s

खाडीबाट एकै दिन ४९४ जना फर्किए

होम कार्की

काठमाडौँ — खाडी क्षेत्रमा अप्ठ्यारोमा परेकामध्ये ४ सय ९४ जना नेपालीलाई शुक्रबार काठमाडौं ल्याइएको छ । जसमा २ सय ३५ पुरुष र २ सय ५९ जना महिला छन् । तीमध्ये ९८ जना गर्भवती छन् । २३ वटा शव पनि ल्याइएको छ । 

साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपालका दुईवटा विमान चार्टर गरी उनीहरूलाई ल्याइएको हो भने कतार र कुवेतले आफ्नै शुल्कमा विमान चार्टर गरी पठाएका हुन् । उनीहरूलाई कोभिड संकट व्यवस्थापन समितिले होल्डिङ सेन्टरमा राखेर स्थानीय तहको क्वारेन्टाइन र होटलमा बस्ने व्यवस्था मिलाएको छ ।

सरकारले साउदी अरबबाट पहिलो पटक कामदार ल्याउन अनुमति दिएको हो । साउदी अरबको दमामबाट १ सय ५३ जना बोकेको पहिलो उडान शुक्रबार बिहान ७:३० बजे त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । जसमा चार जना गर्भवतीसहित आठ जना महिला छन् । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले पहिलो उडानमा निकै अप्ठ्यारोमा परेका कामदारलाई पठाइएको बताए । साउदीमा १० हजार जनाले स्वदेश फिर्न दूतावासमा आवेदन दिएका थिए । दूतावासले प्राथमिकताका आधारमा स्वदेश पठाउन थालिएको उनले बताए । उनीहरूको आरडीटीमार्फत परीक्षण गरी ल्याइएको हो । साउदीले आरडीटीलाई मान्यता दिएको छैन, पीसीआर परीक्षण गर्न १५ सय रियाल शुल्क लाग्ने बताइएको छ ।

कुवेतले आममाफी प्रक्रियामा समावेश १ सय ५० जना घरेलु कामदारलाई जजिरा एयरलाइन्समार्फत पठाएको हो । स्वदेश आउने सबै खर्च कुवेत सरकारले नै व्यहोरेको हो । कुवेतले स्वदेश पठाउन भन्दै वैशाख १४ देखि अस्थायी क्याम्पमा राखेका महिलालाई उद्धार गर्न पहिलो प्राथमिकता दिएको नेपाली दूतावासले जनाएको छ । अस्थायी क्याम्पभन्दा बाहिर अप्ठ्यारोमा परेकालाई अझै ल्याइसकिएको छैन ।

संयुक्त अरब इमिरेट्स (यूएई) बाट ९४ गर्भवती महिलासहित १ सय ४८ जना आइपुगेका छन् । जसमा १ सय १ महिला र ४७ जना पुरुष छन् । नेपाली दूतावासले जेठ २३ गते पहिलो उडानमै गर्भवतीलाई पठाउने तयारी थियो । तर, अन्तिम समयमा आएर नि:शुल्क उडान भनिएको एयर अरेबियाले शुल्क लाग्ने भनेपछि दूतावासको सूचीअनुसार यात्रुको उडान भएको थिएन । त्यतिखेर एयर अरेबियाले दुबईबाट १ सय ६८ जना यात्रु ल्याएको थियो ।

चार वर्षदेखि यूएईमा कार्यरत झापाका सुवास संग्रौलाले साढे चार महिनाकी गर्भवती श्रीमती लिएर स्वदेश फिर्ने अवसर पाएको बताए । यो उडानमा नेपाली दूतावासले प्राथमिकताको सूचीमा राखेका नेपाली कामदार छन् । उनीहरू आफैंले टिकटको प्रबन्ध मिलाएका हुन् । रोजगार करार अवधि समाप्त भएका कामदारलाई भने रोजगारदाता आफैंले टिकटको व्यवस्था गरिदिएका थिए । स्वदेश फिर्नुअघि विमानस्थलमै कोरोना परीक्षण गरिएको थियो ।

कतारबाट जेल सजायमा आममाफी पाएका ४३ जना आएका छन् । उनीहरूलाई कतार सरकारकै खर्चमा कतार एयरवेजमार्फत नेपाल पठाइएको हो । कतार एयरवेजको उडान नम्बर क्यूआर ३२३४ को उडानमार्फत त्रिभुवन विमानस्थलमा १२:३६ मा काठमाडौं ल्याइएको हो ।

विमानमा कतारबाट डिपोर्ट गरिएका थप १ सय ९ जना पनि ल्याउने तयारी गरिएको थियो । तर, स्वास्थ्य परीक्षण समयमा नहुँदा जेलबाट घरफिर्ती केन्द्रमा ल्याएर राखिएका ४३ जनाले मात्रै स्वदेश फिर्न अवसर पाएका हुन् । उनीहरू विभिन्न मुद्दामा दोषी भई सजाय भोगिरहेका बेला इदका अवसरमा कतारी अमिरले माफी दिएपछि स्वदेश फिर्ने ढोका खुलेको हो ।

२३ वटा शव ल्याइयो

लकडाउनको अवधिमा खाडी राष्ट्रमा मृत्यु भएकामध्ये शुक्रबार २३ जनाको शव ल्याइएको छ । सबैभन्दा बढी कतारबाट २०, कुवेतबाट दुई र साउदी अरबबाट एक/एक जना ल्याइएको हो ।

कतारस्थित नेपाली दूतावासका अनुसार ५५ वटा शव रहेकामा २० जनाको शव पठाइएको हो । परिवारको सहमतिमा ९ वटा शवलाई कतारमै अन्त्येष्टि गरिएको छ ।

कतारबाट दमौली–७ बर्दियाका सुकराम थारू, ईश्वरपुर–१४ सर्लाहीका अरुणकुमार पञ्जीपुर, मदाई–१ महोत्तरीका शिवकुमार राउत, भरतपुर–६ धनुषाका चाउतारवा मण्डल खत्वे, भीमफेदी–८ मकवानपुरका जितेन्द्र थापा मगर, देवदह–६ रूपन्देहीका यमबहादुर थापा, सुखचैन–१५ सिरहाका काशीनन्द्र यादव, सधोवा–९ सर्लाहीका मनोज पासवान, औरही–१ महोत्तरीका अनिल चौधरी, दोहनी–८ कपिलवस्तुका मोहम्मद अलामा मुसलमान, हरिवन–११ सर्लाहीका मस्तक शैक, परासी–८ सिरहाका रूपेशकुमार मण्डल, सिमी–८ लमजुङका कुम्बा तामाङ, रझेना–५ बाँकेका भक्तबहादुर थापा मगर, लोहोतार–५ सप्तरीका राजेन्द्रप्रसाद मण्डल, कोसी हरैंचन–८ मोरङका युवराज अधिकारी, देउराली–५ भोजपुरका धर्मकुमार थापा, शिखरमणि–९ उदयपुरका मीनबहादुर थापा, मर्छक्क–६ सुर्खेतका नरबहादुर कामी र कमेरापानी–९ भोजपुरका मंगलबहादुर तामाङको शव ल्याइएको हो । कुवेतबाट संखुवासभाका मानबहादुर आले, नुवाकोटकी सुमी तामाङ, यूएईबाट सिन्धुपाल्चोकका पेमा नेर्वु शेर्पा र साउदी अरबबाट भैरबहादुर बस्नेतको शव ल्याइएको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले काठमाडौंमा शव बुझ्न आउन नसक्नेलाई घरमै लगिदिने प्रबन्ध मिलाइएको बताए । १३ मृतकका परिवार शव बुझ्न काठमाडौं आइपुगेका थिएनन् ।

Published on: 20 June 2020 | Kantipur

Link

Back to list

;