s

खाडीमा नेपालीको बाढी

अखण्ड भण्डारीहोम कार्की

कतार एयरवेजले काठमाडौं-दोहा रुटमा दैनिक चार उडान गर्छ । एउटामा सरदर दुई सयका दरले उसले ल्याउने-लाने ८ सय जनामध्ये अधिकांश नेपाली कामदार हुन्छन् । नेपाल एयरलाइन्स पनि साताको तीनपटक दोहा आउँछ । 

त्यतिमात्र कहाँ हो र ! फ्लाई दुबई, इत्तेहाद, गल्फ, बहराइन, विमान, जेटजस्ता एयरलाइन्सले अरू सयौं नेपाली कामदार दैनिक कतार लगायत खाडी मुलुक झार्छन् । नामै खाडी, उधुम गर्मी, मरुभूमि र बगरको उराठ— यस्तामा नेपाली किन यसरी ओइरिन्छन् हँ ? नेपालमा प्रत्येक वर्ष करिब ४ लाख श्रमयोग्य युवा तयार हुन्छन् । तीमध्ये अधिकांश कामदारका रूपमा विदेश पलायन हुन्छन् । गाउँघर रित्तिँदा छन् । कति गाउँमा त मलामी जाने पुरुषसमेत छैनन् । वैदेशिक रोजगार विभागका अनुसार हाल दैनिक सरदर ११ सय नेपाली श्रमका लागि विदेशिन्छन् । विदामा आएर र्फकनेसमेत जोड्दा यो संख्या १७ सय पुग्छ । गत आर्थिक वर्ष मात्र नयाँ/पुराना गरी वैदेशिक रोजगारका लागि आधिकारिक ढंगले ५ लाख ३० हजार ८ सय ५ जना उडेका थिए । 

कहाँ जान्छन् हँ यत्रा मान्छे ? 

अधिकांश खाडीमै आउँछन् ! मरुभूमि मुलुक भए पनि संसारलाई चकित बनाउनेगरी भएका विकास, आफ्नै कम जनशक्ति, नेपालीको लगनशीलता र इमानदारी तथा नेपालमा रोजगारका अवसर अभाव खाडीमा बाढी चल्ने मुख्य कारण हुन् ।  

कतारमा एउटा भनाइ चर्चित छ । मानौं बाटामा हिँड्दा-हिँड्दै झुक्किएर कसैलाई ठोक्कियो । अनुहारै नहेरी 'माफ गर्नुहोला' भन्नुस्, कुरा मिलिहाल्छ । किनकि ठोक्किने मान्छे नेपाली नै पर्ने सम्भावना धेरै हुन्छ । सुपरमार्केट, होटल वा कुनै पसलमा गएर नेपाली कुरा गर्नुस्— काम बन्छ । त्यहाँ पनि एक न एक नेपाली अवश्य हुन्छन् । 

कहाँ छैनन्, नेपाली अब कतारमा ! 

नेपाली कामदारको प्रमुख गन्तव्य पहिला मलेसिया थियो । अब कतारले उछिनेर पहिलो भएको छ । गत वर्षमात्रै १ लाख ५ हजार नेपाली यता आएका छन् । वैदेशिक रोजगार विभागका अनुसार अहिलेसम्म झन्डै ७ लाख नेपालीले श्रमका लागि कतार भूमिमा पाइला राखिसकेका छन् । कतार बाहेक खाडीकै अन्य मुलुकमा पनि नेपाली ओइरिने क्रम बढेको छ । जहाँ पुगौं, विदेश गएजस्तो लाग्दैन । 

खाडीमा उप्रीमाथि थुप्री नेपाली भए पनि दुःखसाथ भन्नुपर्छ— ७० प्रतिशतभन्दा बढी श्रमिक छन् । दक्ष र विशेषज्ञ नेपाली अति कम संख्यामा आएका छन् । दक्ष जेजति आएका छन्, राम्रो अवसर पाएका छन् । डाक्टर, इन्जिनियरदेखि म्यानेजर हुँदै भेडा चराउने ठाउँसम्म पुगेका छन्, नेपाली । कतिले गतिलै व्यापार व्यवसाय गरेका छन् । कति दलाली र ठगी धन्दामा बदनाम छन् । नेपाली जति समस्यामा परेका छन्, त्यसमा कुनै न कुनै रूपमा नेपालीकै हात छ । गतिला कम्पनी चलाउने, आफूलाई सामाजिक भनाउने, मञ्चहरूमा जहिल्यै अघिल्तिर बस्ने, मान/सम्मान पाइरहने कतिपय नेपालीलाई गहिरिएर हेर्नुभयो भने पीडक तिनै हुन्छन् ।   

राम्राको रोजाइ नेपाली नै 

नेपाली इमानदार र लगनशील छन् । खाडीमा यसको राम्रो प्रभाव परेको छ । ठूला र राम्रा कम्पनीको रोजाइ नेपाली हुने गरेका छन् । यसको प्रमाण हो, थ्री-सी कम्पनी । कतारकै ठूलो मानिने यस कम्पनीमा ५० हजारभन्दा बढी नेपाली काम गर्छन् । ठूलो संख्यामा नेपाली काम गर्ने गतिला अन्य कम्पनीमा मिकम्याक, गल्फ हाउजिङ, एचबीके, इजदान वकिर, टाइसर, साना टे्रडिङ, गु्रप फोर, क्युसीसी क्लिनिङ, बुम कन्ट्रक्सन आदि छन् ।  

 'नेपाली इमानदार, मिहेनती र लगनशील छन् भन्ने हाम्रो टे्रडमार्ककै रूपमा स्थापित भएको छ', दोहास्थित राजदूत मायाकुमारी शर्माले भनिन्, 'यसले पनि नेपालीको माग बढाइरहेको छ ।' 

गैरआवासीय नेपाली संघ, कतारका अध्यक्ष अमृत गुरुङ नेपाली समुदाय, नेताहरु र सरकारको बुझाइमा हाम्रा श्रमिक इमानदार, मिहेनती र लगनशील भए पनि त्यो छविअनुसार ज्याला दिलाउन नसकेकामा दुःखी छन् । 'तलब बढाएर कामदार घट्छन् भन्ने तर्कमा सत्यता देख्दिन', उनले  भने, 'म आइकन तीनपटक तलब बढाएको देखेको छु । तर नेपाली घट्नुको सट्टा अझ बढेका छन् ।' उनका अनुसार, यहाँ नेपालीले ६ सयदेखि ५५ हजार रियालसम्म तलब खान्छन् । 'उच्च तलब खाने नेपाली कम छन् । तर उनीहरु बाहिर आउन चाहँदैनन्', उनले भने, 'त्यसैले दुःखीको मात्रै कुरा बढी बाहिर आएका छन् ।'  

अदक्ष तहमा आएका नेपालीले पनि सीप बढाएर प्रमोसन हुने क्रम पनि बढेको छ । गैरआवासीय नेपाली संघका खाडी संयोजक नरेन्द्र भाटको अध्ययनमा इमानदार, लगनशील र मिहेनतीको छाप परेकै कारण कतार सरकारले नेपालीलाई पहिलो प्राथमिकतामा राख्न थालेको छ । उनका अनुसार, कुनै कम्पनीले नेपाली ल्याउन चाहेमा ८० प्रतिशतसम्मको अनुमति पाएको छ । 

यो बन्द समाजमा नेपाली महिलाको उपस्थिति पनि बढ्दै गएको छ । नेपाली महिला समाजकी अध्यक्ष रेखा राई भन्छिन्, 'पहिला हाउसमेड मात्रै आउने यहाँ अब दक्ष र अर्धदक्ष महिला पनि बढेका छन् ।' बढीजसो क्लिनरमा काम गर्छन् । उनका अनुसार, नर्सदेखि सररकारी निकाय र उच्च होटलमा नेपाली महिलाले महत्त्वपूर्ण जिम्मेवारी लिएका छन् ।   

कतारमा १० वर्षपछि हुनगइरहेको विश्वकपका लागि आवश्यक भौतिक बन्दोबस्तले नेपालीको माग अझ बढाएको छ । 'अहिलेसम्म यसका लागि भनेर कामदार ल्याएको छैन', भाटले भने, 'ल्याउन थालेपछि नेपाली कामदार ह्वात्तै बढ्नेछन् ।'  

हिँड्नै गाह्रो

स्याङजा बयरघारीका अमिर हम्जा २० नोभेम्बर १९८६ का दिन दोहा ओर्लिए । भोकले हत्तु भएर जैदा टावर वरिपरि भौंतारिए । मान्छे भिन्नै, भाषा भिन्नै, खाने कुराका नाम भिन्नै ! डरले लुगलुग काँपे । खाने कुरा किन्न सकेनन् । अहिले त्यही जैदा टावरको फेदमा जब पुग्छन्, नेपाली नै नेपाली भेटिन्छन् । विदाका दिन त खुट्टा टेक्ने ठाउँ पाउन गाह्रो पर्छ । 'नेपाली पार्क'का रूपमा चिनिने यो इलाकामा आश्चर्य नै मान्नुपर्छ, अरू देशका कोही हुँदैनन् । 'फुर्सद हुने बित्तिकै यही टावर मुन्तिर साथीभाइसँग पुग्छु', उनले भने, 'यो पार्क नेपालीकै लागिमात्र बनेको जस्तो भएको छ ।' 

अमिरसँगै कतार आएका तनहुँका करिम बक्स मियाँले पनि सुरुमा अत्यासलाग्दा दिन धेरै बिताए । 'म यो लाइनमा हिँड्न डराउँथें', २८ वर्ष अघिको क्षण सम्भ“mदै उनले भने, 'अहिले नेपाली दाजुभाइलाई पन्छाउँदै अघि बढ्नुपर्छ ।' हम्जा, बक्स, जबमर अली, चतुर मोहम्मद आदि कतार आउने नेपालीका पहिलो पुस्ता हुन् । 'हामी २४ जना एकैपटक यता आएका हौं', हम्जाले भने, 'अझै १४ जना यहीं काम गरिरहेका छौं ।'

अर्घाखाँचीका चेतन कँुवरको पीडाचाहिं अर्कै छ । उनी १२ जनवरी, २०११ मा अफिस ब्वाइका रूपमा कतार पुगे । 'चेतन नै नाम भएका आफ्नै काका छोराले पठाएको भिसामा आएँ । उनलाई ८५ हजार रुपैयाँ बुझाएको थिएँ । यहाँ आएपछि त्यो काम दिएनन् । तावुक -गारोजस्तै) लगाउने काम गर्नुपर्‍यो । सकी-नसकी तीन महिनासम्म गरें । त्यसपछि स्काफ फोल्डिङमा दुई महिना खटियो', उनी भन्छन्- 'यो बीचमा ६ सय रियालमात्रै पाएँ । बाँकी तलब पाइन । कम्पनीले निकालिदियो । त्यसपछि साथीको कोठामा बसेको एक वर्ष भइसक्यो । काम छैन । घर फिर्न पनि पाएको छैन ।'  उनका अनुसार, घर जान पाए दलाल भनाउँदो आफन्तलाई कानुनी कारबाही गर्ने थिएँ । देश र्फकन मिल्ने पत्र -खुर्ज) बनाइदिन त्यही कम्पनीमा लेखापालका रूपमा कार्यरत दाङका राजु पौडेललाई दुई हजार रियालसमेत बुझाएँ । ऊ पनि पैसा लिएर बेपत्ता भयो । 

श्रम सम्झौता खोई ?  

धेरै नेपाली भइसक्दा पनि खाडीका अधिकांश देशसँग नेपाल सरकारले श्रम सम्झौता गर्नसकेको छैन । सम्झौता लागू भएका देशमा जम्मा दुइटा हुन्- युएई र बहराइन । कतारसँग पाँच वर्षअघि भएको हो । तर कार्यान्वयनमा आएको छैन । त्यसका लागि दुई देशका प्राविधिक टोलीको बैठक बस्नसकेको छैन । यही नोभेम्बरमा बस्ने तय गरिएको थियो, तर भएन । कुवेत र साउदी सम्झौता गर्न तयार छन् । यसमा परराष्ट्र र श्रम मन्त्रालयले तयारी गरिरहेका छन् । तर सुस्त छ । नेपाली राजदूत मधुवन पौडेलका अनुसार, सम्झौताको मस्यौदा बनाएर पेस गर्न कुवेत सरकारले अनुरोध गरेको छ । 

'अवैध’ थपिएका थपियै

वैदेशिक रोजगारको दुःखद पाटो नै दलालको बदमासी र म्यानपावरको ढाँट प्रवृत्ति हो । जुन काम र जति तलबको कागज देखाएर नेपालबाट कामदार पठाउँछन्, सबैको त्यो मिल्दैन । तलब अति कम हुन्छ, काम धेरै गाह्रो । पासपोर्ट मालिकले लगिसकेको हुन्छ । विरोध गर्न कानुनले निषेध गर्छ । चुइँक्क बोल्न पाइँदैन । खाडी मुलुकका यस्तै कडा कानुन दुरुपयोग गर्दै मानव तस्करले नेपाली कामदारलाई सताउँदै आएका छन् । नेपाल सरकारले पनि त्यस्तालाई काम रोक्ने वा जसरी पनि क्षतिपूर्ति दिलाउने कडा नियम बनाउनसकेको छैन । 

त्यस्ता परिबन्धमा पर्ने कामदारको एकमात्र उपाय हुन्छ— रातारात कम्पनी छाडेर भाग्नु । प्रहरीको आँखा नपर्ने जंगल वा मजरा -खेतीपाती) का काममा नजिकका साथीलाई सम्पर्क गर्छन् र त्यतै पुग्छन् । त्यसपछि उनीहरूको हैसियत अवैध हुन्छ । त्यस्ताको संख्या खाडीमा बढ्दो छ ।  नेपाली दूतावासका अनुसार, साउदीमा अवैध नेपालीको संख्या ८० हजार छ । गतवर्ष त्यहाँबाट गैरकानुनी हैसियतमा बसेका ८ हजार नेपाली जेल बसेर स्वदेश फर्के । राजदूत उदयराज पाण्डे भन्छन्, 'गैरकानुनी हैसियतकालाई स्वदेश फिर्ता गराउन साउदी सरकारबाट आममाफी दिलाउने पहल भइरहेको छ ।'  

कतारमा यो संख्या ३० हजार छ । कतारले पनि अहिलेसम्म आममाफी दिएको छैन । गैरकानुनी हैसियतमा बसेकालाई प्रहरीले पक्राउ गरी 'डिपोर्टटेसन सेन्टर' जसलाई सीआईडी भनिन्छ) को हिरासतमा राखेर कानुनी प्रक्रिया पूरा गराई पठाउने यहाँको नियम छ । पक्रिनु त परै जाओस्, फर्किन चाहेर आफैं सेन्टर जानेलाई समेत उसले राख्ने ठाउँ नपुगेर 'पछि आउनु' भन्दै पठाइदिने गरेको छ । एकपटक 'अवैध' हविगत भएपछि घर फिर्तीको जेलमा बस्न पनि पालो कुर्नुपर्छ । करिब तीन हजार अवैध नेपाली रहेको युएईले डिसेम्बर ४ देखि फेब्रुअरी ४ सम्म छाड्नेलाई आममाफी दिने घोषणा गरेको छ । कुवेतले एक वर्षअघि आममाफी दिएको थियो । त्यतिखेर ४ हजारले घर जान कागज बनाए । तर दुई हजार जतिमात्र फर्के । अब त्यहाँ अवैध हैसियतमा करिब ७ हजार नेपाली छन् । 

कुन देशमा कति कामदार ?

देश                         ०६८ र ६९ मा गएको                    हालसम्म 

कतार                                   १,०५,६८१                           ४,८५,९०९ 

मलेसिया                               ९८,३६७                            ४,७७,९०८  

साउदी अरब                           ८०,४५५                            ३,४५,३९३ 

युएई                                       ५४,४८२                           २,३४,३३६  

कुवेत                                      २४, ५७५                            ५४, ७१६  

बहराइन                                    ५, ८६५                              १६, २७२  

ओमन                                        ३, १६३                             १५, ७०७ 

हालसम्म जम्मा             २५,९०,०९३

पुरुष      ९७.०६ प्रतिशत 

महिला     २.९४ प्रतिशत 

स्रोत ः वैदेशिक रोजगार विभाग 

यसमा सेटिङ गरेर र दोस्रो देशको बाटो प्रयोग गरी खाडी जानेको तथ्यांक छैन ।

Published On: 24 November 2012 | Kantipur

Back to list

;