s

खाडीका नेपालीलाई फर्कन समस्या

होम कार्की

काठमाडौँ — कतारबाट घर फर्कने तयारीमा रहेका काभ्रेका महेश्वर नेपालको टिकट निश्चित भइसकेको छैन । ६ वर्षदेखि कतार एयरवेजमा कार्यरत उनको बिहीबार करार अवधि सकिएको छ ।

‘कम्पनीले अझै हिसाबकिताब फाइनल गरिसकेको छैन, मैले लिनुपर्ने हिसाबकिताब भोलि दिउँसोसम्म सकिएन भने स्वदेश फर्किने योजना तत्कालका लागि रोकिने सम्भावना बढ्यो,’ दोहास्थित आफ्नो कोठामा बसिरहेका नेपालले टेलिफोनमा भने ।

सरकारले बिहीबार राति १२ बजेदेखि वैशाख ३ गते (अप्रिल १५) सम्म कोभिड–१९ को संक्रमण फैलिएका खाडी क्षेत्रका सहित सबै मुलुकबाट हुने आवतजावतमा प्रतिबन्ध लगाएको छ । वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसियामा रहेका नेपाली कामदार शुक्रबार बिहानबाट नेपाल आउन पाउने छैनन् ।

बिदा वा करार अवधि समाप्त गरेर स्वदेश फर्कने तयारीमा रहेका नेपाली कामदार वैशाख ३ सम्म सम्बन्धित देशमै बस्नुपर्नेछ । ‘म बिदामा आउने तयारी गर्दै थिएँ, यो निर्णयले मेरो यात्रा रद्द हुने भयो,’ संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत स्याङ्जाका लक्ष्मण खनालले भने । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार सामान्य अवस्थामा दैनिकजसो ८ हजार यात्रु नेपाल आउने गरेका थिए । जसमा झन्डै ३५ सय नेपाली हुन्थे । विभिन्न देशमा कोरोनाको संक्रमण देखिन थालेपछि भने यो संख्या घटेको छ । गत फागुन १८ देखि चैत ४ सम्म ५० हजार ८ सय ७० नेपाली त्रिभुवन विमानस्थलको अध्यागमनबाट भित्रिएका छन् । जसमा ११ हजार ९ जना महिला छन् ।

साउदी अरब, कुवेत, ओमानले उडान बन्द गरेपछि ती मुलुकबाट आउने नेपाली कामदार रोकिएका छन् । कतार एयरवेजको उडान नियमित छ । बुधबार बेलुका ६ बजेसम्म १५ सय ४५ जना नेपाली स्वदेश फर्केका छन् । जसमा ४ सय ९२ जना महिला छन् ।

कतार, कुवेत, साउदी अरब, यूएई, ओमान, बहराइन र मलेसियाले भीडभाड रोक्न कडा कदम चालेका छन् । यी देशमा कोरोना संक्रमण हुनेको संख्या हरेक दिनजसो बढिरहेको छ । कतारमा झन्डै ३ लाख ५१ हजार कार्यरत छन् । कुवेतमा ७० हजार, साउदी अरबमा तीन लाख ५० हजार, यूएईमा दुई लाख ५० हजार, ओमानमा १५ हजार, बहराइनमा ३० हजार र मलेसियामा दुई लाख २५ हजार नेपाली रहेका छन् ।

मलेसियाले बुधबारदेखि लागू हुने गरी लकडाउन गरेको छ । अत्यावश्यक क्षेत्रबाहेकका ठाउँमा काम गर्नसमेत रोकिएको छ । ‘मलेसियाका सहरहरू सुनसान छन् । कर्फ्यु नै लागेको जस्तो छ । भेला हुन दिइएको छैन,’ क्वालालम्पुरमा कार्यरत वेदकुमार खतिवडाले भने, ‘ठूला कम्पनी बन्द छन् । केही साना तथा मझौला कम्पनीमा भने बिदा दिइएको छैन । जसको कम्पनी र क्याम्प एकै ठाउँमा छन् । उनीहरू भित्रै काम गरिरहेका छन् ।’

Published on: 19 March 2020 | Kantipur

Link

Back to list

;