ। 

कुवेतस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट बच्नका लागि उच्च सतर्कता अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ। त्यहाँ झन्डै ७० हजार नेपाली कार्यरत छन्।

Published on: 9 April 2020 | Kantipur

Link

Back to list

;