s

खाडीमा ६३ डिग्री, दिउँसो काममा रोक

होम कार्की

तापक्रम ६३ डिग्रीसम्म पुगेपछि खाडीका ६ देशले मध्याह्नको समयमा काम गराउन कम्पनीहरूलाई रोक लगाएका छन् । बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, कतारले १५ जुनदेखि ३१ अगस्टसम्म, साउदी अरबले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म र यूएईले १५ जुनदेखि १६ सेप्टेम्बरसम्म मध्याह्नको समय काम गर्न रोक लगाउने निर्णय गरेका हुन् । उनीहरूले निर्णय उल्लंघन गर्ने कम्पनीलाई कारबाही गर्ने जनाएका छन् ।

बहराइनले मध्याह्न १२ देखि ४ बजेसम्म, कुवेतले बिहान ११ देखि ४ बजेसम्म, ओमनले मध्याह्न १२.३० देखि ३.३० सम्म, कतारले ११.३० देखि ३ बजेसम्म, साउदीले १२ देखि ३ बजेसम्म र यूएईले १२.३० देखि ३ बजेसम्म काम गराउन रोक लगाएका छन् । खाडीको तापक्रम विगतभन्दा निकै बढेको छ । कुवेतमा अहिलेसम्मकै उच्च ६३ डिग्रीसम्म तापक्रम मापन भएको छ ।
 
खाडीमा झन्डै १० लाख ७० हजार नेपाली कार्यरत छन् । ती मुलुकका नेपाली दूतावासका अनुसार जुनदेखि अगस्टसम्म नेपाली कामदारको बढी ज्यान जाने गरेको छ । साउदी र कतारमा हरेक दिनजसो एक नेपालीको मृत्यु हुन्छ । ‘गर्मी अत्यधिक भएकाले कामदारले निकै सतर्कता अपनाउन जरुरी छ,’ साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने, ‘हामीले सुरक्षाका उपाय अपनाउन सूचना जारी गरिरहेका छौं ।’ कामदारको स्वास्थ्य सुरक्षाका लागि घाममा काम गराउन रोक लगाएको कतार सरकारद्वारा जारी सूचनामा उल्लेख छ ।
 
निर्णय उल्लंघन गर्नेलाई बहराइनले तीन महिना जेल र ५ सयदेखि एक हजार दिनारसम्म जरिवाना लगाउने घोषणा गरेको छ । कुवेतले प्रतिकामदारबापत एक सय केडीदेखि २ सय केडीसम्म जरिवाना लगाउने र पटक–पटक उल्लंघन गर्नेलाई तीन वर्षसम्म जेल सजाय हुने जनाएको छ । ओमनले काम रद्द गराउने दाबी गरेको छ ।
 
कतारले एक महिनासम्म कार्यक्षेत्र बन्द गराउने निर्णय गरेको छ । साउदीले ३ हजार रियाल र यूएईले पहिलो पटक उल्लंघन गर्नेलाई १० हजार दिराम र न्यूनतम ३ महिनाका लागि कम्पनीलाई तेस्रो वर्गमा घटुवा गर्ने कानुन बनाएको छ । दोस्रो पटक पनि उल्लंघन गरेमा १५ हजार दिराम जरिवाना र ६ महिनासम्म काम गर्न अनुमति नदिइने र तेस्रो पटक गरेमा २० हजार दिराम जरिवाना र ९ महिनासम्म काम गर्न अनुमति नदिइने कानुन बनाएको जनाएको छ ।
 
आराम गर्ने समयमा कार्यस्थलमा चिसोपानीको व्यवस्था गर्न, घाम छेकिने ठाउँमा राख्न, कार्यक्षेत्रनजिकै ‘एयर कन्डिसन’ बस राख्नसमेत निर्देशन दिइएको छ । सरकारको निर्णयसँगै ठूला कम्पनीले काम गर्ने समय परिवर्तन गरेको छ । ‘हाम्रो कम्पनीले साँझ ६ देखि बिहान ६ बजेसम्म काममा लगाउन थालेको छ,’ कतारमा कार्यरत खोटाङका राजु राईले भने, ‘दिनभरि आराम गर्ने हो ।’ साना कम्पनीले पनि बिहान ६ बजे साइटमा लगेर छोड्न थालेका छन् ।
 
‘मध्याह्न कार्यक्षेत्रमै आराम गर्ने हो तर आराम गर्ने उपयुक्त स्थान छैन, निकै गाह्रो हुन्छ,’ साउदीको दमाममा कार्यरत धनुषाका रामलाल कर्णले भने, ‘शरीरको नुन सबै पसिनाबाटै बग्छ । कमजोर भएर साथीहरू साइटमा ढल्छन् । चिसो कोठा छैन । बेलुका क्याम्पमा पुग्दा शरीर सेतै भइसक्छ ।’
 
Published on: 18 June 2019 | Kantipur

Back to list

;