s

खाडीका युवा सम्झँदै पाका मतदाता

रोशन राउत/सन्तोष यादव
 
वैदेशिक रोजगारमा गएका युवाले पठाएको ‘रेमिट्यान्स’ ले राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको दुईमत छैन । वैदेशिक रोजगारीकै आडमा समाजमा सामाजिक विकृति पनि बढ्दो छैन, राष्ट्रिय राजनीतिमा समेत गहिरो नकारात्मक प्रभाव पार्दै गएको छ ।
 
देशभरबाट दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि जाने क्रम जारी रहँदा देशभित्र हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको महत्वपूर्ण निर्वाचनमा समेत यसको प्रभाव देखिएको छ ।अहिले तराईका जिल्लामा बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल बढ्दो छ । तर, त्यो चहलपहलमा युवाको उपस्थिति भने अत्यन्तै न्यून छ ।
 
‘देश विकासमा युवाको महत्वपूर्ण भूमिका हुन्छ । निर्वाचनको संघारमा देशको नेतृत्व सम्हाल्न अगाडि आउनुपर्ने युवा भने खाडी राष्ट्रमा पसिना बगाउन बाध्य छन् । देशकै लागि यो सबैभन्दा ठूलो दुर्भाग्य हो’, सिरहा सदरमुकामका बुद्धिजीवी अनिरुद्र ठाकुर भन्छन् ।
आर्थिक वर्ष ०६७-६८ देखि ०७३-७४ को वैशाख मसाप्तसम्मको तथ्यांकअनुसार सिरहाबाट मात्र वैदेशिक रोजगारीमा जानेको संख्या ९४ हजार दुई सय ७५ छ । तीमध्ये पुरुष ९४ हजार एक सय ४४ र महिला एक सय ३१ छन् । यो सरकारी तथ्यांक मात्र हो । यसबाहेक गाँस, बास र कपासको जोहो गर्न छिमेकी राष्ट्र भारतका विभिन्न सहरमा भौंतारिइरहेका युवाको संख्यासमेत जोड्दा तथ्यांक अझ गम्भीर बन्न सक्छ ।
 
‘जिल्लाको ग्रामीण क्षेत्रमा चरम गरिबी छ, रोजगारीको अवसर छैन । अधिकांश जनतालाई हातमुख जोड्नै समस्या छ । यस्तो स्थितिमा यहाँका युवासँग जीवन धान्न मलेसिया र खाडी राष्ट्रतर्फ होमिनुको विकल्प छैन’, ठाकुर भन्छन् । देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीति गर्ने दलले समेत आफ्नो घोषणापत्रमा युवा पलायनलाई रोक्ने प्रभावकारी उपाय अघि सार्न नसकेको ठाकुरको आरोप छ।
 
‘राजनीतिक दलको घोषणापत्रमा समेत युवा पलायनलाई रोक्ने स्पष्ट योजना छैन । जबसम्म राज्य ठोस र प्रभावकारी योजनासहित अगाडि आउँदैन तबसम्म हाम्रा गाउँघर युवाविहीन रहने निश्चित छ’, उनी भन्छन् ।ठाकुरको विचारमा युवावर्ग समय र समाज सँगसँगै अगाडि बढेका हुन्छन् । उनीहरूमा विकास र परिवर्तनको चाहना पनि बढी हुन्छ ।
 
यसैगरी, आफ्नो राष्ट्र, समाज र राजनीतिबारे विश्लेषण गर्न सक्ने क्षमता पनि बोकेका हुन्छन् युवाले । ‘देश विकासका लागि त युवा नै राजनीतिमा आउनुपर्छ तर हाम्रो विडम्बना, देश चलाउने नेता छान्नसमेत युवा गाउँघरमा छैनन्’, उनी भन्छन् ।सिरहा नवराजपुर—२ का जयनाथ यादव पनि दल र तिनका उम्मेदवारले युवा पलायनलाई रोक्ने प्रभावकारी योजना अघि सार्न नसकेको गुनासो गर्छन् ।
 
‘गाउँघरको समस्या एउटा छ, हाम्रा नेता अर्थ न बर्थका आश्वासन बाँडेर हिँड्छन्’, यादव भन्छन्, ‘युवा निरास छन्, हामीजस्ता बेरोजगार युवा रोजगारी ग्यारेन्टी गर्ने सरकारको खोजीमा छौं । खाडी मुलुक हाम्रै युवाशक्तिको भरमा धनी÷सम्पन्न बन्दै छन् तर हाम्रो सरकार र राजनीतिक दललाई भने युवाशक्ति बिदेसिएकामा कुनै चिन्ता छैन ।’
 
यसैगरी, सिरहा इँटाटारका धर्मेन्द्र पासवान जन्ती र मलामी जाने युवासम्म गाउँमा पाउन छाडिएको दुखेसो पोख्छन् । ठूलो संख्यामा युवाको पलायनका कारण नै समाजमा विभिन्न खाले विकृति बढ्न थालेको र विकराल समस्याका रूपमा देखिएको बेरोजगारीका कारण युवा बाध्यताले आपराधिक कार्यमा संलग्न हुने प्रवृत्ति बढ्दै गएको पनि उनको ठम्याइ छ ।
 
‘देश बनाउनुपर्ने युवा खाडीमा छन्, जोस जाँगर सकिएका प्रौढहरू देश चलाउने नारा बोकेर मत माग्न घरघर चहार्दै छन् । गाउँघरमै भएका केही युवा पनि विरक्तिएर लागुऔषधको कुलतमा फसेका छन् । यही हो, हाम्रो देशको यथार्थ’, धर्मेन्द्र गुनासो गर्छन्, ‘यो निर्वाचनमा मत खसाल्न त बूढापाका र महिला मात्र गाउँघरमा छन् ।’ उनी राजनीतिक दल र तिनका उम्मेदवारसँग प्रश्न गर्न चाहन्छन् रे, ‘तपाइँहरू पालैपालो देश हाँक्नुहुन्छ तर, यहाँका युवाले किन रोजगारी पाउन सकेनन् ? जिल्लामा किन एउटा पनि उद्योग स्थापना हुन सकेन ? गाउँघरमा बाँकी रहेका युवाले तपाइँहरूलाई भोट किन दिने ? ’
 
सिरहा राजपुरका वीरेन्द्र यादव युवा शक्तिका लागि देशभित्रै रोजगारीको अवसर सिर्जना अब समृद्धिको लडाइँ लड्न सरकार र राजनीतिक दलका नेतालाई सुझाव दिन चाहन्छन् । ‘मधेसका जिल्लामा बन्द रहेका उद्योग र कलकारखानालाई मात्रै पनि सरकारले सञ्चालनमा ल्याउन सक्यो भने लाखौं युवाले रोजगारी पाउँछन् । देशमा बन्द, हडताल, नाकाबन्दी र द्वन्द्व पनि धेरै भयो । अब युवा शक्तिलाई अघि सारेर देश विकासमा लाग्नुको विकल्प छैन’, वीरेन्द्रको सुझाव छ ।
 
Published on: 4 December 2017 | Annapurna Post

Back to list

;