s

खाडीका राम्रा कम्पनीमा मात्रै कामदार

मागपत्र जाँचबुझ निर्देशिका

खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् । कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरूले नयाँ नेपाली कामदार लैजान नपाउने नीति कडाइका साथ लागू गर्न थालेका हुन् ।

साउदी अरबस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले कम्पनीको हैसियत हेरेर मात्रै नेपाली ल्याउन अनुमति दिन थालिएको बताए । ‘जुन कम्पनीले नेपाल सरकारले तोकेको न्यूनतम तलब निर्धारण गरेको छ । नेपाली कामदारले समस्या भोगेका छैनन्, त्यस्तोलाई मात्रै कामदार ल्याउन अनुमति दिन थालेका छौं,’ शर्माले भने । शर्माका अनुसार साउदीमा कामदार अलपत्र बनाउने म्यानपावरको नयाँ डिमान्डसमेत रोकिएको छ । ‘जुन म्यानपावरले ल्याएका कामदार समस्यामा छन् र उसले अर्को कम्पनीको डिमान्ड ल्याएर अनुमति मागेको अवस्थामा कामदार ल्याउने अनुमति दिइएको छैन,’ उनले भने ।
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख ३१ देखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका’ कार्यान्वयन गर्न नेपाली दूतावासलाई अख्तियारी दिएपछि कम्पनी र म्यानपावरमाथि कडाइ गर्न थालिएको हो । नेपाली दूतावासलाई विश्वास लाग्ने कागजात पेस गरे मात्रै रोजगारदाताले नेपाली कामदार लैजान पाउनेछन् । निर्देशिकाअनुसार रोजगारदाताले दूतावाससमक्ष कार्यरत नेपाली कामदारको अवस्था, उनीहरूको पछिल्लो तीन महिनाको पारिश्रमिक वितरणको अवस्था, कार्यस्थल, आवास, स्वास्थ्य र सुरक्षासम्बन्धी अवस्था, रोजगारदाताको वैधानिकतालगायत कागजात पेस गर्नुपर्छ । निर्देशिकाअनुसार अब नेपाली कामदार लैजाने कम्पनी मागपत्र प्रमाणीकरण गर्न आफैं नेपाली दूतावास पुग्नुपर्छ । दूतावासले मागपत्र प्रमाणीकरण/अभिलेख नगरेसम्म कामदार ल्याउने प्रक्रिया सुरु हुँदैन । ‘हामीले कतारका कम्पनीलाई तीन तहमा वर्गीकरण गरेका छौं । भिसा, टिकटको खर्च बेहोर्नुका साथै म्यानपावरलाई सेवा शुल्क दिने कम्पनीलाई कामदार ल्याउन तुरुन्तै अनुमति दिन्छौं,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘फिल्ड अनुगमनसमेत गरिएको छ ।’
 
मागपत्र दूतावासबाट मात्रै प्रमाणीकरण हुने भएपछि रोजगारदाता कम्पनी दूतावासप्रति गम्भीर देखिन थालेका छन् । ‘कुनै कम्पनीमा पुराना नेपाली कामदारको समस्या छ भने त्यो समाधान नगरेसम्म नयाँ कामदार लान पाउने स्थिति अब छैन,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने। प्रमाणीकरणले रोजगारदाता कम्पनीबाट नेपाली कामदारले तलब, सेवासुविधा पाउने ग्यारेन्टी हुने स्थिति बनेको छ । खाडी देशमध्ये कतारले मात्रै न्यूनतम तलब ७ सय ५० रियाल तोकेको छ । अरू देशले कामदार र कम्पनीबीच जति सम्झौता हुन्छ, त्यति नै तलब दिलाउने जिम्मेवारी लिन्छन् ।
 
Published on: 15 June 2018 | Kantipur

Back to list

;