s

खाडीका तीन देशमा कामदार नपठाउँने संघको चेतावनी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरब, ओमान र बहराइन जाने कामदारले स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान नभए ती देशका लागि कामदार पठाउन बन्द गर्ने बताएको छ ।
 
साउदी अरब, ओमन र बहराइन जाने कामदारले स्वास्थ्य परीक्षणका लागि अनलाइन आवेदन भरेर क्रेडिट वा मास्टर कार्डमार्फत शुल्क भुक्तानी गर्नुपर्ने भएपछि गत शुक्रबारदेखि ती तीन मुलुकमा रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।
 
संघका कार्यवाहक महासचिव तथा साउदी संयोजक ईश्वर जीसीका अनुसार शुक्रबार अघिसम्म दैनिक ३ सय ५० जना कामदारले ती तीन देशका लागि मेडिकल गर्दै आएका थिए ।
 
त्यस विषयमा आइतबार संघका अध्यक्ष रोहन गुरुङको नेतृत्वको एक टोलीले वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई भेटी यथासक्य छिटो समस्याको समाधान खोज्न आग्रह गरेका थिए ।
 
जवाफमा महानिर्देशक आचार्यले आफूले श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने बताएका थिए । त्यस लगत्तै संघको टोली मन्त्रालय गएको थियो तर मन्त्रालयमा सचिवसँग भेट हुन नपाएको बताइएको छ । हाल मन्त्रालय मन्त्रीविहीन रहेको छ । मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीको मातहत रहेको छ ।
 
साउदी संयोजक जीसीले खाडीको अर्को रोजगार गन्तव्य यूएईले असल चाल चलनको पुलिस रिपोर्ट अनिवार्य गरेर नेपाली कामदारहरुलाई आर्थिक भारसहित सास्ती दिई अन्तर्राष्ट्रिय बेइज्जतीको अवस्थामा पु¥याएको बेला साउदी अरब, ओमन र बहराइन जाने कामदारले पनि सास्ती बेहोर्नुपरेपछि व्यवसायीहरु आगामी तीन दिनभित्र समस्या समाधान नभए कामदार पठाउने प्रक्रिया बन्द गर्ने सोचमा पुगेको मध्यान्ह राष्ट्रिय दैनिकलाई बताए । अब साउदी अरब, ओमन र बहराइन जाने कामदारले अनलाइनमा आवेदन भरेर त्यसैका आधारमा तोकिएका मेडिकलमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था छ ।
 
नेपालसहित इन्डोनेसिया र श्रीलंकामा गाम्का संस्था खारेज गरेको गल्फ को अपरेसन काउन्सिल (जीसीसी)ले कामदारले स्वास्थ्य परीक्षणका लागि अनलाइन मार्फत १० अमेरिकी डलर भुक्तानी गरी जीसीसी स्लिप जेनरेट गरी आफूलाई पायक पर्ने मेडिकल संस्थामा स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएको छ । यस अतिरिक्त स्वास्थ्य परीक्षणका लागि पुरानै ५ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने छ ।
 
Published on: 5 March 2018 | Madhyanha

Back to list

;