s

खाडीको हण्डरपछि गाउँमै उद्यम

गोकर्ण दयाल

बैतडी, पुस ११ गते । रोजगारीका लागि खाडीमुलुक छिरेका बैतडीका चक्रराज पन्त त्यहाँको हण्डर सहन नसकेपछि अहिले स्वदेशमै उद्यमी बन्नुभएको छ । बाह्य मुलुकमा सोचेजस्तो नभएपछि पाँच वर्ष दुबइ बसेर स्वदेश फर्किनुभएका पन्तले अहिले गाउँमै चाउमिन उद्योग खोलेर मासिक दुई लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । 

बैतडीको पाटन नगरपालिका– ६, लामाखेतका चक्रराज पन्तले गाउँमा चाउमिन उद्योग खोलेर दैनिक डेढ क्विन्टल उत्पादन गर्दैआएको बताउनुभएको छ । चाउमिन उद्योगमा दुई जनालाई रोजगारी समेत दिनुभएका पन्तले उत्पादित चाउमिन बिक्रि गर्न पनि आफै दोडधुप गर्नुभएको छ ।

पन्तको उद्योगमा उत्पादित चाउमिन बैतडी सदरुमकामदेखि जिल्लाका अधिकांश ठाउँमा माग हुने गरेको छ । मोटरसाइकलमा ढुवानी गरेर दैनिक डेढ क्विन्टल ताजा चाउमिन प्रतिकिलो ७५ रुपियाँका दरले बिक्री गर्नेगरेको पन्तले बताउनुभयो ।

पन्तले भन्नुभयो, “हामीले गाउँमै चाउमिन उद्योग सञ्चालन गरेपछि अहिले भारतबाट आयात हुने चाउमिन रोकिएको छ । स्थानीय पालिका र जिल्ला सदरमुकाममा चाउमिनको बढी माग आउने गरेको छ । दैनिक ५० किलोमिटर मोटरसाइकलको यात्रा गरेर बैतडी सदरमुकाममा चाउमिन आपूर्ति गर्दै आइरहेका छौं ।”

पन्तले गाउँमै उत्पादन गरेको चाउमिन ताजा र स्वादिष्ट भएको सदरमुकामस्थित मोहित स्वीटका सञ्चालक मोहित पाण्डेयले बताउनुभयो । बैतडी सदरमुकाममा मात्रै करिब एक क्विन्टल चाउमिन दैनिक बिक्री हुनेगरेको पन्तले बताउनुभयो । अत्याधुनिक मेशिन जडान गरेर चाउमिन उद्योग सञ्चालन गर्दा बिजुली बत्ती अनियमित हुँदा समस्या हुनेगरेको छ । जेनेरेटरका लागि स्थानीय तहसँग माग गरेपनि सुनुवाई नभएको पन्तको गुनासो छ ।

“चाउमिन उद्योग खोल्दा करिब सात लाख रुपियाँ लगानी भयो । दुई जना स्थानीयलाई गाउँमै रोजगारी दिएको छु,” पन्तले भन्नुभयो, “स्थानीय सरकारबाट कुनै प्रोत्साहन भएको छैन । मैले चाउमिन उद्योग सञ्चालन गर्दा गाउँमा फलेको बन्दाको पनि बिक्री बढेको छ ।”

Published on: 27 December 2021 | Gorkhapatra

Link

Back to list

;