s

खाडीमा राजनीति

इमानदार र मेहनतीको परिचय स्थापित भएका कारण वैदेशिक रोजगारमा नेपालीका लागि अवसर र आकर्षण फैलँदो छ, जसका कारण विदेशमा काम गर्न गएका नेपालीले पठाएको विप्रेषण (रेमिट्यान्स) नेपालको अर्थतन्त्रकै मेरुदण्ड बन्दै आएको छ । मुलुकको कुल गाहस्र्थ उत्पादनमा विप्रेषणको हिस्सा करिब एक चौथाइ छ । त्यसमा खाडी मुलुकबाट आउने विप्रेषणको देन उल्लेख्य छ । सरकारले पनि संस्थागत रूपमै वैदेशिक रोजगारीमा जान १ सय ९ मुलुकलाई खुला गरेको छ । तर, खाडी मुलुकमा पुगेका नेपाली राजनीतिक गतिविधिमा संलग्न हुन थालेपछि भने त्यहाँ रोजगारी नै जोखिममा परेको छ । 
काम गर्ने र कमाउने विशुद्ध उद्देश्यले रोजगारीमा गएका नेपालीहरू विभिन्न बहानामा संगठित भएर आफूनिकट राजनीतिक दललाई सहयोग पुग्ने विभिन्न गतिविधिमा सामेल हुने गरेका छन् । राजनीतिक गतिविधिमा नेपाली कामदारको संलग्नतामा त्यहाँको सरकारकै आँखा पर्न थालेको छ । यस विषयमा कतिपय मुलुकले नेपाल सरकारलाई ध्यानाकर्षण पनि गराइसकेका छन् । कामदारले पठाउने विप्रेषणमा आधारित अर्थतन्त्रमा चलेको मुलुकका निम्ति यो राम्रो संकेत होइन ।
 
नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, राप्रपा नेपाललगायतका राजनीतिक दलहरूले खाडी मुलुकमा आआफ्ना भ्रातृसंगठन विस्तार गरेका छन् । यी संगठन विभिन्न बहानामा नेता लैजाने, भाषण गराउने, सहयोग उठाउनेजस्ता कार्यमा सक्रिय छन् । परिवारका लागि दुईचार पैसा जोहो गर्ने आसमा ऋणपान गरी अनेक कष्ट झेलेर नेपालीहरू खाडी मुलुक पुगेका हुन्छन् । 
उनीहरूलाई नियमित सहयोगका लागि बाध्यकारी बनाउनु राम्रो होइन । प्राय: खाडी मुलुकले आफ्नो भूमिमा कार्यरत विदेशीलाई धार्मिक र राजनीतिक सक्रियताको छुट दिएका छैनन् । आफ्नो देशबाट कलाकार लैजान, खेलकुद, सांस्कृतिकजस्ता कार्यक्रम गर्न भने सबैले पाउँछन् । तर, त्यही बहानामा नेपालीहरूले राजनीतिक क्रियाकलाप गर्न थालेपछि यसलाई सम्बन्धित सरकारहरूले आपत्तिको विषय बनाएका हुन् ।
 
नेपालमा राज्यव्यवस्था परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा सरिक पुस्ता युवा उमेरमै छ । मुलुकको राजनीतिक उतारचढावबाट अधिकांश नागरिक प्रभावित छन् । दलहरूको तहगत संरचना पनि गाउँ र टोलस्तरसम्मै फैलिएको छ । त्यसैले हरेकजसो नेपालीलाई राजनीतिप्रति चासो छ, यो स्वाभाविक पनि हो । तर, चासो हुनु र सक्रिय संलग्न हुनु फरक कुरा हो । श्रम सम्झौता गरेर काम गर्न अर्को मुलुक गइसकेपछि त्यहाँको प्रचलित नियम–कानुन मान्नैपर्छ । अनुदारवादी शासन व्यवस्था छ भने पनि त्यसलाई स्विकार्ने कबुलनामा गरेर गइसकेपछि राजनीतिक क्रियाकलापमा संलग्न हुँदा नकारात्मक असर पर्न सक्छ । 
विदेशमा काम गर्न जाने बाध्यतालाई अँगालिसकेपछि अनावश्यक गतिविधिमा नलाग्नु नै सबै कामदारको हितमा हुने छ । किनभने मुलुकभित्र कामको पर्याप्त अवसर सिर्जना हुन नसकेका बेला वैदेशिक रोजगार लाखौं नेपालीलाई आयआर्जनको माध्यम बनेको छ । खाडी मुलुकहरू साउदी अरब, ओमन, कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन मात्रै पनि १० लाखभन्दा बढी नेपालीका लागि रोजगार गन्तव्य हुन् । मुलुकको अर्थतन्त्रसमेत विप्रेषणले धानेको हुनाले वैदेशिक रोजगारीको अवसरलाई हामीले गुम्न दिनु हुँदैन । बरु यसका लागि नेपाली कामदारको अराजनीतिक छबि बनाउने र बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । 
 
खाडी मुलुकमा अवैध रूपमा जाने, प्रवेशाज्ञाको म्याद गुज्रे पनि बसिरहने र आपराधिक कार्यमा संलग्न हुने छिटफुट घटना नेपालीबाट हुँदै आएका छन् । तर, केही व्यक्तिको अवाञ्छित राजनीतिक क्रियाकलापमा संलग्नताले बढी जटिलता निम्त्याउन सक्छ । लाखौं नेपालीको रोजगार गुम्न सक्छ । यसले दुई देशबीचको सम्बन्ध पनि बिगार्न सक्छ । 
त्यसैले रोजगारमा जाने नेपाली नागरिक आफैं यो विषयमा सजग हुनुपर्छ । त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगहरूले पनि यस विषयमा सचेतना फैलाउनुपर्छ । नेपालका राजनीतिक दलहरूले पनि वैदेशिक रोजगारमा गएका नेपालीलाई देशभित्र झैं राजनीतिक गतिविधिमा सामेल हुन उक्साउने र उपयोग गर्ने कार्य बन्द गर्नुपर्छ । बरु, वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन उनीहरूको चासो र पहल अहिले चाहिएको छ ।
 
Published on: 4 January 2016 | Kantipur

Back to list

;