s

खाडीमा २२ जना नेपाली संक्रमित

होम कार्की 

काठमाडौँ — बहराइनमा एकैपटक नौ जना नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । यसअघि तीन नेपालीलाई देखिएको थियो ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार सल्माबादस्थित एक श्रमिक क्याम्पमा बसेका कामदारलाई संक्रमण देखिएको थियो। त्यो क्याम्पमा नेपालीसहित चार सय जना बस्दथे। ‘चार सय जनामध्ये ६६ जनालाई कोरोना देखिएको हो। जसमा नौ जना नेपाली परे,’ बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कान्तिपुरलाई भने, ‘त्यो क्याम्पमा जम्मा त्यतिमात्रै नेपाली कामदार रहेछन्।’ 

बहराइनमा एकैपटक ९ जना नेपाली कोरोनाबाट संक्रमित 

संक्रमितहरूलाई क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको सुन्दासले बताए। त्यस क्याम्पमा एक जना भारतीय कामदारलाई संक्रमण भएको देखिएपछि बहराइनको स्वास्थ्य मन्त्रालयले क्याम्पमा बस्ने सबैलाई क्वारेन्टाइनमा राखेको थियो। 

बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म १२ नेपालीसहित २ सय ८६ जनाको उपचार भइरहेको छ। ३ सय ८२ जना भने निको भएर अस्पतालबाट घर र आफ्नो क्याम्प फर्किसकेका छन्। चार जनाको मृत्यु भएको छ। हालसम्म ३७ हजार ९ सय ९६ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ। 

बहराइनमा एकैपटक नौ जना नेपाली कामदारलाई संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार समकक्षी खालिफा विना सलमान अल खालिफालाई टेलिफोन गरी चासो राखेका थिए। प्रधानमन्त्री ओलीले बहराइनमा कार्यरत नेपालीको सुरक्षामा बहराइनबाट प्राप्त सहयोगप्रति धन्यवाद दिएका थिए। 

कुवेतमा कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित 

बहराइनसहित यूएई र कुवेत मुलुकमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या २१ पुगेको छ। नेपाली कामदारको प्रमुख गन्तव्य रहेको कतार र साउदी अरबले भने कोरोना भाइरसको पोजेटिभ देखिएका बिरामीको राष्ट्रियता सार्वजनिक गरेका छैनन्। साउदी अरबमा शुक्रबारसम्म २ हजार २९ जनालाई पोजेटिभ देखिएको छ। जुन खाडीको उच्च संख्या हो। साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले हालसम्म नेपाली संक्रमित भएको आधिकारिक विवरण प्राप्त नभएको बताए। 

बहराइनपछि बढी संक्रमित भएको संयुक्त अरब इमिरेट्स (यूएई) हो। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार आठ जना नेपाली कामदार संक्रमित भइसकेका छन्। दुई जना निको भएर काममा फर्किसकेका छन्।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार ६ जनाको अवस्था स्थिर छ। ‘यूएईले उपचारमा कुनै विभेद गरेको छैन,’ उनले भने। यूएईमा १ हजार २ सय ६४ जनालाई पोजेटिभ देखिएको छ। १ सय ८ जना निको भइसकेका छन् भने नौ जनाको मृत्यु भएको छ।

कुवेतमा दुई नेपाली कामदार संक्रमित छन्। कुवेतमा संक्रमितको सख्या ४ सय १७ देखिएको छ।

कतारमा ९ सय ४९ जना संक्रमित भएका छन्, जसमा ठूलो संख्यामा आप्रवासी कामदार छन्। कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धाजका अनुसार कतारले पनि बिरामीको राष्ट्रियता सार्वजनिक नगरेको बताए। 

नेपाली कामदार बसोबास गरेकै क्याम्पबाट कोरोना भाइरस संक्रमित व्यक्ति पहिचान गरेको हो। कामदार बसेको क्याम्पमा कोरोना देखिएपछि कतारले झन्डै ५० हजार नेपाली बसोबास गरेको सनैया क्षेत्रलाई संवेदनशील मान्दै सिल गरेको छ। संक्रमितको संख्या बढेपछि कतारले बिहीबारदेखि लागू हुने गरी निजी क्षेत्रका ८० प्रतिशत कामदारलाई घरबाटै काममा लगाएको छ। काम गर्ने अवधिलाई ६ घण्टामा कायम गरेको छ। बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै काम गर्ने समय तोकिएको छ। विभिन्न क्लिनिङ कम्पनीबाट घरको काम गर्न पठाउने कार्यलाई समेत रोकेको छ। कतारमा विभिन्न कम्पनीले महिलालाई घण्टा वा दिनभर घरेलु कामका लागि घरघरमा पठाउँदै आएको थियो। यसमा नेपाली महिलाको संख्या धेरै छ। कामदार बोक्ने बसले सिट क्षमताअनुसार कामदारलाई बोक्न पनि रोक लगाएको छ। त्यस्तो बसले सिट क्षमताको आधा मात्रै कामदार बोक्न पाइनेछ।

उच्चस्तरीय संकट व्यवस्थापन समितिका प्रवक्ता लोलवाह विन्ट रसिद विन मोहम्मद अल खतिरले कतार र कामदारको सुरक्षाका लागि लकडाउनको अवधिलाई बढाइएको बताइन्। 

त्यो क्षेत्रमा कार्यरत कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कतारले निकै संवेदनशीलका रूपमा राख्दै आवतजावतलाई पूर्ण नियन्त्रण गरी कामदारको स्वास्थ्य परीक्षण गरिरहेको प्रवक्ता खतिरले बताइन्। यो क्षेत्रभित्र रहेका कामदारलाई खाद्यान्नको अभाव हुन नदिइएको र तीन ठाउँमा मोबाइल जाँच केन्द्र राखेर परीक्षण भइरहेको छ। 

मलेसियामा एक नेपाली कोरोना भाइरसबाट संक्रमित 

मलेसियाको सेलाङगुरमा कार्यरत एक नेपाली कामदारलाई संक्रमण देखिएपछि सुङ्गाई बुल्व अस्पतालमा उपचार भइरहेको छ। उनी झापाका हुन्। 

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार उनको अवस्था सुधारोन्मुख छ। ‘उनीसँग नेपाली दूतावासले नियमित सम्पर्क गरिरहेको छ। स्वास्थ्यमा निकै सुधार आइसक्यो। बिरामी र परिवारबीच नियमित सम्पर्क भइरहेको छ,’ राजदूत पाण्डेले भने,‘यो नेपालीको पहिलो केस हो।’ 

कोरोना भाइरसको लक्षण देखिएपछि उनलाई कम्पनीेले नै अस्पताल पुर्‍याएको थियो। मलेसियाले विदेशी र स्वदेशी नागरिकबीच उपचारमा विभेद नगरेको उनले बताए। कोरोना भाइरसको उपचार सरकारी अस्पतालमा मात्रै नि:शुल्क रूपमा भइरहेको छ।

त्यस्तै एक जना नेपालीको परीक्षणका लागि पेनाङ अस्पतालमा भर्ना गरिएको छ। उनको जाँचको रिपोर्ट आइसकेको छैन। 

मलेसियाको स्वास्थ्य विभागका अनुसार शनिबार मात्रै नयाँ १ सय ५० जनामा कोरोना पोजेटिभ देखिएको छ। हालसम्म मलेसियामा संक्रमितको संख्या ३ हजार ४ सय ८३ जना पुगेको छ। ९ सय १५ जना निको भएका छन् भने ५७ जनाको मृत्यु भएको छ। 

मलेसियको अध्यागमन विभागले आवागमन बन्देज उल्लंघन गर्ने चार नेपालीलाई तीन महिना कैद र जनही १ हजार १ हजार रिंगेट जरिवाना गरेको छ। उनीहरू मेलक्कामा पक्राउ परेका थिए। 

मलेसियाले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न १८ मार्चदेखि १४ अप्रिलसम्म आवागमन नियन्त्रण आदेश जारी गरेको थियो। यो अवधिमा अत्यावश्यक र अनुमति प्राप्त कामदार मात्रै आउजाउ गर्न पाइने राजदूत पाण्डेले बताए। 

न्यायाधीश मोहम्मद नजरिन अलि रहिमको इजलासले ४४ वर्षीय पूर्णबहादुर लिम्बू, ३३ वर्षीय दुर्गाबहादुर सार्की, ३९ वर्षीय पुण्य तामाङ र २९ वर्षीय भरोसी सदालाई कैद र जरिवाना तोकेको हो। उनीहरूसँगै पक्राउ परेका अन्य विदेशी नागरिकलाई पनि सजाय भएको छ।

Published on: 5 April 2020 | Kantipur

Link

Back to list

;