s

खाडीमा दक्ष कामदार पठाइने

तुलसी सुवेदी 

काठमाडौं : खाडी तथा मलेसियामा प्राविधिक कामदार पठाउने तयारी सुरु भएको छ। कामदारलाई दक्ष बनाएर प्राविधिक कामदार पठाउन सरकारले गृहकार्य सुरु गरेको हो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्राविधिक तथा दक्ष कामदार पठाउन पहल सुरु गरेको जनाएको छ। मन्त्रालयले गन्तव्य मुलुकको सहयोगमा श्रमिकलाई सीप सिकाएर पठाउने योजना बनाएको हो। उच्च दक्ष, प्रोफेसनल तथा दक्ष श्रमिक पठाउने योजना सरकारले ल्याएको छ। आबुधावी डायलगका क्रममा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले दक्ष कामदार लिइदिन रोजगारदाता मुलुकसँग आग्रह गरे। 

वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा ३९ हजार ६ सय ७१ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन्। त्यसमध्ये उच्च दक्ष ११ जना, प्रोफेसनल २३ जना र दर्धदक्ष ३ हजार ५१ जना  वैदेशिक रोजगारीमा गएका छन्। दक्ष १४ हजार ३६ र अर्धदक्ष २२ हजार ५ सय ५० जना वैदेशिक रोजगारीमा पुगेका छन्।

विभागका अनुसार आव २०७७/०७८ मा १ लाख ६६ हजार ६ सय ९८ जना वैदेशिक रोजगारीमा गएकोमा उच्च दक्ष ६१ जना, प्रोफेसनल २ सय ४६, अर्धदक्ष १५ हजार ५सय ८३, दक्ष ७० हजार ४ सय २६, अदक्ष ८० हजार ३ सय ८२ जना रोजगारीमा पुगेका छन्। वैदेशिक रोजगारीमा जानेमा ७५ प्रतिशतभन्दा बढी अदक्ष छन्। अब सरकारले सीप सिकाएर मात्र श्रमिक पठाउने योजना बनाएको छ। गन्तव्य मुलुकबाटै सीपमूलक तालिम गराएर दक्ष कामदार पठाउने नेपालको योजना छ। नेपालले खाडी मुलुकका श्रममन्त्रीसँग सीपमूलक तालिम सिकाएर दक्ष तथा व्यावसायिक श्रमिक आपूर्ति गर्न प्रस्ताव गरेको हो।

श्रममन्त्री श्रेष्ठले यूएईका मानव संसाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारसँग भेट गरी यूएईमा कार्यरत नेपाली श्रमिकको हकहित र सामाजिक सुरक्षाका विषयमा यूएईमा छलफल गरे। नेपालले द्विपक्षीय बैठक आयोजना गर्ने, सीपमूूलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार यूएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायतका विषयमा छलफल भएको छ।

नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रमसचिव सूर्यप्रसाद गौतमले कतार, साउदी अरेबिया र मलेसियाका समकक्षीसँग छुट्टाछुट्टै भेटवार्ता गरे। कतारसँग द्विपक्षीय श्रम सम्झौता, नोभेम्बर ८ र ९ मा हुने संयुक्त बैठकको तयारीका साथै तालिम केन्द्र स्थापनाको विषयमा छलफल भयो। साउदीमा द्विपक्षीय श्रमसम्झौता, श्रमिकको क्षमता परीक्षण प्रणालीमा साउदीको सहयोग लिने, तालिम केन्द्र स्थापनाको विषयमा छलफल भयो। मलेसियासँग संयुक्त समितिको बैठक छिट्टै गर्ने, सामाजिक सुरक्षाको दायरा वृद्धि गर्ने र नेपाली श्रमिकको मृत्युको कारण र रोकथामका साथै मलेसियामा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन सहजीकरण गर्ने विषयमा छलफल भएको मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले बताए।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको बताए। श्रम अधिकार तथा नेपाली श्रमिकको सीप विकासका विषयमा भएको छलफल उपलब्धिमूलक भएको उनको भनाइ छ।  यूएईमा श्रम, सीप तथा लगानीको क्षेत्रमा रहेका अवसर र चुनौतीबारे छलफल भएको छ। नेपालको महत्त्वपूर्ण श्रम गन्तव्यका रूपमा रहेको यूएईमा दुई लाखभन्दा धेरै नेपाली कार्यरत छन्।

विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार हालसम्म ६४ लाख नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्। त्यसको ८० प्रतिशत खाडी तथा मलेसियामै केन्द्रित छन्।

Published on: 29 October 2021 | Annapurna Post

Link

Back to list

;