s

खाडीका चारबाहेक मुलुकमा घरेलु कामदार खुला गर्न सरकार सकारात्मक

सरकार खाडीका साउदी, कुवेत, बहराइन र ओमान बाहेक अन्य मुलुकहरूमा घरेलु कामदार खुला गर्न सकारात्मक देखिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकबाट सरकार मलेसिया तथा खाडीका कतार र संयुक्त अरब इमिरेट्स (युएई)मा घरेलु कामदार खुला गर्ने विषयमा सकारात्मक देखिएको हो।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव बैकुण्ठ अर्याल, श्रमसचिव गृहसचिवऽ परराष्ट्रसचिव तथा विभिन्न गन्तव्य मुलुकस्थित नेपाली नियोगका राजदूत, महावाणिज्यदूत र सम्बन्धित मन्त्रालयका सहसचिवहरू छलफलमा सहभागी थिए।

'अहिले घरेलु कामदार बन्देज लगाइए पनि जाने क्रम रोकिएको छैन। विभिन्न अवैध प्रकृया र बाटो प्रयोग गरेर जाँदा जोखिम बढेको छ। जसले गर्दा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कामदारको सुरक्षा ग्यारेन्टी हुने मुलुकमा घरेलु कामदार पठाउन सकिने छलफल भएको छ,' वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारीका उप्रेतीले भने।

उनले साउदी, कुवेत, बहराइन र ओमानमा घरेलु कामदारलाई निकै जोखिम रहेका कारण यी मुलुकमा तत्काल घरेलु कामदारका लागि बाटो खुला गर्न नसकिने बताए।

'यी मुलुकमा महिलामैत्री कानुन छैन। घरेलु काममा जाने अधिकांश महिला नै हुने हुँदा पनि यी मुलुकमा जोखिम देखिएको छ,' उनले थपे।

श्रम मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसालकाअनुसार मलेसिया, युएई र कतारमा पनि सोझै कामदार पठाइहाल्ने पक्षमा भने सरकार छैन।

यी मुलुकमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार श्रमिकको हकहित तथा सुरक्षा ग्यारेन्टी हुनेगरी दुई पक्षीय समझदारी गरेर पठाउन सकिने विषयमा सरकार सकारात्मक देखिएको हो।

'आवश्यकता हेरेर सुरक्षित मुलुकमा खुला गरौं भन्ने हाम्रो प्रस्ताव हो,' उनले भने।

नेपालीहरू घरेलु कामदारका रूपमा जाने प्रमुख गन्तव्य मुलुकहरू कुवेत, साउदी अरब, युएई, लेबनान, जोर्डन लगायत हुन्।

घरेलु कामदारका रूपमा पुरूषभन्दा धेरै महिला जाने गर्छन्। तर, २०७२ सालदेखि नेपालले जोर्डन तथा इजरायलमा मात्रै घरेलु कामदार पठाउँदै आएको छ। त्यसबेला संसदको तत्कालीन अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ठोस कानुन नबन्दासम्म मलेसिया तथा खाडीमा घरेलु कामदारका रूपमा पठाउन रोक लगाउन निर्देशन दिएको थियो।

फेरि २०७७ असोजको दोस्रो साता संसदीय समितिले निर्देशन सच्यायो। विभिन्न शर्त पूरा भएका मुलुकमा घरेलु कामदार खुला गर्न सकिने निर्देशन समितिले दिएको छ। जसमा नेपालबाट घरेलु कामदार लैजान इच्छुक मुलुकमा कामदारको सेवा, शर्त, सुविधासम्बन्धी छुट्टै कानुनी व्यवस्था हुनुपर्ने उल्लेख छ।

त्यस्तै, श्रम सम्झैता पनि गरिनुपर्नेछ। सम्झौतामा पारिश्रमिक, बिदा, स्वास्थ्य उपचार, बीमा जस्ता अतिरिक्त सुविधा सुनिश्चित हुनु पर्नेछ।

घरेलु काममा जाने सीपयुक्त हुनुपर्ने, सम्बन्धित गन्तव्य मुलुकको भाषा जानेको हुनुपर्ने लगायत शर्त समितिको छ।

समितिको निर्देशनपछि पनि सरकारले घरेलु काममा नयाँ श्रम स्वीकृति खुला गरेको छैन। हाल गन्तव्य मुलुकमा घरेलु कामदारका रूपमा कार्यरत श्रमिकहरू नेपाल फर्किएर पुनः श्रम स्वीकृति लिई जान पाउने व्यवस्था भने गरिएको छ।

श्रम मन्त्रालयका अधिकारीहरू पछिल्लो समय घरेलु श्रमिकका रूपमा खाडी र मलेसिया पठाउन बन्देज लगाउन नहुने पक्षमा पुगेका छन्। श्रम स्वीकृति दिन रोक लगाए पनि भारतको बाटो प्रयोग गरेर तथा भिजिट भिसाको आवरणमा घरेलु काममा जाने क्रम नरोकिएको स्वीकार श्रम मन्त्रालयले गर्दै आएको छ।

Published on: 14 September 2023 | Setopati

Link

Back to list

;